File photo of Birgunj Custom Point.
काठमाडौँ, २३ कात्तिक । भारत सरकारले लगाएको अघोषित नाकाबन्दीले मुलुक आक्रान्त बनेका बेलामा राष्ट्रिय आर्थिक सरोकार समाजले मुलुकलाई आत्मनिर्भर बनाउन सरकारलाई आग्रह गरेको छ ।
समाजले आज पत्रकार सम्मेलन गर्दै यातायात ऊर्जाको परनिर्भरता तथा वातावरण प्रदूषण घटाउनुको साथै वैकल्पिक इन्धनको सञ्चालन हुने सवारी साधनको प्रवद्र्धन र विकास गर्नुपर्ने बताएको छ ।
समाजका अध्यक्ष गङ्गाबहादुर थापाले सरकारले वातावरणमैत्री सवारी तथा यातायात नीति जारी गरेको वर्तमान अवस्थामा यस नीतिलाई कार्यान्वयन गर्नका लागि सरकारले वैकल्पिक ऊर्जाको खोजी गर्नुपर्ने बताउनुभयो ।
उहाँले पेट्रोल, डिजेल र ग्यासबाट सञ्चालित सवारी साधनलाई विद्युतीय यातायातका साधनमा रुपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।
समाजले वातावरणमैत्री सवारी तथा यातायात विकास कोष स्थापना गर्नुपर्ने र त्यसलाई प्रशासनिक संरचनाको रुपमा कार्यालय स्थापना गरी दर्ता, रेकर्ड तथा अभिलेख कार्य राख्ने व्यवस्था मिलाउनुपर्ने बताएको छ ।
यस्तै केन्द्रीय वातावरणमैत्री सवारी तथा यातायात सञ्चालन समिति र वातावरणमैत्री सवारी तथा यातायात कार्य समिति गठन गर्न पनि आग्रह गरेको छ ।
समाजले विद्युतीय उपकरणमा प्रयोग हुने पाटपूर्जामा भन्सार महसुल छुट दिनुका साथै बैंकबाट सरल तरिकाले ऋण प्रवाह गर्नुपर्ने बताएको छ ।
यसैगरी, समाजले मुलुकमा इन्धनबिना सञ्चालित ट्याम्पो, रिक्सालगायतका सवारी साधनलाई प्रबद्र्धन गर्न पनि सरकारलाई आग्रह गरेको छ । रासस