काठमाडौँ, २३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ संविधानको कार्यान्वयनका लागि लोकतान्त्रिक विधि, कानुनको शासनको पालना गर्दै विकास निर्माण र सबै क्षेत्रमा जनसहभागिताका लागि राज्यले ध्यान दिने बताउनुभएको छ ।
सशस्त्र प्रहरी बलको १५ औँ स्थापना दिवसको अवसरमा आज साँझ बलको प्रधान कार्यालय हल्चोकमा आयोजित विविध साँस्कृतिक कार्यक्रममा प्रधानमन्त्री ओलीले मुलुकको सङ्क्रमणकाल टुङ्गिए पनि सहज र सामान्य अवस्था अझै भइनसकेकाले यस नयाँ परिस्थितिमा प्राप्त उपलब्धि रक्षाका लागि सबै पक्षबाट भूमिका हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले अब राजनीतिक मागको चरण सकिएर अधिकारको संरक्षण र कार्यान्वयनको चरण प्रारम्भ भएको पनि उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट गण रनिङ अवार्ड गुह्येश्वरी गण दुवाकोट भक्तपुरलाई प्रदान गर्नुभयो । गृहमन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रिय हित र स्वार्थप्रतिको कर्तव्य पूराका लागि बलले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले संविधान प्रदत्त हक अधिकार संरक्षणमा आफ्नो तर्फबाट प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सोही कार्यक्रममा मन्त्री बस्नेतले उत्कृष्ट सीमा सुरक्षा कार्यालय रनिङ अवार्डबाट सीमा सुरक्षा बल कार्यालय रौतहटलाई पुरस्कृत गर्नुभयो ।
सशस्त्र प्रहरी ऐन २०५८ बमोजिम गठित सो बलले हाल सीमा, राजस्व, भन्सार तथा औद्योगिक सुरक्षाको पनि जिम्मेवारी सम्हाल्दै आएको छ । रासस