सुक्खा बन्दरगाहद्धारा शुल्क मिनाहा

Birgunj customवीरगन्ज, १ मङ्सिर । वीरगन्जस्थित सुक्खा बन्दरगाहले आयातित मालसामानको गोदाम र कन्टेनरको पार्किङ शुल्क मिनाहा गरेको छ ।

मधेस केन्द्रित दलहरुको आह्वानमा अनिश्चितकालीन लगातारको बन्द र हडतालका कारण आयातकर्ताले समयमा ढुवानी गर्न नसकेको भन्दै बन्दरगाह सञ्चालक हिमालियन टर्मिनल्सले ४० दिनको शुल्क मिनाहा गरेको जनाएको छ ।

टर्मिनल्सले गत असोज ३ गतेदेखि कात्तिक १२ गतेसम्मको गोदाम र कन्टेनरको पार्किङ शुल्क मिनाहा गरेको जनाएको छ । मधेस आन्दोलनका कारण बन्दरगाहबाट ढुवानी हुन नसकेपछि त्यो अवधिको शुल्क मिनाहा गरेको हो, टर्मिनल्सका प्रमुख कार्यकारी अधिकृत विष्णु चौधरीले भन्नुभयो – “मधेस केन्द्रित दलहरुले विगत तीन महिनादेखि गरेको लगातार मधेस बन्द र हडतालले ढुवानी सेवा प्रभावित हुनुका साथै आयातकर्ताहरुलाई केही राहत सहयोग महसुस गराउनका लागि शुल्क मिनाहा गरिएको हो ।

भारतीय रेलमार्ग सञ्जालसँग जोडिएको नेपालको एकमात्र यो सुक्खा बन्दरगाहमा भारतबाट मालबाहक रेलमार्फत आइपुगेका सामान बन्दका कारण गन्तव्यसम्म जान नपाएपछि विगत डेढ महिनादेखि बन्दरगाह परिसरमा थन्किएका थिए । बन्दरगाहबाट आयातित मालवस्तु रेलबाट अनलोड गरेर गोदाम र खुला स्थानमा राखिएको मालसामान र कन्टेनरको पार्किङ शुल्क दर रेट फरक फरक रहेका छन् । गोदाममा सुरुको चारदेखि १० दिनसम्म आयातकर्ताले प्रतिकिलो प्रतिदिन सात पैसाका दरले शुल्क तिर्नुपर्ने हुन्छ । त्यसपछि ११ दिनदेखि ३० दिनसम्म प्रतिकिलो प्रतिदिन नौ पैसा र त्योभन्दा बढी भए प्रतिदिन १४ पैसाका दरले शुल्क तिर्नुपर्ने व्यवस्था रहेको छ भने सुरुको तीन दिनसम्ममा आयातकर्तालाई शुल्क बुझाउनु पर्दैन ।

त्यस्तै बन्दरगाह परिसरमा खुल्ला स्थानमा अनलोड भएका मालसामान आयातकर्ताले २४ घन्टामा उठाइसक्नुपर्ने व्यवस्था रहेको बताइएको छ । त्यो समयसीमाभित्र कुनै शुल्क नलाग्ने व्यवस्था छ । त्यसपछि सात दिनसम्म प्रतिदिन प्रतिकिलो चार पैसाका दरले र त्यसपछि आठौँ दिनदेखि प्रतिदिन प्रतिकिलो छ पैसाका दरले शुल्क लाग्ने व्यवस्था रहेको सुक्खा बन्दरगाह सञ्चालक हिमालियन टर्मिनल्सले जनाएको छ ।

त्यस्तै आयातकर्ताले कन्टेनरको पार्किङमा प्रतिकन्टेनर प्रतिदिन रु ३५० शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको छ । चौबीस घन्टाभित्र कन्टेनरको ढुवानीमा कुनै शुल्क नलाग्ने व्यवस्था रहेको जनाएको छ । बन्दरगाह भन्सार कार्यालयका अनुसार एक दिन सुक्खा बन्दरगाह बन्द हुँदा राजस्वबाहेक नेपाललाई रु एक करोडसम्म घाटा पर्छ । सामान्य अवस्थामा सुक्खा बन्दरगाह भन्सार कार्यालयले दैनिक करिब रु पाँच करोड राजस्व सङ्कलन गर्दै आएकामा बन्द र हडतालका कारण राजस्व सङ्कलन नगन्य मात्रामा हुने गरेको सुक्खा बन्दरगाहका सूचना अधिकृत हरिहर पौडेलले बताउनुभयो ।

यथार्थ तथ्याङ्क नभए पनि मिनाहा गरेको रकम करोडौँको हुन्छ, वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रदीप केडियाले भन्नुभयो – “टर्मिनल्सको यो निर्णयले थोरै भए पनि आयातकर्तालाई राहतको महसुस गराएको छ । कात्तिक १९ गतेदेखि सुरक्षा घेराभित्र ढुवानी सुरु भए पनि सुख्खा बन्दरगाहमा अझै एक लाख २० हजार टन मालसामान थन्किएका छन् । सुरक्षाकर्मीको सुरक्षामा कात्तिक १९ गतेयता दुई हजार ट्रक मालसामान सुक्खा बन्दरगाहबाट निकासी भएको बन्दरगाहले जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter