बसाइँसराइका लागि नेपाल आउन थाले पाहुना चरा

bird-watchingभीष्मराज ओझा / काठमाडौँ । हिउँदको चिसो बढेसँगै न्यानो बासस्थान, आहार र प्रजननका लागि पन्छीहरु यो वर्ष उत्तरी गोलाद्र्धबाट दक्षिणी गोलाद्र्धमा बसाइँसराइ गर्ने क्रम सुरु भएको छ । एक थरी चराले अन्तरदेशीय सीमाको लामो दूरी पार गरी जलवायु अनुकूलतानुसार विभिन्न मुलुकमा बसाइँसराइ गर्छन् । केही चराले भने नेपालकै उच्च पहाडी भूभागबाट तराईमा छोटो दूरीको बसाइँसराइ गर्ने गरेका छन् । हिउँदमा सिकारी प्रजातिका चरा रुस, तिब्बत, नेपाल हुँदै साइबेरियासम्मको हजारौँ माइल लामो दूरी पार गरी जाने गरेको चरामा नै विद्यावारिधि गर्नुभएका डा हेमसागर बराल बताउनुहुन्छ । कतिपय चरा नेपालको उच्च पहाडी भूभाग र विभिन्न मुलुकबाट नेपालको तराई क्षेत्रमा आउने गर्छन् ।

सिकारी चरा खासगरी नेपालको कालीगण्डकी उपत्यका र लुम्लेको काडे क्षेत्रको आकाश भएर आराम गर्दै र कतिपय सिधै गन्तव्यतर्फ उड्छन् । त्यस्ता चरा राति आराम गर्ने र दिउँसो घाम लागेपछि तातो वायुसँगै उड्ने गर्छन् । उहाँ भन्नुहुन्छ, “सुडसुडिया प्रजातिको चरा १५÷२० दिनसम्म निरन्तर आकाशमा उडेर हजारौँ माइलको दूरी पार गर्ने गर्छन् ।” बसाइँसराइ अघि चराले धेरै खाना खाएर शरीरमा टन्न बोसोको मात्रा जम्मा गर्छ । निरन्तर उड्दा बोसोबाट शक्ति आर्जन गर्छ । हिउँदे र ग्रीष्मयाममा करिब २०० प्रजातिका चरा नेपाल आउँछन् । उहाँ भन्नुहुन्छ, “यस क्षेत्रलाई पर्यटनको नयाँ गन्तव्य र चराको अध्ययन गर्न अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्रका रुपमा विकास गर्न सरकारले पहल गर्नुपर्छ ।”

सन् १९७० को दशकतिर अन्नपूर्ण क्षेत्रको पदयात्रामा आउने विदेशी पर्यटकले त्यहाँको आकाश हँुदै ठूलो सङ्ख्यामा चरा बसाइँसराइ गरेको देखेपछि त्यो बेलादेखि यहाँ चराको अध्ययन र गणना कार्य हुँदै आएको छ । नेपाल पन्छी संरक्षण सङ्घका अनुसार नेपालमा ८७२ भन्दा बढी प्रजातिका चरा पाइन्छन् । त्यसमध्ये ६५४ प्रजाति नेपालमै बस्ने र बच्चा कोरल्ने प्रजातिका हुन् । बाँकी १५० भन्दा बढी हिउँदमा र ६० भन्दा बढी चरा गर्मीयाममा नेपाल आउने पाहुना चरा हुन् ।

चराको बसाइँसराइ मौसमअनुसार फरक फरक हुन्छ । हिउँदेयामको बसाइँसराइ सबैभन्दा लामो दूरीको हुन्छ । ग्रीष्मयामको बसाइँसराइ तुलनात्मक रुपमा कम दूरीको हुन्छ । हिउँदेयाममा तराईका तालतलैयामा बाहिरबाट आएका हाँस प्रजातिका चरा बढी देखिन्छन् । यसबाहेक थुप्रै प्रजातिका चरा ग्रीष्मयाममा विभिन्न मुलुकबाट समागम र बच्चा कोरल्न यहाँको तराई क्षेत्रमा आउने गर्छन् । चितवन निकुञ्जसहित तराईमा ग्रीष्मयाममा मलेसिया, म्यानमार, थाइल्यान्ड, श्रीलङ्का, भारतलगायत अफ्रिका महादेशबाटसमेत आगन्तुक चरा बच्चा कोरल्न यहाँ आउँछन् । हिउँद र ग्रीष्मयाममा प्रशस्त आगन्तुक चरा नेपाल भित्रिन्छन् ।

चराको बसाइँसराइले समय र मौसमको सङ्केत गर्छ । सगरमाथा राष्ट्रिय निकुञ्जका सहायक वार्डेन लक्ष्मण पौडेल नेपालको थोरै भूभागमा जैविक विविधता भएकाले चराको बासस्थान राम्रो र धेरै रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “विश्वमा १० हजारभन्दा बढी प्रजातिका चरा छन् । त्यसको आठ प्रतिशत नेपालमा पाइन्छ ।” पर्यटन र सौन्दर्यका लागि मात्र होइन, चराले कृषि बालीमा लाग्ने हानिकारक किरा खाएर किसानलाई फाइदा दिन्छ । सहायक वार्डेन पौडेल भन्नहुन्छ, “फूलको परागसेचन प्रक्रियामा चराको महत्वपूर्ण भूमिका हुन्छ, चरा परिस्थितिकीय प्रणालीको एक हिस्सा हो भने कतिपय भगवान्का वाहन पनि भएकाले चराको पूजा गर्ने हाम्रो संस्कृतिले यसको अपरिहार्यता दर्शाउँछ ।”

चरा संरक्षण गर्न कानुनी प्रावधान प्रभावकारी नभएको विज्ञहरु बताउँछन् । सहायक वार्डेन पौडेल भन्नुहुन्छ – “ठूला जङ्गली जनावरको सिकार गरे कडा कारबाही हुने कानुनी प्रावधान भए पनि चरा मारे सामान्य कारबाही मात्र हुने गरेको छ । अझ गाउँघरतिर गुलेली खेल्नु, चरा मार्नु सामान्य मानिन्छ ।” सन् २००४ मा नेपालमा पाइनेमध्ये १४३ प्रजातिका चरालाई सङ्कटापन्न घोषित गरियो । सन् २०१० मा आइपुग्दा सङ्कटापन्न चराको प्रजाति १४९ पुगेको छ । सङ्घका संरक्षण अधिकृत ज्योतेन्द्र ठकुरीका अनुसार नेपाल मात्र नभई जलवायु परिवर्तनजस्ता विविध कारण विश्वव्यापी रुपमा कतिपय चरा सङ्कटापन्न अवस्थामा पुगेका छन् ।

“चराकोे हिउँदेयामको बराइँसराइ असोजको सुरुदेखि पुस–माघसम्म हुने गर्छ,” सङ्घका संरक्षण अधिकृत ठकुरी भन्नुहुन्छ । गाईवस्तुमा डाइक्लोफेनिन औषधि, बालीनालीमा विषादीको बढ्दो प्रयोग, वन विनाश र चोरी–सिकारी नै चराको अस्तित्व सङ्कटको मुख्य कारण हुन् । सहरीकरण र घाँसेमैदान नष्ट हुनु पनि चरा लोप हुनुको अरु कारण हुन् । तालतलैयामा रमाउने कतिपय चरा जलकुम्भी र वनमाराजस्ता झारका कारण लोपोन्मुख अवस्थामा पुगेका छन् । चरा संरक्षण गर्न सरकारी तवरबाट भएका कार्य पर्याप्त छैन ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गिद्ध संरक्षण गर्न पञ्चवर्षीय गिद्ध संरक्षण कार्ययोजना लागू गरेको प्रवक्ता डा महेश्वर ढकाल बताउनुहुन्छ । विभागले ठूलो धनेश, सानो खर मजुर, चुनाल, डाँफे, चीर, सारस, सोतोस्टर्क, कालोस्टर्कलाई संरक्षित पन्छीको सूचीमा राखेको छ । गिद्धको प्रजनन कार्य बढाउन चितवनमा प्रजनन केन्द्र र नवलपरासी र दाङमा गिद्धलाई आहार सहज रुपमा जुटाउन ‘जटायु रेस्टुरेन्ट’ बनाइएको छ । नेपालमा ६० प्रजातिका मांसाहारी अर्थात् सिकारी चरा पाइन्छन् । त्यसमध्ये ४० प्रजातिका बसाइँसराइ गर्छन् भने २० प्रतिशत रैथाने चरा हुन् ।

हिउँदेयामको बसाइँसराइसँगै चरा बसाइँसराइको राणनीतिक क्षेत्र मानिने पोखरा र आसपासका क्षेत्रमा स्वदेशी तथा विदेशी विज्ञले चराको अध्ययन र गणना गर्दै आएका छन् । गिद्ध संरक्षणका अभियन्ता पोखरेली पत्रकार कृष्णमणि बरालका अनुसार यस वर्ष चराविज्ञ सूर्य गुरुङ, सन्देश गुरुङ र हेमन्त ढकालले चरा गणना गरिरहनुभएको छ । अमेरिकाका रोबट, डा बराल, भारतका रिसाड नोरोजी, मलेसियाको मलेसियन नेचर सोसाइटीका लीम आन टिहासहितका चरा विशेषज्ञ र फोटोग्राफरले चराको अध्ययन र गणना गरिरहेका छन् ।

पत्रकार बराल भन्नुहुन्छ, “अन्तर्राष्ट्रियस्तरमै चरा गणना गर्न मान्यता प्राप्त स्थल धेरै रहे पनि कास्कीको काँडेस्थित पाउदुरकोट र जोमसोमको कालीगण्डकी उपत्यका अन्तराष्ट्रियस्तरमै बसाइँसराइ गर्ने चराको गणना गर्ने उपयुक्त स्थानमध्येमा पर्दछन् । त्यसैले यहाँ अनुसन्धानकर्ता र विज्ञहरुको भीड नै लाग्छ ।” हिउँदेयामको बसाइँसराइसँगै नेपाली आकाश भएर गौँथली, चिल, महाचिल, गिद्ध, बाज लगायतका चरा ठूलो सङ्ख्यामा बसाइँसराइ गर्ने गर्छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter