बिचल्लीमा छन् जुरेका पहिरो पीडित (आलेख)

Jure Landslideअच्युत रेग्मी (सिन्धुपाल्चोक), ५ वैशाख । ‘हाम्रो घर कहिले बन्छ ?’ जुरे अवलोकन गर्न आइपुगेका पत्रकारलाई स्थानीयवासी बुद्ध तामाङले सोध्नुभएको प्रश्न हो यो ।

तामाङ २० महिना पहिले २०७१ साउन १७ गते २ बजे राति सिन्धुपाल्चोकको जुरे र माङ्खा गाविसको सिमानामा गएको पहिरोका एक पीडित हुनुहुन्छ ।

त्यतिखेर झण्डै एक हजार ५०० मिटर उचाइ र ८०० मिटर चौडाइ बनाएर पहिरो गएको थियो । पहिरोले १५६ जनाको ज्यान लिएको थियो भने ११५ घर बगाएको थियो । सडतीस घरलाई आंशिक क्षति पु¥यायो ।

जुरे क्षेत्रका पीडित धेरै भए पनि केहीले गाउँ छाडे । अहिले सो स्थानमा वास्तविक पीडित आठ घरपरिवार मात्र छन् । यिनै आठ घरमध्येका एक तामाङ हुन् ।

पहिरो गएको २० महिना बितिसक्दा पनि राहतका नाममा पाँच हजार रुपैयाँभन्दा अर्थोक नपाएको गुनासो उहाँले गर्नुभयो । उहाँले भन्नुभयो – “प्रमुख जिल्ला अधिकारी परिवर्तन भएकोभ्यै गर्दा हामीले पैसा पाउन सकेनौँ ।”

पहिरो गएको क्षेत्रको २०० मिटर उत्तरी क्षेत्रमा बसोबास गर्ने तामाङले त्यस दिन गाईबस्तु चर्ने ठाउँमा गएर समय बिताउनुभयो । राति खाना खाएर सुत्नुभएका उहाँलाई ठूलो आवाजले ब्युँझायो । उहाँले भन्नुभयो – “रातिको समय यति ठूलो पहिरो गयो । हारगुहार गरेँ । सुन्ने कोही थिएन । मेरो जिप सुनकोसीको किनारमा थियो । बाहिर निकालेँ । अरु गाउँलेलाई खबर गरेँ । पाँच बजेमात्र गाउँले जम्मा भए ।”

सोही क्षेत्रका सांसद मोहन बस्नेतका अनुसार सिँचाइ मन्त्रालयअन्तर्गतको जल उत्पन्न प्रकोप विभागबाट अहिले त्यहाँको भूबनोटको अध्ययन भइरहेको छ । त्यहाँका पहिरो पीडितलाई बसोबासको व्यवस्था मिलाइँदै गरेको उहाँको भनाइ छ । बस्नेतले जुरेका वास्तविक पीडितका लागि नयाँ घर निर्माण गर्नुपर्ने आवश्यकता आँैल्याउँदै जिल्ला दैवी प्रकोप कोषमा जम्मा भएको रु दुई करोड रकम बाँड्न बाँकी रहेको जानकारी पनि दिनुभयो ।

उहाँले भन्नुभयो – “जिल्ला दैवी प्रकोप कोषमा जम्मा भएको रकम पीडितलाई मिलाएर बाँड्छौँ ।”

पहिरो जानुअघि राति १२ बज्नै लाग्दा चारैतिर जमिन हल्लिरहेको थियो । धुस्कुन गाउँकी २४ वर्षीय दीपा तामाङ हस्याङ्फस्याङ गर्दै टर्च लाइट बालेर घरबाहिर निस्किनुभयो ।

“यस्तो थर्कने जमिनमा बस्नुहुँदैन भनेर राति नै हामी सबै गाउँले धुस्कुन छोडेर लामोसाँघु आयौँ त्यसको दुई घन्टापछि कहालीलाग्दो पहिरो झ¥यो,” दीपाले रुँदै भन्नुभयो ।

राजधानी काठमाडौँदेखि ७२ किमी उत्तरपूर्वमा गएको उक्त पहिरोले पाँच गाउँ बगाउँदा सुनकोसी नदी थुनिए र कैयौँ घर डुबानमा परे ।

पहिरोबाट पीडित बनेका जुरेवासीलाई विस्तारै पहिलेकै अवस्थामा फर्कंदै गर्दा भूकम्पले फेरि पीडा दियो । विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले सबैभन्दा धेरै पीडा दिएको क्षेत्र पनि सिन्धुपाल्चोक नै हो ।

जुरेले सुनकोसी थुनिँदा जुरेपारिको गाउँ राम्चे र टेकानपुरलाई समेत असर पु¥याएको थियो । दुई किमी माथिको सुनकोसी र भोटेकोसीको दोभानमा रहेको सुनकोसी गाउँसम्म पानी जमेको थियो ।

सैँतिसौँ दिनसम्म थुनिएको सुनकोसीमा एक करोड घनमिटर पानी जमेको थियो । पछिल्लो समय नेपाली सेना र नेपाल प्रहरीको सहयोगमा जमेको पानीको व्यवस्थापन गरिएको थियो ।

जुरेका स्थानीयवासी आफ्नो घरखेत बाढीले बगाएपछि जीविकोपार्जनका लागि बालुवा बेच्न बाध्य छन् । केही दिन पहिले बालुवा बेच्न प्रतिवन्ध लगाइएपछि उनीहरु विचल्लीमा परेका छन् । उनीहरु भन्छन् – “हाम्रो खेत बगायो । गरी खान बालुवा बेच्न लागेका थियौँ । त्यही पनि एक हप्ता पहिले प्रहरी आएर रोक लगायो । हामीले कसरी पेट पाल्ने ?”

जुरे थुनिँदा त्यसको सबैभन्दा धेरै असर कोठेवासीमा परेको थियो । स्थानीय चुकबहादुर कार्की बिहान अकस्मात कोसीमा पानी बगेको नदेखेपछि अचम्ममा पर्नुभयो । उहाँले दिउँसो मात्र कोसी थुनिएको थाहा पाउनुभयो ।

कोसी अकस्मात् खोलियो भने आफूहरुलाई समेत बगाउँछ भनेर गाईबस्तु लिएर आफूहरु ५०० मिटर उचाइको वनमा गएर बस्न गएको स्मरण उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो – “कोसी खुल्दा मानिस र गाईबस्तु बगाएको देखियो । कति काग र गिद्ध बगायो गनि साध्यै छैन ।” कोसीले कोठेको ३५ रोपनी जग्गा बगाएको थियो ।

वर्षात् समय लाग्दै गर्दा त्यहाँका बासिन्दा कुन बेला कुन ठाउँमा पहिरो जाने हो भनेर त्रासमा बसिरहेका छन् । “वर्षात्को समयमा त रातभर जाग्राम बस्छौँ,” स्थानीयवासी ७३ वर्षीय वीरबहादुर कार्कीले भन्नुभयो ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय केन्द्र (इसिमोड) का भूगर्भविद् डा देवराज गुरुङ नेपालका धेरै क्षेत्र पहिरोको जोखिममा रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ – “विशेषतः पहाडी र कोसी क्षेत्र बाढी र पहिरोका उच्च जोखिम क्षेत्र हुन् । यसको व्यवस्थापन गर्न जरुरी छ ।”

उहाँ नेपालमा हुने बाढीपहिरोको क्षतिलाई कम गर्न छिमेकी मुलुकबाट पाठ सिक्न जरुरी रहेको बताउनुहुन्छ । नेपालमा अधिकांश पहिरो पानीका कारण जाने उहाँको भनाइ छ ।

नेपालमा सन् १९५१ देखि स–साना पहिरो जाने गरेको तथ्याङ्क देखिए पनि अहिलेसम्म १२ वटा ठूला पहिरो गएका छन् । गुरुङका अनुसार कोसी क्षेत्रलाई कम पहिरो जाने बनाउन बढी मात्रामा बोटबिरुवा रोप्नुपर्छ ।

नेपालमा कोसी क्षेत्र जस्तै कमजोर भूबनौट भएका अन्य ठाउँको पनि भौगर्भिक अध्ययन गर्न आवश्यक रहेको डा गुरुङ बताउनुहुन्छ । चीनको हिमालय क्षेत्रबाट उत्पत्ति भएर नेपाल हुँदै भारतको विहारमा गङ्गा नदीमा मिसिने कोसी नदी तटीय क्षेत्रका जनताको सिँचाइ, खानेपानी र मत्स्यपालनको मुख्य स्रोत हो ।

कोसी क्षेत्र चीन, नेपाल र भारतका चार करोड जनसङ्ख्याको गाँस, बास र कपाससँग प्रत्यक्षतः जोडिएको छ । कोसी क्षेत्र र यसको तटमा बसोबास गर्ने जनताका विषयमा केही समयअघिदेखि तीन देशका विज्ञहरुबीच छलफल समेत हुँदै आएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter