पुनःनिर्माणका काममा स्थानीय निकायका प्रमुखलाई निर्देश
काठमाडौँ, १० जेठ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले भूकम्पबाट अति प्रभावित १४ जिल्लाका स्थानीय निकायका प्रमुखलाई परिपत्र मार्फत पुनःनिर्माणको काम चुस्त तुल्याउन निर्देश गरेको छ ।
मन्त्रालयले आज चौधबुँदे परिपत्र जारी गरी निजी आवास निर्माणका काममा भएका अस्पष्टतालाई प्रस्ट पारेको प्रवक्ता पूर्णचन्द्र भट्टराईले राससलाई जानकारी दिनुभयो । “भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा, रामेछाप, सिन्धुली, ओखलढुङ्गा, धादिङ, नुवाकोट, रसुवा, मकवानपुर, गोरखा, काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय विकास अधिकारी, ४२ नगरपालिकाका कार्यकारी अधिकृत र ५७५ गाविसका सचिवलाई प्रस्टताका लागि यस्तो परिपत्र गरिएको हो”– उहाँले भन्नुभयो ।
परिपत्रमा तथ्याङ्क सङ्कलन तथा परीक्षण, लाभग्राही पहिचान तथा दर्ता, बैंक खाता, प्राविधिक कर्मचारीको समन्वय, नाता प्रमाणित, भवन निर्माण अनुगमनपत्र, सूचना प्रवाह, सामाजिक परिचालन, गुनासो व्यवस्थापन, स्वयम्सेवक परिचालन लगायत विषयमा परिपत्र मार्फत स्पष्ट पारिएको मन्त्रालयले जनाएको छ । रासस