आयातित सहिदलाई राहतस्वरुप १६ लाख रुपियाँ दिन प्रार्थना (व्यङ्ग्य)
योगीशकृष्ण : मित्रवर बन्धु सदा झैँ चिन्तित थियो । ऊ आजकाल धेरै चिन्ता गर्न थालेको छ । मलाई भने उसले चिन्ता गर्नु पर्ने कुनै कारण छैन । नेपालको चिन्ता गर्न एक से एक महानुभाव नेपालमा छन्–युरोपदेखि भारतसम्मका चिन्ता विशेषज्ञ । उनीहरू आफ्ना रुचिको विषयमा बेलाबखत चिन्ता प्रकट गरिरहन्छन् । भारतका राजदूतको त मूल काम नै चिन्ता गर्नु हो । यति चिन्तित हुन्छन् कि नेपाली नेताको घर घर चहारिरहन्छन् । उनको काम देख्दा मलाई अलख निरोञ्जन भन्दै घर घर चहारेर भिख माग्ने बङ्गाली बाबाको सम्झना आउँछ ।
मित्रवर बन्धु किन चिन्ताग्रस्त छ –मेरो चिन्ताको विषय यति मात्र थियो । उसले गम्भीरतपूर्वक उत्तर दियो “ म सहिदको विषयमा चिन्तित छु ।”
“सहिदको विषयमा आम जनताले चिन्ता गर्नै पर्दैन पार्टीले गर्छ । सहिद पनि तिनले नै घोषणा गराउँछन् ,पाए सहिदको नाममा सुबिधा पनि आफै राख्छन् वा सकेजति राख्छन् ।”मैले उसलाई सम्झाउन खोजेँ “बेमतलब तिमी किन चिन्ता गछौँ ?”
मित्रवर बन्धुले सोध्यो “भारतबाट आयात गरिएका सहिदलाई राहत स्वरुप दिइने रकम भारतीय मुद्रा र नेपाली मुद्राको सटही दर अनुरूप नेपाली सहिद भन्दा त बढी नै हुनु पर्ने होइन र ?”
“वाहियात ।” मैले उसलाई झपारेँ “ यस्तै नचाहिने कुरा सोचेर बस्छौँ ।”
उसले भन्यो “तीन महिनाको कसरत पछि बल्ल भारतीय सञ्चारमाध्यका अनुसार भारतमैत्री सरकार बनेको छ । अब यही बहानामा नाकाबन्दी भयो भने के गर्ने ?फेरि बिहारतिरबाट अर्का सहिद बन्न आउलान् । तिनलाई सहिद घोषणा गर्ने माग होला । वार्ता होला । फेरि दिल्लीले बोलाउला । अनि सरकार परिवर्तन गर्नु पर्ला ।”
बन्धुको कुरा सुनेर म रनथनिएँ ।
सरकार तिमीसँग करजोरी प्रार्थना छ– आयातित सहिदलाई राहतस्वरूप १६ लाख रुपियाँ देऊ ।
(प्रतिक्रियाका लागि yogishkrishna81@gmail.com वा editor@nepalekhabar.com)