शरणार्थी समस्या समाधानमा सहजीकरण गरिदिन आग्रह
काठमाडौँ, २९ साउन । प्रधानमन्त्री पुष्पकमल दाहालले भुटानी शरणार्थी समस्या समाधानमा संयुक्त राष्ट्र सङ्घले देखाएको चासोप्रति धन्यवाद दिँदै बाँकी शरणार्थीको समस्या समाधानमा सहजीकरण गरिदिन आग्रह गर्नुभएको छ ।
शरणार्थीका लागि राष्ट्रसङ्घीय उच्चायुक्त फिलिप्पो ग्रान्डीसँग प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा प्रधानमन्त्रीले मानवीय सेवाका रुपमा शरणार्थी समस्या समाधानमा राष्ट्र सङ्घको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । उहाँले नेपाल संविधानको कार्यान्वयन गर्दै शान्ति, स्थिरता र समृद्धिको दिशामा अगाडि बढ्ने विश्वास दिलाउनुभयो ।
उच्चायुक्त ग्रान्डीले भुटानी शरणार्थीका थप समस्या समाधानबारे पनि पहल भइरहेको बताउनुभएको प्रधानमन्त्रीको सचिवालयले जारी गरेको प्रेस वक्तव्यमा उल्लेख छ । उच्चायुक्तले बाँकी भुटानी शरणार्थीको समस्या पनि छिट्टै समाधान हुने प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो । रासस