साढे नौ करोडभन्दा बढीको छात्रवृत्ति
काठमाडौँ, २९ साउन । शान्ति तथा पुनःनिर्माण मन्त्रालयले आठ हजार २५८ विद्यार्थीलाई रु नौ करोड ५६ लाख बराबरको छात्रवृत्ति उपलब्ध गराएको छ ।
छात्रवृत्ति पाउनेमा मुलुकमा चलेको १० वर्षसम्मको सशस्त्र द्वन्द्वको समयमा दुवै पक्षबाट पीडामा परेका बालबालिका छन् । मन्त्रालय स्थापना भएदेखि अहिलेसम्म छात्रवृत्तिका शीर्षकमा रु नौ करोड ५६ लाख ३६ हजार खर्च भएको हो ।
शिक्षा मन्त्रालय, जिल्ला शिक्षा कार्यालयमार्फत द्वन्द्वपीडित बालबालिकालाई रु १० हजारदेखि रु १६ हजारसम्म छात्रवृत्ति प्रदान गरिएको प्रवक्ता शङ्करप्रसाद खरेलले जानकारी दिनुभयो ।
प्राविका चार हजार ३६ लाई रु १० हजार, निमाविका दुई हजार ५१६ लाई रु १२ हजार, माविका एक हजार १०६ लाई १४ हजार र उच्च माविका ६०० लाई १६ हजार छात्रवृत्ति उपलब्ध गराएको मन्त्रालयको अभिलेखमा उल्लेख छ । रासस