अन्तर्राष्ट्रिय दर्नाल सम्मान चमारलाई
काठमाडौँ, ३१ साउन । दलित अधिकारकर्मी सुभाष दर्नालको स्मृतिमा स्थापित ‘सामाजिक न्यायका लागि अन्तर्राष्ट्रिय दर्नाल सम्मान’ कपिलवस्तुका रक्षाराम चमारलाई प्रदान गरिएको छ ।
सीमान्तकृत मधेसी दलित किसान परिवारमा जन्मिनुभएका २८ वर्षीया चमारलाई दलित तथा अन्य सीमान्तकृत समुदायको सामाजिक न्याय र शिक्षाका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएबापत स्व दर्नालकी आमा सरिता, दलित आन्दोलनका अगुवा पदम सुन्दास र शक्ति समूह नेपालका संस्थापक सदस्य चरीमाया तामाङले संयुक्त रूपमा प्रदान गर्नुभयो ।
दर्नालको पाँचौँ वार्षिक स्मृतिका अवसरमा जागरण मिडिया सेन्टर र सरिता परियार ट्रस्ट फन्डले संयुक्त रूपमा यहाँ आज आयोजना गरेको कार्यक्रममा रु पाँच लाखको सो सम्मान प्रदान गरिएको हो ।
दर्नालको २०६८ साल साउन ३० गते अमेरिकामा कार दुर्घटनामा परी निधन भएको थियो । दर्नाल सेन्टरका अध्यक्ष, शान्तिका लागि साझा अभियान (कोक्याप)का संस्थापक अध्यक्ष तथा समता फाउन्डेसनका कार्यकारी निर्देशक समेत हुनुहुन्थ्यो ।
सो अवसरमा सेन्टरका अध्यक्ष रेम विश्वकर्माले विशेषगरी दलित तथा पछाडि पारिएको समुदायको उज्ज्वल भविष्यका लागि अविस्मरणीय काम गर्नुभएका दर्नालबाट नेपाली समाजले धेरै सिक्नुपर्छ भन्नुभयो । रासस