राष्ट्रपतिबाट सुशोभन
काठमाडौँ, २३ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले ३७औँ राष्ट्रिय शिक्षा दिवसका अवसरमा आज उच्चशिक्षाका विभिन्न तहमा उपाधि र उत्कृष्टता हासिल गर्नेहरुलाई विभूषणबाट सुशोभित गर्नुभयो ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा नेपाल विद्याभूषण ‘क’, ‘ख’ र ‘ग’ तथा नेपाल छात्रा विद्यापदकबाट विभिन्न व्यक्ति तथा विद्यार्थीलाई विभूषित गरिएको हो ।
सो अवसरमा स्वदेश तथा विदेशका विश्वविद्यालयबाट विद्यावारिधि गर्ने १९० लाई ‘क’ श्रेणीको नेपाल विद्याभूषण पदक प्रदान गरिएको थियो । त्यस क्रममा नेपाल सरकारका मुख्य सचिव डा सोमलाल सुवेदी पनि हुनुहुन्छ ।
यस्तै, विभिन्न विश्वविद्यालयबाट स्नातकोत्तर तहमा उत्कृष्ट हुने ८१ जनालाई ‘ख’ श्रेणीको नेपाल विद्याभूषण पदक प्रदान गरिएको थियो । स्नातक तहमा उत्कृष्ट हुने १५ जनालाई नेपाल विद्याभूषण पदक र २६ जनालाई नेपाल छात्रा विद्यापदक दिइएको थियो ।
समारोहमा राष्ट्रपति भण्डारीले स्वदेश र विदेशका प्राप्त सीप र ज्ञानलाई राष्ट्र विकासमा उपयोग गर्न उपाधि प्राप्त गर्नेहरुलाई आग्रह गर्नुभयो । उहाँले शिक्षा प्रणालीमा सामयिक सुधार गर्दै शिक्षालाई सर्वसुलभ र जीवनोपयोगी बनाउन सबैको क्रियाशीलता आवश्यक भएको पनि उल्लेख गर्नुभयो ।
शिक्षामन्त्री धनीराम पौडेलले शिक्षा दिवसको नारा ‘समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षामा लगानी’लाई व्यवहारमा उतार्न सरकार लागिपर्ने बताउनुभयो । रासस