बन्दीगृह बासले चर्चित साहित्यकार बन्न सफल राजनेता बिपी

BP Koiralaपूर्णप्रसाद मिश्र / काठमाडौँ, २३ भदौ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालालाई तत्कालीन सरकारले २०१७ साल पुस १ गतेको ‘कु’ पछि राखेको सुन्दरीजल बन्दी गृह साहित्य सिर्जनाको स्थल बन्न पुग्यो ।

वरिपरि डाँडाकाँडा र हरियालीबीच ग्रामीण परिवेशमा रहेको जेल नेपाली साहित्यका मनोवैज्ञानिक धारका सुरुवातकर्ता कोइरालाका लागि साहित्य रचनाको थलो बन्न पुगेको हो । बिपीलाई जेलमा लैजानुअघि उहाँको एउटामात्र कृति ‘दोषी चश्मा’ प्रकाशित भएकामा त्यसपछिका सबै कृति सुन्दरीजल बन्दीगृहमै जन्मिएका हुन् । बिपीको पहिलो कथा सङ्ग्रह ‘दोषी चश्मा’ २००६ सालमा प्रकाशित भएकामा राजनीतिक व्यस्तताका कारण २००७ देखि २०१७ साल पुस १ अघिसम्म अन्य कुनै साहित्य रचना प्रकाशित भएको पाइँदैन ।

रोकिएको साहित्यिक क्रियाकलापका लागि बिपीलाई राजा महेन्द्रको ‘कु’ सिर्जनाको सुवर्ण अवसर बन्न पुग्यो । बन्दीगृहको प्राकृतिक सौन्दर्य र रमणीयताले बिपीलाई साहित्यिक कृति तयार पार्न थप उत्प्रेरणा प्रदान गरेको त्यस क्षेत्रको प्राकृतिक रमणीयताबाटै अनुमान गर्न सकिन्छ । यही उत्प्रेरणाले गर्दा बिपीले जेलमा छ वटा उपन्यास, एउटा कथा सङ्ग्रह, आफ्नो कथा र जेल जर्नल जस्ता साहित्यिक सिर्जना गर्नुभएको ‘बिपीको उपन्यासमा अस्तित्ववाद’ विषयमा विद्यावारिधि गर्नुभएकी साहित्यकार प्रा डा ज्ञानु पाण्डेले बताउनुभयो । “बिपीको सर्वाङ्गीण पक्षलाई हेर्ने हो भने उहाँको साहित्यलाई हेर्नुपर्छ, राजनीतिकरुपमा मात्र मूल्याङ्कन गरेर हुँदैन”– उहाँले भन्नुभयो ।

सुन्दरीजल बन्दीगृह २०६१ साल भदौ २४ गते बिपी सङ्ग्रहालयका रुपमा घोषणा भयो । सङ्ग्रहालयमा बिपीको राजनीतिक व्यक्तित्वलाई झल्काउने चीजबीजको मात्र सङ्ग्रह गरी उहाँको साहित्यिक व्यक्तित्वलाई ओझेलमा पारिएकामा साहित्यकारले असन्तुष्टि जनाएका छन् । “बिपीको व्यक्तित्वबाट साहित्य झिकिदिने हो भने बाँकी व्यक्तित्वले मात्र उहाँलाई पूर्णता दिन सक्दैन” – नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ समेत रहनुभएकी प्रा डा पाण्डेले भन्नुभयो ।

बिपीले सुन्दरीजल जेलमै बसेर लेख्नुभएका उपन्यासमा ‘तीन घुम्ती’, ‘नरेन्द्र दाइ’, ‘सुम्निमा’, ‘मोदीआइन’, ‘बाबु आमा र छोरा’ एवम् ‘हिटलर र यहुदी’ गरी छ कृति छन् । चार वटा कथाको सङ्ग्रह ‘श्वेतभैरवी’, चर्चित ‘जेल जर्नल’, ‘फेरि सुन्दरीजल’ र ‘आफ्नो कथा’ लगायतका कृतिको रचना पनि बिपीले सुन्दरीजल जेलमै गर्नुभयो ।

जन निर्वाचित सरकारलाई सैनिक शक्तिको भरमा २०१७ साल पुस १ गते ‘कु’ गरेपछि बिपीसहितका नेतालाई २०१७ साल फागुनसम्म सिंहदरबारमा बन्दी बनाइयो । नेतालाई राख्न सुन्दरीजल आर्सनलका प्रमुख बस्ने सरकारी निवासलाई रातारात वरिपरिबाट पर्खालले घेरी २०१७ साल फागुनमा प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी, नेपालकै इतिहासमा पहिलोपटक निर्वाचित भएको संसद्का सभामुख कृष्णप्रसाद भट्टराई, मन्त्री गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, रामनारायण मिश्र, प्रेमराज आङदेम्बे र सहायक मन्त्री दिवानसिंह राई, योगेन्द्रमान शेरचन, जमानसिंह गुरुङलाई सुन्दरीजल बन्दीगृहमा सारियो ।

सुन्दरीजल बन्दीगृहमा सारेपछि नै बिपी गृहभित्रको बुढो कपुरको रुखमुनि बसेर पुस्तक पढ्ने र लेख्ने गरिरहेको देखिने गरेको जेलमा दूध लैजाने अनुमति पाउनुभएका स्थानीय मोदनाथ पोखरेल बताउनुहुन्छ । “बिहान दूध लैजाने र दिउँसो बन्दीगृहभित्र घाँस काट्न अनुमति दिएकाले बिपीले कपुरको रुखमुनि बसेर लेखपढ गरिरहेको देख्थेँ, सुरुमा कुराकानी गर्न पहरा दिई बसेका सैनिकले कडाइ गरेपनि पछि केही खुकुलो भएका बेला बिपीले नै बोलाएर कुराकानी पनि गर्नु हुन्थ्यो”– उहाँले भन्नुभयो ।

अन्य राजबन्दी केहीलाई जेल सरुवा र केहीलाई रिहा गरेपछि बिपी तथा गणेशमानलाई २०२५ साल कात्तिक २५ गते रिहा गरियो । विसं २०१७ देखि २०२५ सालसम्म बिपीले बन्दीगृहमै लेखेको दैनिकी नै ‘जेल जर्नल’ का रुपमा चर्चित छ ।

उपचार र राजनीतिक कामका लागि २०२५ सालपछि बिपी र गणेशमान भारत निर्वासनमा जानुभयो । विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिई नेपाल फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुवै नेतालाई फेरि सुन्दरीजल बन्दीगृहमा लगियो । यसपछि लेखिएको बिपीको दैनिकीलाई ‘फेरि सुन्दरीजल’ का नाममा प्रकाशित गरियो ।

सङ्ग्रहालयका अध्यक्ष परशुराम पोखरेल सङ्ग्रहालयलाई राजनीति, साहित्य र दर्शनको त्रिवेणी धामका रुपमा स्थापित गर्ने अभियानमा लागिपरेको बताउनुहुन्छ । “सङ्ग्रहालयमा बिपीको साहित्यिक सबै कृतिका साथै उहाँको साहित्यिक चीजबीजको पनि सङ्ग्रह छ, भूकम्पपछि भवन भत्किएकाले सङ्गृहित चीजबीजलाई एउटा कोठामा चाङ लगाएर राख्न बाध्य हुनुपरेको छ”– उहाँले भन्नुभयो ।

बिपीलाई जतिबेला अर्राष्ट्रिय तत्वका नाममा जेलमा राखिएको थियो । त्यही समयमा बिपीको साहित्य भने विश्वविद्यालयमा पढाइन्थ्यो । साहित्यबाट बिपीले सामाजिक सन्देश दिन खोजे पनि त्यस समयमा मनोवैज्ञानिक धाराका साहित्यकारका रुपमा चिनाइएको प्रा डा पाण्डे बताउनुहुन्छ । बिपीको साहित्यमै विद्यावारिधि गर्ने साहित्यकार पनि डेढ दर्जन पुगिसक्यो ।

हरिप्रसाद पराजुलीले २०३७ सालमा ‘कथाकार विश्वेश्वरप्रसाद कोइरालाको विश्लेषण र मूल्याङ्कन’ विषयमा विद्यावारिधि शोध गर्नुभयो तर डा ध्रुवचन्द्र गौतमको निर्देशनमा भएको सो शोध व्यवस्थाका कारण २०४५ सालमा मात्र सम्पन्न भयो । अहिलेसम्म डा कृष्णप्रसाद दाहाल, डा नारायण चालिसे, डा रेणुका बस्नेत थापा (सोलु), डा भूपति ढकाल (कमल), डा वीरेन्द्र पुडासैनी, डा श्यामप्रसाद भट्टराई, डा देवचन्द्र मिश्र, डा राधा शाह, डा सूर्य सङ्ग्रौला र डा विष्णु न्यौपानेले ‘पौरस्त्य पात्र विधान र विश्वेश्वरप्रसाद कोइरालाका उपन्यास’ शीर्षकलगायत १६ जनाले बिपीको साहित्यमा आधारित भई विद्यावारिधि शोध सम्पन्न गरेको बिपी ट्रष्टका कार्यकारी निर्देशक राजेन्द्र पराजुलीले जानकारी दिनुभयो ।

“शोधका क्रममा मैले प्रत्यक्षरुपमा कोइरालासित छ घन्टा लामो अन्तर्वार्ता गरेँ, अन्तर्वार्ताका क्रममा हिटलर र यहुदी २०१५ सालमा प्रधानमन्त्री भएका बेलामा सुरु गरी २०१७ साल पुस १ गतेको घटनापछि सुन्दरीजल बन्दीगृहमै पूरा गरेको उहाँले बताउनुभयो”– कोइरालाको कथामा पहिलो विद्यावारिधि गर्नुभएका हरिप्रसादले भन्नुभयो ।

विसं १९७१ भदौ २४ गते जन्मनुभएका बिपी पिता कृष्णप्रसाद कोइराला राणाशासन विरुद्ध लाग्नुभएका कारण लामो समय नेपालमा बस्न पाउनुभएन । भारत निर्वासनमा रहँदा विभिन्न ठाउँ घुमी हिँड्नु त्यस समयको बाध्यता थियो । विद्यार्थी कालदेखि भारतको स्वतन्त्रता सङ्ग्राम हुँदै नेपालमा प्रजातन्त्र स्थापनाको आन्दोलनमा लाग्नुभएका बिपी आठ वर्षसम्म एकै स्थानमा बसेको स्थल पनि बन्दीगृह नै हो भन्नुहुन्छ सङ्ग्रहालयका अध्यक्ष पोखरेल ।

सङ्ग्रहालय पुनःनिर्माण हुने

गत वर्ष वैशाख १२ गतेको भूकम्पले ध्वस्त भएको बिपी सङ्ग्रहालय पुनःनिर्माणको शुभारम्भ १०३ औँ बिपी जयन्तीका अवसरमा भदौ २४ गते शुक्रबार सुरु गरिने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्व विभागको रु चार करोड ७९ लाख लागतमा सङ्ग्रहालय पुनःनिर्माण सुरु गर्न लागिएको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।

विसं २०७५ असार मसान्तसम्म सङ्ग्रहालय पुनःनिर्माण सम्पन्न हुनेछ । सङ्ग्रहालयलाई पुरानै स्वरुपमा पुनःनिर्माण गरिने सङ्ग्रहालय समितिले जनाएको छ । पुनःनिर्माणको शिलान्यास नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गर्नुहुनेछ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter