पुष्प व्यापारमा हौसिँदै महिला (आलेख)

mala-and-fulनारायण ढुंगाना / चितवन, १४ कात्तिक ।

तिहारका लागि मलाई फूल चाहिया’थ्यो ।
कति चाहिएको नी ?
मलाई पाँचवटा माला र केही फूल ।
ए भैहाल्छ नी, आउनु न ।
थुङ्गाको कति पर्छ र ?
अब थुङ्गा चाहीँ बेचेको छैन । माला एक सय पर्छ ।
हस्, म भोलि ४ बजे आउँछु है ।
हुन्छ ।

भरतपुरकी माला उत्पादक महिला गंगादेवी सापकोटासँग उपभोक्ता अम्बिका सापकोटाले गरेको वार्तालाप हो यो ।

भरतपुर¬–९ शरदपुर वेंडिचोकमा गंगा सापकोटाको सयपत्री फूलको खेती छ । एक हजार तीन सय विरुवा लगेर एक कट्ठा क्षेत्रफलमा उहाँले सयपत्री लगाउनुभयो । अहिले सहयत्री यहाँ लहलह भएका छन् । भारतीय सयपत्री फूललाई माथ गर्ने उत्पादन छ । थुङ्गा पनि असाध्यै राम्रा र आकर्षक छन् । उहाँले पोहोर लगाएको भन्दा दोब्बर फूल खेती गर्नुभएको छ ।

यतिखेर माला उनेर बिक्री गर्नमा उहाँ व्यस्त हुनुहुन्छ । परिवार नै यसमा लागेका छन् । ‘अहिले एउटा मालाको मूल्य एक सय छ,’ गंगाले भन्नुभयो – एकसय जति माला बेचिसकें । अझै बिक्री हुने क्रम जारी छ ।’ एक कठ्ठामा लगाएको मालाबाट यो तिहारमा ३०÷४० हजार रुपैयाँ कमाउने योजना उहाँको छ ।

भरतपुरमा रहेको प्रभात दिदीबहिनी सहकारीबाट यसपालि मालाको विरुवा निःशुल्क पाएपछि उहाँको लागत पनि घटेको छ । उहाँजस्तै राधा भूसाल, विमला विक, मेनका पण्डितले पनि एक कठ्ठा जमिनमा नै सयपत्री फूलको खेती गर्नुभएको छ । उहाँहरुलाई पनि विरुवा निःशुल्क उपलब्ध भएको थियो ।

विगतमा तत्कालीन दिदिबहिनी सहकारीले न्यून मूल्यमा सयपत्री दिन्थ्यो । अहिले फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल चितवन समन्वय समितिले निःशुल्क बिरुवा दिएको हो । सयपत्री उत्पादन गर्नुभएकी राधा भूसाल पनि अहिले फूल टिप्न मै व्यस्त हुनुहुन्छ ।

भाँचिने डरले उहाँले अरुलाई फूल टिप्न दिनुहुन्न । ‘एक थुङ्गा फूलको ३ रुपैयाँ पर्छ,’ राधाले भन्नुभयो – ‘चार हजार रुपैयाँभन्दा बढीको बिक्री भैसक्यो, माग आइरा’छ ।’

राम्ररी लगाउन सकिए फूलखेती राम्रो हुने देखिएको राधा बताउनुहुन्छ । बजार राम्रो पाए फूल खेतीबाट दिदीबहिनीले राम्रो कमाउन सक्छन् भन्ने यहाँ देखिएको सहकारीकी उपाध्यक्ष नीता वाग्ले बताउनुहुन्छ ।

‘विस्तारै महिलाहरु व्यावसायिक खेतीमा लाग्न थालेका छन्,’ वाग्लेले भन्नुभयो – ‘यो पटकको बजार हेरेर अर्को वर्ष सहकारीमार्फत नै फूल खेतीलाई व्यावसायिक बनाउने योजना छ ।’

चितवनमा यसपालि सयपत्री फूलको उत्पादन राम्रो छ । फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल चितवन समन्वय समितिका अनुसार जिल्लामा करिव एक सय भन्दा बढी किसानले सयपत्री फूलको खेती गरेका छन् ।

त्यसमा अधिकाँश महिला छन् । चालीस हजार विरुवा जिल्लामा लगाइएको छ । ‘राम्रो उत्पादन भए सयपत्री फूलले जिल्लाको माग धान्छ,’ समितिका अध्यक्ष प्रकाश पन्तले भन्नुभयो । यसअघि जिल्लामा व्यावसायिक खेती कमै भएपनि यस पटक राम्रो रहेको उहाँ बताउनुहुन्छ ।

जिल्लाका करिव १५ हेक्टर जमिनमा फूल खेती हुन्छ । सयपत्रीको मात्रै फूल खेती करिव ३ हेक्टर जमिनमा भएको अनुमान छ । जिल्लामा माला उत्पादन नहुँदा अधिकांश माला भारतबाट आउँछ ।

आज लक्ष्मी पूजाको दिनदेखि नारायणगढको सब्जीमण्डीमा रहेको फूल बिक्री केन्द्रमा तिहारको माला बिक्री सुरु भएको छ । आजैदेखि भारतीय माला समेत आउँछन् । भारतबाट माला आउन नदिनेतर्फ कसैको ध्यान पुगेको छैन । जिल्लाको बजार क्षेत्रमा ४० देखि ५० हजार सम्म मालाको माग हुन्छ । यही उत्पादन गर्न सकिने देखिएपनि उपभोक्ताको ध्यान भारतीय मालामै बढी गएको देखिन्छ ।

जिल्लामै उत्पादन गर्न सके भारतीय माला विस्थापित गर्न हुनसक्ने फ्लोरिकल्चर एसोसिएसनको दाबी छ । यसका लागि पहिलो पूर्वाधार बजारको व्यवस्थापन हो ।

यो वर्ष पहिलो पटक भरतपुर ११ की मेनका पण्डितले ७०० सयपत्रीका बिरुवा लगेर रोप्नुभयो । अहिले उहाँले नसोचेको उत्पादन भएको छ । बजार उहाँलाई थाहा छैन । सौखमा फूल लगाउनुभएकी पण्डित भन्नुहुन्छ – ‘धेरै ठाउँबाट माग आउन थालेको छ । यो पटक राम्रो व्यापार भयो भने अर्को वर्ष २÷३ कट्ठामै लगाउने सोच बनाएकी छु ।’ खेर गएको जमिनमा यहाँका महिलाले फूलखेती गरेका छन् ।

जिल्ल्लामा करिव ४ मेट्रिक टन फूल उत्पादन हुने गर्छ । यसमा सयपत्री न्यून छ । कृषि विकास कार्यालय चितवनका बागवानी विकास अधिकृत तथा पुष्प खेती हेर्ने विज्ञ धनबहादुर थापा चितवनमा गर्न सके फूलखेती राम्रो हुने बताउनुहुन्छ । यस जिल्लामा अन्य फूलको समेत उत्पादन राम्रो छ ।

एक÷एक जनाले व्यक्तिगत रुपमा लगाउँदा बजारमा समस्या हुनसक्छ । त्यसैले अहिले सहकारीकै अगुवाइमा विभिन्न उत्पादनमूलक कार्यक्रम सुरु गरिएका छन् । त्यसमध्येको एक हो फूलखेती ।

‘बजार खोज्नदेखि लगाउनसम्म सहकारीले सहयोग गर्छ,’ प्रभात दिदीबहिनी सहकारीका सल्लाहकार डा कलयाणी मिश्र भन्नुहुन्छ । महिलाको आत्मविश्वास समेत बढाउन सहयोग गर्ने भएकाले आम महिलाको छहारी सहकारी भएको उहाँ बताउनुहून्छ ।

नेपालमै महिलाद्वारा सञ्चालित प्रभात दिदीबहिनी बचत तथा ऋण सहकारीले उत्कृष्ट ठहरिएर पुरस्कार समेत पाइसकेको छ । यसमा तीन हजार दुई सयभन्दा बढी महिना सदस्य भैसकेका छन् र पुँजी झण्डै रु १५ करोड पुगिसकेको छ ।

बजार व्यवस्थापन राम्रो भए आगामी दिनमा फूलखेतीमा समेत दिदीबहिनीहरुलाई लगाउने अगुवा शान्ति अधिकारी बताउनुहुन्छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter