दृष्टिविहीन नमुना उद्यमी
बागलुङ, १२ पुस । हिँडडुल गर्न वैशाखी र दोस्रो व्यक्तिको सहारा चाहिने प्रेमबहादुर खत्री यहाँको समाजमा भने नमुना उद्यमीका रुपमा चिनिनुहुन्छ ।
जिल्लाको तित्याङ–७ सिमलपाटाका ४५ वर्षीय खत्रीका दुवै आँखाको दृष्टि र बायाँ कानको श्रवण शक्ति गुमेको २० वर्ष पुग्यो । उमेरमै अपाङ्ग भए पनि खत्रीले हिम्मत भने हार्नुभएन । व्यवसाय गर्ने सोँचले उहाँलाई अहिले सफल उद्यमी बनाएको छ ।
आफूसहित सात जना परिवारको अभिभारा खत्रीको काँधमा छ । किराना पसलसँगै गाउँमै खोलेको फर्निचर उद्योगले खत्रीको परिचय नै फेरिएको छ । “पसल पहिलेदेखि नै सुरु गरेको थिएँ, २०६८ सालमा फर्निचर उद्योग खोलेँ”, खत्रीले भन्नुभयो – “फर्निचर उद्योगमा करिब रु १६ लाख लगानी भएको छ, उद्योग राम्रोसँग चलेको छ ।” उहाँका अनुसार उद्योगमा अहिले प्रबन्धकसहित पाँच जनाले रोजगारी पाएका छन् ।
मासिक रु ८५ हजार तलबका लागि खर्च हुने गरेको खत्रीले जानकारी दिनुभयो । उहाँले खोल्नुभएको ‘सूर्यहरि फर्निचर उद्योग’ गाउँकै नमुना उद्योगका रुपमा लिने गरिएको छ । विभिन्न व्यक्ति र सहकारीबाट ऋण सहयोग लिएर खत्रीले उद्योग सुरु गर्नुभएको हो । “परिवारको आर्थिक अवस्था कमजोर भएका कारण लगानी गर्ने पैसा थिएन”, खत्रीले भन्नुभयो – “सहकारी र अन्य व्यक्तिबाट ऋण मागेँ सबैले पत्याउनुभयो ।”
अहिले उहाँले सबैको ऋण चुक्ता गरेर आम्दानी बढाउन थाल्नुभएको छ । मासिक रु ४५ देखि ५० हजारसम्म आम्दानी बच्ने गरेको खत्रीको भनाइ छ । खत्रीलाई उहाँकी श्रीमती शान्ति, जेठा छोरा सूर्यबहादुर र परिवारका अन्य सदस्यले पनि उद्योगमा सघाउँछन् ।
जेठा बुबा, आमासहित तीन छोराछोरीको साथमा खत्री दम्पती बस्दै आउनुभएको छ । “परिवारको सबै जिम्मेवारी ममाथि छ, परिवारबाट पनि मैले राम्रै साथ पाएको छु”, खत्रीले भन्नुभयो – ‘गाउँ, समाज र सङ्घसंस्थाले पनि मलाई माया र हौसला दिने गर्नुभएको छ ।” बाटोछेउँ घर भएकाले खत्रीले दृष्टिविहीन भएको केही वर्षपछि चिया र किराना पसल सुरु गर्नुभएको थियो । पहिलो पटक पसल गर्दा आफूसँग पैसा नभएपछि श्रीमतीले माइतीबाट ल्याएको रकमबाट व्यवसाय सुरु गरेको खत्रीले स्मरण गर्नुभयो । पछि पसलबाट राम्रो हुँदै गएपछि खत्रीले फर्निचर उद्योग खोल्ने योजना बनाउनुभएको हो । “गाउँमा फर्निचर खोल्दा निकै झन्झट पनि व्यहोर्नुप¥यो, महिनौँ पछिमात्र अनुमति पाएँ”, खत्रीले भन्नुभयो – “अहिले राम्रो छ, मागअनुसारका सबै सामान हामीले तयार गर्छौं ।” सदरमुकाम बागलुङ बजार र आसपासका गाउँबाटै बढी सामानको माग आउने गरेको खत्रीले बताउनुभयो ।
खत्रीले फर्निचर उद्योगका अतिरिक्त कुखुरा र बाख्रापालन गर्ने योजना पनि बनाउनुभएको छ । परिवारको एक्लो छोरा खत्री रोजगारीका क्रममा भारतमा रहेका बेला कुर्सीबाट लडेर मस्तिष्कमा पुगेको चोटका कारण दुवै आँखाको दृष्टि गुमेको थियो ।, “पच्चिस वर्षको उमेरमा मेरो दुवै आँखा गुम्यो, बायाँ कानले सुन्दैन” खत्रीले आफ्नो विगत सम्झनुभयो – “मन्द्रासको टायर कम्पनीमा काम गर्थें, त्यस्तो घटना भएपछि म घर फर्कें ।” उहाँ सानो छँदा पनि हँसियाले आँखामा चोट लागेको थियो । “सम्झिँदा पनि कहाली लाग्छ, तर पनि मैले हरेश खाइन, केही गर्नुपर्छ सोँचले अघि बढेको छु” – खत्रीले भन्नुभयो ।
खत्री विभिन्न सङ्घसंस्थाबाट पुरस्कृत र सम्मानित पनि भइसक्नुभएको छ । सङ्र्घषशील व्यक्तित्व खत्रीमा गाविसस्तरीय अपाङ्गता सञ्जालको अध्यक्षताको पनि जिम्मेवारी छ । खत्री अन्य सामाजिक सङ्घसंस्थामा पनि उत्तिकै क्रियाशील हुनुहुन्छ । रासस