मोबाइल टर्चको भरमा प्रसूति सेवा
डोल्पा, १४ पुस । यहाँको त्रिपुराकोट गाविस–२ बगरमा रहेको स्वास्थ्य चौकीमा बत्तीको सुविधा नहुँदा सुत्केरी गराउन समस्या भएको छ ।
स्वास्थ्य संस्थामा जडान गरिएको सौर्य बत्तीमा समस्या उत्पन्न भएपछि प्रसूति सेवा लिन आउने महिलालाई सुरक्षित सेवा दिन कठिनाइ भएको अनमी सुष्मा न्यौपानेले बताउनुभयो ।
न्यौपानेले भन्नुभयो – “गाउँमा भएको विद्युत् लाइन पनि अस्पतालमा जडान गरिएको छैन । भएको सोलार बिग्रेकाले चार महिनादेखि मोबाइलको टर्चबाट काम चलाउनुपर्ने बाध्यता छ ।”
“हप्तामा दुईवटासम्म गर्भवती महिला आउने गर्छन् बत्तीको व्यवस्था नहुँदा साह्रै समस्या भएको छ,” उहाँले भन्नुभयो – “प्रसूति गराउने क्रममा एकपटक त एकजना अहेबको मोबाइलसमेत खसेर फुट्यो ।”
यता, स्वास्थ्य व्यवस्थापन समितिले चासो नदिएकाले यस्तो समस्या आएको अहेब हिमप्रसाद देवकोटाले बताउनुभयो ।
स्वास्थ्य चौकीमा आन्तरिक आर्थिक स्रोत नभएकाले बत्तीको व्यवस्था गर्न नसकिएको देवकोटाको भनाइ छ ।