वाग्मती सफाइ महाअभियानको २०० औँ हप्तामा नेपाल सफाइ सम्मेलन;  उपत्यकाका प्रमुख नदीबाट ३२ मेट्रिक टन फोहर व्यवस्थापन

 

Bagmati cleaning Campaignकाठमाडौँ, २१ फागुन । वाग्मती सफाइ महाअभियानको २०० औँ हप्ताको पूर्वसन्ध्यामा नेपाल सफाइ सम्मेलन आयोजना गरिने भएको छ ।

विसं २०७० जेठ ४ गते शनिबारदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान फागुन २८ गते शनिबार २०० औँ हप्तामा प्रवेश गर्दैछ । यस अवसरमा पशुपति क्षेत्र विकास कोषको आयोजना र सहरी विकास एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको सहयोगमा फागुन २७ गते शुक्रबार सफाइ सम्मेलन गरिने सफाइ महाअभियानले जनाएको छ ।

सफाइमा कोषका सदस्य सचिव डा गोविन्द टण्डनले ‘पानी र वाग्मतीको धार्मिक सांस्कृतिक महत्व’, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव दीनेश थपलियाले ‘वाग्मती सफाइमा नेपाल सरकारले लिएको स्वामित्व’ र गायत्री परिवारका डा राजु अधिकारीले ‘वाग्मती सफाइको सुरुआत, निरन्तरता र भविष्य’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुनेछ ।

कार्यपत्रमाथि वाग्मतीको विषयमा अध्ययन अनुसन्धान गरिरहनुभएका अमेरिकी नागरिक विलियम थोब्स र पूर्वसचिव किशोर थापाले टिप्पणी गर्नुहुने कार्यक्रम रहेको कोषका सदस्य सचिव टण्डनले जानकारी दिनुभयो । सम्मेलनमा देशभर सञ्चालन भइरहेको नदी सफाइ अभियानका ५०० अभियन्ताको सहभागिता रहनेछ । सम्मेलन पशुपति क्षेत्रस्थित माधवराज सुमार्गी भवनमा आयोजना गरिनेछ ।

फागुन २६ गते वाग्मतीसम्बन्धी कवि सम्मेलन गरिनेछ । सम्मेलनमा राष्ट्रकवि माधवप्रसाद घिमिरे र संस्कृतिविद् सत्यमोहन जोशीको समेत उपस्थिति हुने सफाइ अभियन्ता उमेश बोहराले जानकारी दिनुभयो ।

सफाइ महाअभियानको २०० औँ हप्ताका अवसरमा फागुन २८ गते शनिबार सुन्दरीजलदेखि चोभारसम्मका १८ स्थानमा विशेष कार्यक्रम गर्ने निर्णय आज बसेको सफाइ महाअभियानको बैठकले गरेको छ । उपत्यकाका २५ स्थानमा सफाइ महाअभियान सुरु भएको २०० औँ हप्ताको स्वागतका लागि द्वार र सहभागी बन्न उपत्यकावासीमा आह्वान गरिएको तुल राखिने भएको छ ।

सफाइ महाअभियानको मूल कार्यक्रम शङ्खमुलमा गरिने सफाइ महाअभियानले जनाएको छ । विसं २०७० जेठ ४ गतेदेखि आजसम्म वाग्मतीबाट छ हजार ५०० मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ । वाग्मतीका सहायक नदीबाट समेत गरी आठ हजार मेट्रिकटन फोहर निकालिएको छ । हालसम्म पाँच लाखभन्दा बढीले वाग्मती सफाइमा सहभागिता जनाएको महाअभियानका अभियन्ता बोहराले बताउनुभयो ।

उपत्यकाका प्रमुख नदीबाट ३२ मेट्रिक टन फोहर व्यवस्थापन

यसैबिच, उपत्यकाका प्रमुख नदी सफाइ गरी ३२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

बागमती सफाइ महाअभियानको १९९औँ हप्तामा आज कोटेश्वर महादेव मन्दिरदेखि मनोहरा नदी दोभानसम्म सफाइ गरी १६ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी उमेश बोहराले जानकारी दिनुभयो ।

सफाइमा अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत संस्थाका गरी सात सय व्यक्तिको सहभागिता थियो । सफाइको नेतृत्व चीनका लागि नेपाली राजदूत एवम् पूर्वमुख्य सचिव लीलामणि पौडेलले गर्नुभएको थियो ।

सफाइमा पूर्वसचिव किशोर थापा, चीनका लागि पूर्वनेपाली राजदूत डा महेश मास्के, अधिकारसम्पन्न बागमती समितिका सञ्चालक समिति सदस्यहरु, गायत्री परिवारका डा राजु अधिकारी, एस ट्राभल्सका अर्जुन धरेललगायत अभियन्ताको सहभागिता थियो ।

फागुन २८ गते शनिबार बागमती सफाइको २००औँ हप्तालाई विशेष कार्यक्रमका रुपमा गर्ने तयारी गरिएको छ । विशेष कार्यक्रमको मूल समारोह शङ्खमूलमा गरिनेछ ।

बागमती सफाइ महाअभियानको २००औँ हप्ताको तयारीका लागि मुख्य सचिव डा सोमलाल सुवेदीको संयोजकत्वमा सरकारका सचिव र बागमती सफाइ महाअभियानका अभियन्ता सहभागी रहेको समिति गठन गरिएको छ । यस अवसरमा शङ्खमूलसम्मको बागमतीलाई ढलमुक्त गरी स्नानयोग्य भएको घोषणा गरिँदैछ ।

रुद्रमती सफाइको १५८औँ हप्तामा आज देवीनगर पुलदेखि बिजुलीबजार पुलसम्मको क्षेत्रमा सफाइ गरी तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरिले जानकारी दिनुभयो । सफाइमा काठमाडौँ महानगरपालिका–४, ५, ७, ९ र ३३ कार्यालयका कर्मचारी, स्थानीयवासी, वडा नागरिक मञ्चका पदाधिकारी, वातावरण संरक्षण अभियान लगायतको सहभागिता थियो । सफाइको नेतृत्व पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले गर्नुभएको थियो ।

विष्णुमती सफाइको १३१औँ हप्तामा आज तारकेश्वर र टोखा नगरपालिकाको सीमास्थित मनोहर तीर्थमा सफाइ गरी १३ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी अनिल धरेलले बताउनुभयो । सफाइमा तारकेश्वर नगरपालिका, टोखा नगरपालिका लगायतका गरी पाँच सय जनाको सहभागिता थियो ।

यसैगरी गुह्येश्वरी माथिको बागमती नदीमा राम्रो जोरपाटी हाम्रो जोरपाटी र पुडासैनी मैत्री समाजलगायत संस्थाले सफाइ गरेका छन् । विसं २०७० जेठ ४ गते शनिबारदेखि बागमती सफाइ महाअभियान सुरु भएको थियो । बागमती सफाइ महाअभियान सुरु भएपछि अन्य सहायक नदी र उपत्यका बाहिरका नदी सफाइ गर्नसमेत स्थानीयवासी जुटेका छन् ।

यही फागुन २८ गते शनिबार सफाइको २००औँ हप्तामा गरिने विशेष कार्यक्रममा प्रधानमन्त्री, प्रधानन्यायधीश, सभामुखलगायत सबै प्रमुख दलका शीर्ष नेताको सहभागी हुने महाअभियानले जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter