सप्तरीमा सुरक्षाकर्मीको गोलीबाट ३ जनाको मृत्यु; मोर्चाको विरोधका बीच एमालेको जनसभा; एमालेको अभियान तीन दिनका लागि स्थगित

UDMF-cadres-protest-CPN-UMLs-Mechi-Mahakali-Campaign-768x512सप्तरी, २३ फागुन । सप्तरीमा भएको प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच भएको झडपमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

प्रमुख विपक्षी नेकपा एमालेको मेची महाकाली अभियान अन्तरगत राजविराजको औद्योगिक क्षेत्रमा भएको सभा विथोल्ने खोज्नेलाई प्रहरी रोक्दा झडप भएको थियो । झडपका क्रममा मधेसी मोर्चाका कार्यकर्ताले गुलेलीका साथै पेट्रोल बम हानेपछि बाध्य भएर गोली चलाउनु परेको प्रहरीले बताएको छ ।

सुरक्षाकर्मीले चलाएको गोली लागेर मलेठ-४ का २० वर्षीय संजन मेहताको मृत्यु भएको छ । उनलाई एमालेको कार्यक्रम स्थलबाट करिव १०० मिटर पर गोली लागेको थियो र उनको घटनास्थलमै मृत्यु भएको छ ।

यस्तै  मलेठ ४ का पिताम्बर मण्डल र प्रसवनीका आनन्दप्रसाद साहको मृत्यु भएको छ । मण्डलको धरान पुर्‍याए लगतै निधन भएको छ । यस्तै साहको उपचारको क्रममा मृत्यु भएको छ ।

घटनामा गोली प्रहारबाट एक जना १२ बर्षीय बालक सुरेन्द्र साहसहित आठ जना घाइते भएका छन् भने प्रहरीको लाठी चार्जबाट एक दर्जनभन्दा बढी घाइते भएका छन् । सद्भावनाका केन्दि्रय सदस्य भीमराज यादव र दीपेन्द्र चौधरी, क्षेत्रिय अध्यक्ष लक्ष्मण यादव, संजय यादवसहितका लाठी चार्जबाट घाइते भएका छन् । घाईते मध्ये अधिकांशको उपचार धरान र राजविराजमा भइरहेको छ ।

झडपमा परी केहि प्रहरी समेत घाइते भएका छन् ।

मोर्चाको विरोधका बीच सप्तरीमा एमालेको जनसभा

सङ्घीय लोकतान्त्रिक मधेसी मोर्चाको अवरोधबीच नेकपा (एमाले)को मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत यहाँस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा जनसभा सम्पन्न भएको छ ।

आज सुनसरीको इनरुवामा कार्यक्रम गरी सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताको टोली सप्तरी आउँदा मोर्चाका कार्यकर्ताले कालो झण्डा प्रदर्शन गरी अवरोध गरेका थिए । तर कडा सुरक्षा व्यवस्थाबीच जनसभा सम्पन्न भएको छ ।

सभा सम्पन्न भएसँगै फर्कने क्रममा मोर्चाका कार्यकर्ताले एमाले नेताहरु सवार गाडीमा ढुङ्गा प्रहार गर्नुका साथै सडकमा टायर बालेर विरोध गरेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिनका लागि पाँच राउण्ड हवाई फायर गरेको थियो ।

सभामा अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले तराई–मधेसमा २० हजार जनतालाई आवास बनाएको, कृषिको औद्योगिकीकरण गर्ने, विद्युतीय रेल चलाउनेलगायत कार्यक्रम अघि सारेकाले विरोधीहरुलाई पिर परेको दाबी गर्नुभयो ।

नेता माधवकुमार नेपालले कम्युनिष्ट पार्टीले स्थापना कालदेखि नै तराई–मधेसका विपन्न गरिब जनताको अधिकारकालागि लडाईं लडेको बताउनुभयो । कार्यक्रममा एमाले नेता सत्यनारायण मण्डल र लालबाबु यादवले पनि बोल्नुभएको थियो ।

एमालेको अभियान तीन दिनका लागि स्थगित

यहाँ आज भएको हिंसात्मक घटनापछि नेकपा (एमाले) को मेची–महाकाली अभियान तीन दिनका लागि स्थगन भएको छ ।

सो घटनापछि यहाँ आज स्थायी कमिटीको आकस्मिक बैठकले स्थितिको संवेदनशीलता र सरकारलगायत विभिन्न पक्षको आग्रहलाई ध्यानमा राख्दै तीन दिनका लागि अभियान सार्ने निर्णय गरेको एमालेका सचिव योगेश भट्टराईले जानकारी दिनुभयो । यही फागुन २४, २५ र २६ गते तीन दिन स्थगनपछि फागुन २७ गतेदेखि अभियान पूर्ववत् सञ्चालन हुनेछ । एमालेको पूर्वघोषित अभियानअन्तर्गत आज गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको विरोधबीच जनसभा सकिएपछि नेताहरु फर्कने क्रममा हिंसात्मक घटना भएको थियो ।

मेची–महाकाली राष्ट्रिय अभियान प्रभावकारी र शान्तिपूर्ण ढङ्गले अगाडि बढिरहेको र जनता उत्साहपूर्वक सहभागी भइरहेकामा आजको घटनाबाट पार्टी दुःखी भएको जनाउँदै एमालेले आज जारी गरेको विज्ञप्तिमा कार्यक्रममा सहभागी हुन हिँडेका सर्वसाधारणमाथि साङ्घातिक आक्रमण गर्ने, र संयमतापूर्वक आफ्नो कर्तव्य निर्वाह गरिरहेका सुरक्षाकर्मीमाथि ढुङ्गामुढा, पेट्रोल बम प्रहार गर्नेजस्ता काम गरेर मधेसी मोर्चाका कार्यकर्ताले हिंसात्मक गतिविधि प्रदर्शन गरेको आरोप लगाइएको छ ।

यही फागुन २१ गतेदेखि झापाको काँकडभिट्टाबाट सुरु भएको संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि, स्वाभिमान, राष्ट्रिय एकताका र सामाजिक सद्भावका लागि गरिएको सो १५ दिने अभियानअन्तर्गत मङ्गलबार सिरहा र जनकपुरमा कार्यक्रम तय गरिएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter