चेपाङको अवस्थाबारे प्रवासी नेपालीद्वारा अनुगमन
नारायण ढुंगाना / चितवन, २५ फागुन । सिद्धि छेरवाङका सूर्यचन्द्र चेपाङ धुलोमैलो देखिन्छन् । पढेका छैनन् । बर्सेनि अन्नको अभाव झेल्छन् । चेतनाको अभावका कारण उनी स्वास्थ्य, शिक्षा र सरसफाइबारे अनभिज्ञ छन् ।
उनका छोराछोरीको अनुहार सिङ्गानले लत्पतिएको छ । मुखाभरि घाउ छन् । “के गर्ने सर, अन्न त दुई–तीन डोका मकै छ, त्यो सकिएपछि निमेक गर्न जाने हो”, सूर्यचन्द्रले दुःख सुनाए ।
छिमेकी सोमबहादुरकी तीन वर्षीया छोरी विमायाँ चेपाङ नाङ्गैै छिन् । कहिल्यै नधोएको अनुहार छ । सरसफाइले कमजोर छिन् । उनीहरु जस्ता अधिकांशको अवस्था उही छ, छेरवाङगाउँमा । स्थलगतरुपमा चेपाङको अवस्था बुझ्न पुग्नुभएका चितवन युवा समूह, अन्तर्राष्ट्रिय समन्वय समिति, प्रवास संयोजक समीर खत्री स्वास्थ्य, शिक्षा र सरसफाइमा निक्कै कमजोर रहेको पाइएको बताउनुहुन्छ ।
जिल्लाको विकट सिद्धि गाविस–९ छेरवाङमा बसोबास गर्ने चेपाङ समुदायको अवस्थाबारे उहाँलगायत चितवनका प्रवासी नेपालीले स्थलगत निरीक्षण गरेका छन् । सञ्चारमाध्यममा उनीहरुको अवस्थाबारे पटकपटक सार्वजनिक भइरहेको देखेपछि सहयोगका लागि गाउँमै पुगेर स्थलगत अनुगमन गरिएको प्रवास संयोजक खत्री बताउनुहुन्छ ।
समन्वय समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारीको नेतृत्वमा रहेको टोलीमा प्रवास संयोजक खत्रीसहित समितिका प्रथम उपाध्यक्ष बुद्धिराज अर्याल, कोषाध्यक्ष सीता ढकाल, सहकोषाध्यक्ष साझाराम विक, चितवन समाज, युएईका उपाध्यक्ष परशुराम घिमिरे, अञ्जु ढकाल, अर्जुन अधिकारी, इन्दिरा सिग्देललगायत सहभागी हुनुहुन्थ्यो । उहाँहरुले सोमबार बिहानदेखि दिनभर चेपाङको घरघर पुगेर अवस्थाबारे जानकारी लिने र केही घरमा लत्ताकपडासमेत वितरण गर्नुभएको थियो ।
“स्वास्थ्य, शिक्षा र सरसफाइ निकै कमजोर भेटियो, अहिलेसम्म करोडौँ रकम गए, बाँड्ने काम मात्रै भएछ”, प्रवास संयोजक समीर खत्रीले भन्नुभयो, “अब हामी परिवर्तन हुनेगरी एउटा गाउँमा स्वास्थ्य, शिक्षा र सरसफाइको अभियान चलाउँछौँ ।” केही दिनअघि पत्रिकामा केपी किरण शर्माले लेख्नुभएको ‘दुःखको पहाड’ भन्ने समाचार पढेपछि विदेशमा बस्ने युवाले चासो देखाएका थिए । त्यही भएर प्रवासी चितवनेले नेपाल आई चेपाङ गाउँमा पुगेर स्थलगत अनुगमन गरेका हुन् ।
चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष मुक्ति अधिकारी पहिले त उनीहरुलाई शिक्षित गराउनुपर्ने अति जरुरी देखिएको बताउनुभयो । त्यसपछि स्वास्थ्य र सरसफाइमा चेतना दिनुपर्ने आवश्यकता छ । “दीर्घकालीन रुपमा एउटा गाउँलाई नै व्यवस्थापन गर्नेगरी योजना चाहिन्छ, हामी सल्लाह गरेर कार्यक्रम गर्छौं, अब केही रकम र सामान्य खाद्यान्न दिएर चेपाङको अवस्था फेरिँदैन,” अधिकारीले भन्नुभयो ।
उहाँले लोथर र सिद्धिमा जिविससँग मिलेर अवस्था अध्ययन गरी प्रतिवेदन निकाल्ने तयारीमा समेत रहेको जानकारी दिनुभयो । चेपाङ बालबालिकाको संरक्षणमा सक्रिय पत्रकार केपी किरण शर्मा विभिन्न संस्थामार्फत अर्बाैं रकम चेपाङलाई खर्चिए पनि उनीहरुलाई सीपमूलक काममा लगानी कमै भएको बताउनुहुन्छ । त्यसैले, आफूले बालबालिकालाई शिक्षा दिएको र उनीहरुमार्फत गाउँ विकास गराउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।
चेपाङको नाममा देशी तथा विदेशी गैरसरकारी संस्थाले अर्बाैं रकम खर्च गरेका छन् । तर चितवनको कान्दामा केही रुपान्तरण देखिए पनि र केही स्थानमा बाख्रापालनमा केही सुधार भए पनि अन्य क्षेत्रमा खर्च भएको रकम बालुवामा पानी हाले सरह नै छ । चेपाङ समुदायलाई माछाभन्दा पनि माछा मार्ने जाल दिनुपर्ने स्थानीयवासी सूर्यचन्द्र चेपाङ बताउनुहुन्छ । रासस