राष्ट्रिय सरसफाइ अभियानसम्बन्धी १० बुँदे घोषणापत्र जारी; वागमती अभियानमा सामेल विद्यार्थी भन्छन्, “देशै सफा गर्नुपर्छ….”

Bagmati Clean Up Campaignकाठमाडौँ, २८ फागुन । सरकारले वाग्मती सफाइ महाअभियानको २००औँ हप्ता पारेर राष्ट्रिय सरसफाइ अभियानसम्बन्धी १० बुँदे घोषणापत्र आज जारी गरेको छ ।

सरकारका मुख्यसचिव डा सोमलाल सुवेदी जारी गर्नुभएको उक्त घोषणपत्र आगामी नयाँ वर्षदेखि प्रारम्भदेखि नै लागू गरी अभियानका रुपमा सञ्चालन गर्नुपर्ने उल्लेख छ । घोषणापत्रमा देशभारिका सबै कार्यालय सङ्घ, संस्था र निकायले प्रत्येक महिनाको पहिलो शुक्रबार दिउँसो २ देखि ३ बजेसम्म आआफ्नो कार्यालय हातामा सरसफाइ अभियानलाई देशव्यापी बनाउने उल्लेख गरिएको छ ।

देशभरिका सबै विद्यालयमा प्रत्येक महिनाको दोस्रो र चौथो शुक्रबार २ देखि ३ बजे वा विद्यालय बन्द हुनुभन्दा एक घन्टा अगाडिको समयदेखि विद्यालय वरपरका आफ्नो पायकपर्ने नदी, खोला, उद्यान, बगैँचा, पोखरी, उद्यान, तालतलैया, धार्मिकस्थल, खानेपानीको मुहान, खुला क्षेत्र, सडक, टोल वा अन्य सार्वजनिक स्थलको सरसफाइ गर्ने उल्लेख गरिएको छ ।

त्यस्ता कार्यक्रम सञ्चालन गर्दा विभिन्न अतिरिक्त क्रियाकलाप चित्रकला, वतृत्वकला, कवि गोष्ठी, सेमिनार, छलफल, हाजिरी जवाफ, पदयात्रा, वृक्षरोपणको माध्यमबाट वातावरणीय संरक्षणमा विशेष ध्यान दिने र त्यसको अभिलेख शिक्षा कार्यालयमार्फत शिक्षा मन्त्रालयले राख्ने तथा उत्कृष्ठ विद्यालयलाई पुरस्कृत गर्ने घोषणापत्रमा उल्लेख छ ।

देशभरका सबै नगरपालिका क्षेत्रभित्रका निजी भवन तथा कार्यालय, सङ्घसंस्था र निकायले आआफ्नो कार्यलय परिसरमा गमला फूल, बोट विरुवासहित बगैँचा निर्माण रेखदेख गरी हराभरा बनाई राख्नुपर्ने उल्लेख गरिएको छ ।

देशभरका सबै कार्यालय सङ्घसंस्था र निकायले आआफ्नो कार्यालय भवन, कोठा, प्यासेज, बरन्डा, छत, कम्पाउन्ड, पर्खाललगायत आफ्नो परिसरमा फोहोरमैला धुलो, टुटेफूटेको वा बिग्रेको सामान, कागजको टुक्रा, चुरोट खैनी, जर्दा, सूर्तिजन्य पदार्थको प्रयोग, भित्ते लेखन, फोस्टर, पम्प्लेट टाँस्नेलगायत कार्यलयलाई निषेध गरी स्वस्छ, स्वस्थ्य, सफा र हराभरा क्षेत्र घोषणा गरी नियमित सरसफाइ गर्नुपर्ने घोषणापत्रमा उल्लेख छ ।

देशभरका सबै कार्यालय सङ्घसंस्था र निकायले मापदण्ड विपरितका प्लास्टिक वा झोला तथा वातावरणमा प्रतिकूल असर गर्ने सामग्रीको प्रयोगलाई नियन्त्रण गरी, स्थानीय स्रोतमा आधारित जैविक तथा वातावरणमैत्री विकल्पलाई प्रवद्र्धन गर्ने तथा प्लास्टिकजन्य पदार्थ जलाउने कार्यलाई पूर्णतः निषेध गर्ने घोषणापत्रमा उल्लेख छ ।

देशभरिका सबै नगरपालिका क्षेत्रभित्रका घरपरिवार, कार्यालय निकाय, व्यवासायिक सङ्घसंस्था तथा सामाजिक सङ्गठनले आआफ्नो घरपरिसरबाट निस्कने फोहोर मैलालाई सड्ने र नसड्ने फोहोर छुट्टाछुट्टै राख्ने गरी डस्टबिनको व्यवस्था गर्ने र फोहोर मैलाको व्यवस्थापनको जिम्मा वहन गर्नुपर्ने छ ।

सबै कार्यालय सङ्घसंस्था र निकायले सेवाग्राहीको चाप वा उपस्थितिका आधारमा फ्लसिङसहितको शौचालय, हातधुने साबुनको व्यवस्था, शौचालयको मर्मत र सरसफाइ गर्ने तथा सङ्गठित निजी क्षेत्रलाई पनि सोहीअनुरुप गर्न आह्वन गरिएको छ ।

सबै सरकारी निकाय वा सङ्गठित संस्थाले स्थापना दिवस, वार्षिकोत्सव गर्दा वरपर क्षेत्रको सरसफाइ र हरियाली प्रवद्र्धन तथा सार्वजनिक सौन्दर्य अभिवृद्धि अभियान सञ्चालन गर्नुपर्नेछ । सबै नगरपालिकाले आफ्नो क्षेत्रको सार्वजनिक जमिन र खुला क्षेत्रको संरक्षण गरी ‘एक टोल एक उद्यान’को अवधारणाअनुसार स्थानीय समुदायको सहभागीतामा सामाजिक उत्तरदायित्वअन्तर्गतको उद्यान निर्माण र सञ्चालनको व्यवस्था गर्ने घोषणापत्रमा उल्लेख छ ।

वाग्मती सरसफाइ महाअभियानअन्तर्गतको आजको समारोहमा मुख्यसचिव डा सुवेदीले सरकारको उक्त घोषणापत्र वाचन गर्दै बढ्दै गएको अतिक्रमणलाई नियन्त्रण गर्न र नागरिकको जीवनशैलीमा सुधार ल्याउनुपर्ने बताउनुभयो ।

घोषणापत्रमा भनिएको छ, सबै स्थानीय तहले प्रत्येक महिनाको अन्तिम शनिबार बिहान स्थानीय बासिन्दा र सङ्घसंस्थाको सहयोगमा पायक पर्ने खानेपानीको मुहान, पोखरी, नदी, पार्कलगायत क्षेत्रमा सरसफाइको व्यवस्था मिलाउनुपर्नेछ ।

स्वच्छ र स्वस्थ्य वातावरणमा बाँच्न पाउनु नागरिकको संवैधानिक हक भएको र खानेपानी तथा सरसफाइ सेवा आधारभूत मानवअधिकारका रुपमा रहेका विषय पनि घोषणापत्रमा उल्लेख गरिएको छ ।

वागमती अभियानमा सामेल विद्यार्थी भन्छन्, “देशै सफा गर्नुपर्छ….”

सिमसिम पानी परिरहेको थियो । शनिबारको बिहान झरी र नेपाल बन्दका बाबजूद विद्यालय तहका विद्यार्थी पनि बागमती सफाइ महाअभियानको दुई सयौँ शृखङ्लामा उत्साहपूर्वक सामेल थिए । कोहीका हातमा छाता थिए । कोही सफाइ अभियानको जनचेतनामूलक ब्यानर र प्लेकार्ड बोकेर उभिएका थिए । कोही हातमा पञ्जा लगाएर सेना र प्रहरीसँगै बागमतीको फोहोर उठाउन व्यस्त थिए । फोहोर उठाउने भन्दा रमाइलो मानेर हेर्ने र अभियानलाई ऐक्यबद्धता जनाउनेहरु बढी सहभागी यस अभियानमा युवा र विद्यार्थीहरुको सहभागिताले भोलिको नेपालका लागि पक्कै पनि सकारात्मक सन्देश भने दिएको छ ।

सफाइका लागि अभियानकर्ताहरु त हुने नै भए, राज्यको विशिष्ट तहका व्यक्तिदेखि समाजका सबै क्षेत्रको यो माहोलमा विद्यार्थीले आफ्नो सामाजिक कर्तव्यलाई पालना गर्दै देश विकासका लागि सामूहिक पहलको अनुभूति र सिकाइ हासिल गरेका छन् ।

सफाइ अभियानमा नियमित सहभागी राष्ट्रिय बिउबिजन कार्यालयमा कार्यरत जडीबुटी निवासी रामहरि सुवेदीको पहलमा अभियानमा सामेल कोटेश्वरस्थित माउन्ट सेब आवासीय मावि कक्षा ८ की रक्षा अर्याल सफाइ अभियानमा भाग लिन पाउँदा खुसी र रमाइलो अनुभव भएको बताउँछिन् । “हामीले ठूला ठूला फोहोर त उठाउन सकेनौँ, तर प्लास्टिक र कागजहरु उठाइयो ।” रक्षाले भनिन्, “हामीले घर, समाज र देशै सफा गर्ने अभियान चलाउनुपर्छ ।”

सोही विद्यालयका कक्षा ६ का एलिस केसी नष्ट नहुने फोहोरलाई बागमतीमा कसैले पनि नफाल्ने हो भने सफाइका लागि यति धेरै दुःख गर्नु नपर्ने बताउँछन् । ‘वृक्ष रोपौँ’ नामको व्यानर बोकेर अभियानमा सामेल नेपाल स्काउटका तर्फबाट अभियानमा आएका गोल्फुटारस्थित मञ्जरी मावि कक्षा ९ का विद्यार्थी दीक्षान्त बोहरा पानीमा भिजेर पनि आफूहरु उपस्थित हुनु मात्रले अभियानमा बल पुग्ने जनाउँछन् । गोष्टिक एकेडेमीमा कक्षा ६ मा अध्ययनरत मनिस केसी पनि महाअभियानले बागमती क्रमशः स्वच्छ हुने आशा व्यक्त गर्दछन् ।

नेपाल स्काउटका अधिकृत निरेन्द्र कार्कीका अनुसार स्काउटका तर्फबाट मात्रै करिब चार सय विद्यार्थी अभियानमा सहभागी भएका थिए । नेपाल शिक्षक महासङ्घका साथै, अभिभावकहरु, विद्यालय सञ्चालकहरुको संस्था प्याब्सन, एन प्याब्सन र हिसानको पनि अभियानमा संस्थागत सहभागिता थियो ।

वाग्मतीबाट १०४ मेट्रिक टन फोहर व्यवस्थापन

वाग्मती सफाइको २००औँ हप्ताका अवसरमा आज सुन्दरीजलदेखि चोभारसम्मको २८ किमी क्षेत्रमा सफाइ गरी १०४ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

नेपाल बन्द र झरी बाबजुद सुन्दरीजलदेखि चोभारसम्म १८ स्थानमा गरिएको पदयात्रासहितको सफाइमा एक लाखभन्दा बढी मानिस उपस्थित भएको वाग्मती सफाइ अभियन्ता उमेश बोहराले जानकारी दिनुभयो । आज उपत्यकाका रुद्रमती, विष्णुमती र नख्खुखोलालगायतका सफाइ अभियन्ता वाग्मतीमै केन्द्रित भएका थिए ।

मुख्यसचिव डा सोमलाल सुवेदीको नेतृत्वमा सरकारका १८ जना सचिव १८ केन्द्रमा खटिनुभएको थियो । प्रमुख दलका नेता पनि सफाइमा सहभागी हुनुभएको थियो । तिलगङ्गामा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, बल्खुमा उपप्रधानमन्त्री एवम् राप्रपाका अध्यक्ष कमल थापालगायत नेता सफाइमा जुट्नुभएको थियो ।

आगामी शनिबार २०१औँ हप्ताको वाग्मती सफाइ पशुपति राममन्दिर क्षेत्रमा गरिने सफाइ महाअभियानले जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter