आवास निर्माण गर्न दोस्रो किस्ताबापतको रु पाँच करोड ८३ लाख वितरण;  प्राधिकरणमा प्रगति विवरण देखाउन गलत तथ्याङ्कको सहारा

 

Nepal Reconstruction Authorityकाठमाडौँ, ११ चैत । नेपाल रेडक्रस सोसाइटीले भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका तीन सय ८९ घरधुरीलाई हालसम्म निजी आवास निर्माण गर्न दोस्रो किस्ताको बापतको रकम वितरण गरेको छ ।

दोस्रो किस्ताबापतको रु एक लाख ५० हजारका दरले हालसम्म रु पाँच करोड ८३ लाख वितरण गरेको सोसाइटीद्वारा सञ्चालित भूकम्प प्रतिकार्य कार्यक्रमले जनाएको छ ।

विभिन्न देशका रेडक्रसका आर्थिक एवम् प्राविधिक सहयोगमा कार्यक्रमले ती जिल्लाका ६ हजार भन्दा बढी घरपरिवारलाई आवास निर्माणलगायत खानेपानी, सरसफाइ, जीविकोपार्जन, आयआर्यजन, प्राथमिक स्वास्थ्यलगायतका क्षेत्रमा प्राविधिक तथा आर्थिक सहयोग जारी राखेको छ ।

पुनःनिर्माण प्राधिकरणले दोस्रो किस्ता वितरणका लागि जारी निर्देशिका एवम् कार्यविधि अनुसार सोसाइटीले रकम प्राप्त गर्न योग्य रहेका भूकम्पप्रभावितलाई आवास निर्माण गर्न रकम उपलब्ध गराउने कार्य जारी राखेको छ ।

उक्त कार्यक्रमले ती जिल्लाका ६ हजार ३५० भन्दा बढी परिवारलाई पहिलो किस्ता रु ५० हजारका दरले रु ३१ करोड ८ लाख वितरण गरिसकेको जनाएको छ । प्राधिकरणको आवास अनुदान नीतिअनुसार कार्यक्रमले तीन लाख सहयोग गर्ने जनाएको छ ।

कार्यक्रमकाअनुसार नुवाकोट, रसुवा, रामेछाप, सिन्धुपाल्चोक, मकवानपुर, धादिङलगायतका जिल्लामा दोस्रो किस्ता रकम वितरण जारी छ । अमेरिकन रेडक्रसको आर्थिक एवम् प्राविधिक सहयोगमा भूकम्पप्रतिकार्य कार्यक्रमले नुवाकोटको काउले र भाल्चे गाउँविकास समितिमा एक हजार ९५८ निजी आवास निर्माण गर्न सहयोग गर्दैछ ।

हालसम्म ती दुई गाविसमा अधिकांश अर्थात् एक हजार ९०५ले पहिलो किस्ता वापतको रकम प्राप्त गरिसकेका छन् । पहिलो किस्ता प्राप्त गर्नेमध्ये मापडण्ड पुगेकालाई दोस्रो किस्ताबापतको रकम वितरण गर्ने कार्य जारी रहेको कार्यक्रमले जनाएको छ । अर्काेतर्फ आवास निर्माण गर्न कार्यक्रमले १४ जिल्लाका स्थानीयवासीलाई कालीगढको तालिमसमेत दिने कार्य लगभग सम्पन्न गरिसकेको छ । कार्यक्रमले १४ वटै जिल्लामा हालसम्म चार हजार २०० भन्दा बढीलाई घर बनाउने सीप (कालिगढ) को तालिम प्रदान गरिसकेको जनाएको छ ।

नेपाल रेडक्रसले उपलब्ध गराएको कालिगढ तालिम लिएका नुवाकोट काउले गाविसका मैनसिंह तामाङले आफ्नो घर आफंै बनाउँदै हुनुहुन्छ र अरु धेरैलाई घर निर्माण गराउन पनि सहयोग गरिरहनुभएको छ ।

उहाँले भन्नुहुन्छ “मैले एकहप्ते डकर्मी तालिम लिएँ, त्यसपछि मेरो काम गर्ने तरिका नै फरक भयो, पहिले हामी जतिसक्दो चाँडो कामसक्न हतारिन्थ्यौँ र जे–जस्तो सामान पाइयो त्यही प्रयोग गर्दथ्यौँ तर अहिले काम त ढुङ्गाकै गर्ने हो तर कसरी नभत्कने घर बनाउने हो, त्यसतर्फ बढी सोच्छौँ र गर्दछौँ । कुनै अप्ठ्यारो परे नेपाल रेडक्रसका इन्जिनियर आउनुहुन्छ र सिकाउनुहुन्छ ।”

रसुवा ठूलो गाउँका पूर्णबहादुर गुरूङले घर बनाउन दोस्रो किस्ताको रकम लिन मलाई कुनै अप्ठ्यारो नभएको जानकारी दिनुभयो ।

प्राधिकरणमा प्रगति विवरण देखाउन गलत तथ्याङ्कको सहारा

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको वेभसाइटमा भूकम्पपछि पुनःनिर्माण भएका घरको गलत तथ्याङ्क हटाइएको छ ।

प्राधिकरणको वेभसाइट डब्ल्युडब्ल्युडब्ल्यु डट एनआरए डट जिओभी डट एनपी -www.nra.gov.np_ मा भूकम्पपछि पुनःनिर्माण भएका घरको सङ्ख्या ४१ हजार ३११ थियो । यससम्बन्धी समाचार राष्ट्रिय समाचार समितिको दिवा सेवाको २३ नम्बर आइटममा प्रकाशन भएको थियो ।

वेभसाइटमा उल्लेख भएको सङ्ख्यामा घर पुनःनिर्माण नभएको सहरी विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाइको तथ्याङ्क छ ।

प्राधिकरणको वेभसाइटमा ‘पुनःनिर्माण सम्पन्न घर’ ४१ हजार ३११ र ‘बन्दै गरेका घर’ ३८ हजार ९५३ लेखिएको तथ्याङ्क आवरण पृष्ठमै थियो । समितिको समाचार विभिन्न सञ्चारमाध्यमबाट प्रकाशन र प्रसारण भएपछि प्राधिकरणले गलत तथ्याङ्क वेभसाइटबाट हटाएको हो ।

सहरी विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाइमा बिहीबार दिउँसो ३ः४५ बजेसम्म प्राप्त तथ्याङ्कअनुसार निर्माण सम्पन्न घरको सङ्ख्या दुई हजार ४८४ रहेको वरिष्ठ डिभिजनल इन्जिनियर सुरेशकुमार वाग्लेले बताउनुभयो ।

“आजसम्म निर्माण सुरु भएको घर सङ्ख्या ४० हजार ३५९, पहिलो किस्ताले जग निर्माण गरी दोस्रो किस्ता माग गर्ने २० हजार १२, दोस्रो किस्ता भुक्तानीका लागि सिफारीस गरिएकाको सङ्ख्या पाँच हजार ७३० छ, तेस्रो किस्ता माग गर्ने एक हजार ८९ र तेस्रो किस्ता पाउन प्रमाणित हुने लाभग्राहीको सङ्ख्या ३३९ छ”– उहाँले भन्नुभयो ।

प्रगति देखाउन गलत तथ्याङ्क

प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले एक वर्षको प्रगति विवरण देखाउन गलत तथ्याङ्कको सहायता लिएको रहस्य खुलेको छ ।

ज्ञवालीले पुस १२ गते ‘पुनःनिर्माण र पुनःस्थापनासम्बन्धी मुख्य कार्य प्रगति विवरण’ शीर्षकमा प्राधिकरणको वेभसाइटमा राखेको विवरणमा ४१ हजार ३११ घर पुनःनिर्माण भएको गलत तथ्याङ्क छ । यो शीर्षकको विज्ञापन त्यस दिनका पत्रपत्रिकामा पनि छपाइएको थियो ।

वेभसाइटको गृहपृष्ठबाट गलत तथ्याङ्क हटाइए पनि गृहपृष्ठकै तल ‘नयाँ प्रकाशन’ को विस्तृतमा क्लिक गरेपछि ‘प्रोग्रेस रिपोर्ट २०७३–०९–१२’ मा ‘पुनःनिर्माण र पुनःस्थापनासम्बन्धी मुख्य कार्य प्रगति विवरण’अन्तर्गत यो गलत तथ्याङ्क अझै हेर्न सकिन्छ ।

यस सम्बन्धमा प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसँग सम्पर्क गर्दा उहाँको फोनमा सम्पर्क हुन सकेन । ज्ञवाली कार्यरत रहँदा उहाँको प्रेस संयोजकका रुपमा काम गर्नुभएका भुवन केसी केन्द्रीय तथ्याङ्क विभागले सर्वेक्षणका क्रममा ल्याएको प्रतिवेदनका आधारमा सो विवरण राखिएको दाबी गर्नुहुन्छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter