मतदाता शिक्षाका लागि एक्काइस हजार कार्यकर्ता तयार गरिने; निर्वाचनको तयारी तीव्र गतिमा – निर्वाचन आयुक्त यादव

Election Commissionप्रकाश सिलवाल / काठमाडौँ, १२ चैत । निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि देशका आठ स्थानमा मतदाता शिक्षा कार्यक्रमअन्तर्गत कुल २१ हजार जना मतदाता शिक्षा कार्यकर्ता तयार गर्ने भएको छ ।

स्थानीय सरकारको नयाँ संरचना, समावेशी पद सङ्ख्यासहितको मतपत्रको ढाँचा र यसबारे आम जनतामा पर्याप्त जानकारी नहुँदा मतदाता शिक्षामा चुनौती देखिएको बेला आयोगले सो मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ । झन्डै दुई दशकपछि हुन लागेको आगामी वैशाख ३१ मा हुने स्थानीय निर्वाचनका लागि उम्मेदवारका रुपमा महिला सहभागिता ४० प्रतिशत हुने भएकाले आयोगले महिला केन्द्रित मतदाता शिक्षा कार्यक्रम अघि सारेको छ ।

स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदाता शिक्षित र सुसूचित हुनुपर्नेमा सचेत रहँदै आयोगले आज ‘क्षेत्रीय प्रशिक्षक प्रशिक्षण’ कार्यक्रम सुरु गरेको छ ।

प्रशिक्षण कार्यक्रम विराटनगर, सिन्धुली, हेटौँडा, ललितपुर, पोखरा, बुटवल, नेपालगन्ज र धनगढीमा एकैपटक सुरु भएको छ । मतदाता शिक्षामा महिला, दलित, सीमान्तकृत समूहबाट हुने उम्मेदवारी छनोट, उम्मेदवारी दर्तादेखि मतदानसम्मका कार्यका विषय समावेश छन् । प्रशिक्षकले ७४४ स्थानीय तहमा रहने अनुमानित २१ हजार मतदान केन्द्रमा खटिने मतदाता शिक्षा कार्यकर्तालाई जिल्लास्तरमा प्रशिक्षण दिनेछन् ।

जिल्लास्तरमा प्रशिक्षित मतदाता शिक्षा कार्यकर्ताले एक महिनासम्म मतदाताको घरघरमा गएर मतदाता शिक्षा प्रदान गर्ने निर्वाचन आयुक्त इला शर्माले जानकारी दिनुभयो ।

मतदाता शिक्षा कार्यकर्तालाई प्रशिक्षित गर्न केन्द्रमा ३० जनालाई मुख्य प्रशिक्षक प्रशिक्षण तालिम दिइसकिएको छ । तीनसय ५० जनाले जिल्ला जिल्लामा गएर २१ हजार जना मतदाता शिक्षा कार्यकर्तालाई तालिम दिएपछि उनीहरूलाई यही चैत २८ देखि एक महिनासम्म घरघरमा खटाइनेछ ।

जिल्ला निर्वाचन अधिकारी, सामुदायिक विद्यालयका सामाजिक शिक्षा अध्यापन गराउने माध्यमिक शिक्षक (महिला), जिल्ला शिक्षा कार्यालयका स्रोतव्यक्ति तथा जिल्ला समन्वय समितिका सामाजिक परिचालक गरी देशभरिका ३५४ जनालाई क्षेत्रीय प्रशिक्षक प्रशिक्षण दिइएको छ ।

गोदावरीमा आयोजित उक्त ‘क्षेत्रीय प्रशिक्षक प्रशिक्षण’ कार्यक्रममा निर्वाचन आयुक्त नरेन्द्र दाहालले संविधान जारी भएपछि नयाँ संरचनामा हुन लागेको स्थानीय तह निर्वाचनमा मतदाताका घरघरमा मतदाता शिक्षा कार्यकर्ता पु¥याउने बताउनुभयो ।

निर्वाचनमा समावेशीताको कोटा भएको तथा निर्वाचनमा भाग लिने दल र निर्वाचन चिह्न एवम् मतदान प्रक्रियाबारे मतदातालाई शिक्षित तुल्याउन आयोग लागेको हो । गाउँपालिका वा नगरपालिकाको वडा समितिका एकजना दलित महिलासहित दुई महिला वडा सदस्य हुनेछन् ।

आयोगले तालिमप्राप्त मतदाता शिक्षा कार्यकर्तालाई घरघरमा पुग्ने गरी खटाउने र यसका लागि ‘एक मतदान केन्द्र, एक मतदाता शिक्षा कार्यकर्ता’का लागि २१ हजार कर्मचारी परिचालन गर्नेछ । साथै, आमसञ्चार माध्यम एवम् सामाजिक सञ्जालबाट पनि निर्वाचनसँग सम्बन्धित सूचना तथा सन्देश प्रकाशन तथा प्रसारण गरिनेछ ।

मतदाता शिक्षाका लागि आवश्यक पर्ने सबै प्रकारका सामग्रीको उत्पादन गर्ने कार्य सुरु गरेको आयोगले नेपालमा बोलिने राष्ट्रभाषामध्ये १७ राष्ट्रभाषामा समेत मतदाता शिक्षा सामग्री तयारी गर्नका लागि प्रक्रिया अगाडि बढाएको छ ।

निर्वाचनको तयारी तीव्र गतिमा – निर्वाचन आयुक्त यादव

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले मतपत्र छपाइलगायतका तयारी कार्य तीव्र गतिमा भइरहेको बताउनुभएको छ । स्थानीय तह निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उहाँले निर्वाचन वैशाख ३१ गते निर्धारित समयमै हुने र निर्वाचनलाई सफल बनाउन सबै राजनीतिक दल गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो ।

प्रत्येक वडामा दुई महिला पद आरक्षित गरिएको र एकमा दलित महिलाको उम्मेदवारीका लागि संविधानले निर्दिष्ट गरेको प्रसङ्ग उल्लेख गर्दै उहाँले यस विषयमा सचेतना फैलाउन सञ्चार क्षेत्रसँग आग्रह गर्नुभयो ।

पत्रकारको जिज्ञासामा उहाँले नेपालको संविधानमा सङ्घीय लोकतान्त्रिक धर्म निरपेक्ष भनी स्पष्ट रुपमा उल्लेख गरिएको अवस्थामा राप्रपाको विधानमा उल्लिखित हिन्दू राष्ट्र र राजतन्त्र संविधानको अनुकूल नभएको देखिएकाले कानुनविद्को सल्लाहमा सो ‘वाक्यांश’ हटाइएको स्पष्ट पार्नुभयो ।

स्थानीय तहको निर्वाचनपछि प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकैसाथ गर्न सकिने हो कि भनी सोधिएको एक प्रश्नमा प्रमुख आयुक्त यादवले छोटो अवधि भएकाले दुईटै निर्वाचन एकैसाथ गर्न नसकिने जानकारी गराउनुभयो ।

निर्वाचन आचारसंहिता पालना गराउन आयोग प्रतिबद्ध रहेको र आचारसंहिता पालना नगरेको बारेमा प्रमाणसहित आयोगमा उजुरी आए कारबाही गरिने उहाँको भनाइ थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter