सर्वाधिक महत्वको पारवहन सम्झौता कार्यान्वयनमा प्रधानमन्त्रीको जोड; चीनको ‘ओबोर’ आयोजनाबाट नेपाल लाभान्वित हुन चाहन्छ : मन्त्री डा महत

PM addressing BOAO Conferenceकाठमाडौँ, १३ चैत । चीनको भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूपरिवेष्टित मुलुकलाई दिइने अधिकारका सम्बन्धमा गत वर्ष भएको पारवहन यातायात सम्झौता सर्वाधिक महत्वको भएको बताउनुभएको छ ।

बेइजिङस्थित फरेन स्टडिज युनिभर्सिटीले आज आयोजना गरेको ‘नेपाल–चीन सम्बन्ध : वृद्धि तथा समृद्धिको दृष्टिकोण’ विषयक प्रबचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पारवहनलगायत विगतका सम्झौतालाई कार्यान्वयनमा लैजाने धारणा व्यक्त गर्नुभयो ।

समृद्धिका लागि सम्पर्क सञ्जाल (कनेक्टिभिटी) सर्वाधिक महत्वको भएको बताउँदै उहाँले पूर्वाधार निर्माणका साथै ज्ञान र बौद्धिकतासँगै बजारलाई पनि एकआपसमा जोडेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री दाहालले सडक, रेल, हवाई तथा वेबसँग संयोजित भएर आपसका समृद्धि साटासाट गर्न सकिने बताउँदै अन्तरदेशीय संपर्कलाई अझ विस्तार गर्न दुई देश बीचका अन्य सीमा नाकालाई पनि खोल्नुपर्नेमा जोड दिनुभयो ।

चीनका मुख्य सहरसँग काठमाडौँलाई हवाई मार्गमार्फत जोड्नुपर्ने भन्दै उहाँले चीन तथा नेपालबीचमा थप उडान आवश्यक रहेको बताउनुभयो । चीनले अगाडि बढाएको ‘एक क्षेत्र एक मार्ग’ अवधारणा सहकार्य र साझेदारीका लागि अपूर्व अवसर भएको बताउँदै राष्ट्रपति सि चिनफिङप्रति यसका लागि धन्यवाद व्यक्त गर्नुभयो ।

प्राचीनकालमा प्रयोग भएको महत्वपूर्ण रेशम मार्गको नेपाल जानकार रहेको उल्लेख गर्दै उहाँले यो मार्ग एसियाको केन्द्रदेखि दक्षिण एसियाली क्षेत्रको आर्थिक विकाससम्मका लागि महत्वपूर्ण हुने बताउनुभयो । सन् २०१४ मा सहमति जनाइसकेको ‘एक क्षेत्र एक मार्ग’को अवधारणाबारेका कार्य अन्तिम चरणमा पुगेको भन्दै प्रधानमन्त्री दाहालले उक्त अवधारणामा सम्झौता गर्न नेपाल तयार रहेको स्पष्ट पार्नुभयो ।

एसियाली पूर्वाधार लगानी बैंक र सङ्घाई सहकार्य सङ्गठनसँग आबद्धता भइसकेको उल्लेख गर्दै उहाँले आर्थिक वृद्धि तथा समृद्धि द्विपक्षीय व्यापारका लागि महत्वको विषय भएको बताउनुभयो । हालै नेपालमा सम्पन्न भएको लगानी सम्मेलनमा सहभागी भएकामध्ये ६० प्रतिशत लगानीकर्ता चिनियाँ भएको बताउँदै प्रधानमन्त्रीले प्रत्यक्ष वैदेशिक लगानी र पर्यटन विकास नेपाल–चीन सम्बन्धको अर्को महत्वपूर्ण क्षेत्र हो भन्नुभयो ।

नेपालमा जलस्रोतको अपार सम्भावना रहेको र यसबाट दिगो तथा हरित ऊर्जा प्राप्त गर्न सकिने र आर्थिक वृद्धिका लागि आधार बन्नसक्ने उल्लेख गर्दै उहाँले यस क्षेत्रमा नेपालसँग सहकार्य गरेर अगाडि बढ्न चीनलाई आग्रह गर्नुभयो । ऊर्जा क्षेत्रको विकासलाई विविधिकरण गरेर अगाडि बढ्न आफूहरुले चाहेको भन्दै प्रधानमन्त्री प्रचण्डले सौर्य ऊर्जा, जैविक ऊर्जा र वैकल्पिक ऊर्जा क्षेत्रको विकासमा सहकार्य गर्न सकिने बताउनुभयो ।

उहाँले नेपालमा सहरी पूर्वाधार, अन्तरदेशीय प्रसारण लाइन, दूरसञ्चार तथा सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा अपार अवसर रहेको उल्लेख गर्नुभयो । शाक्यमुनि वुद्धको जन्मस्थल तथा विश्वको सर्वोच्च शिखर सगरमाथाको मुलुक नेपाल भ्रमण गर्न चिनियाँ जनतालाई आग्रह गर्दै उहाँले नेपालको संस्कृति एवम् सुन्दर प्राकृतिक दृश्यले सबैलाई मन्त्रमुग्ध पार्ने बताउनुभयो ।

चीनको ‘ओबोर’ आयोजनाबाट नेपाल लाभान्वित हुन चाहन्छ : मन्त्री डा महत

परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले चीनको ओबिओर (वान बेल्ट वान रोड, ओबोर) आयोजनाबाट नेपाल बढीभन्दा बढी लाभान्वित हुन चाहेको धारणा राख्नुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा हाल त्यहाँ रहनुभएका परराष्ट्रमन्त्री डा महतले चीनको बेइजिङस्थित बेइजिङ फरेन इस्टडी युनिभर्सिटीद्वारा आज आयोजित कार्यक्रममा सो धारणा राख्नुभएको हो ।

उहाँले भन्नुभयो – “नेपाल एक भूपरिवेष्टित देश हो र चीनको यो बृहत् आयोजनाले नेपालजस्तो छिमेकीलाई चीन हुँदै अर्काे संसारमा जोड्न र हाम्रो उत्पादनको निर्यातमा समेत सघाउने हुँदा यसबाट हामी लाभान्वित हुन चाहन्छौँ ।”

परराष्ट्रमन्त्री डा महतले छिमेकी देश चीनले थालेको यो बृहत् सञ्जालका माध्यमबाट हामी पनि नेपाली उत्पादनलाई एसिया र युरोपेली बजारमा पु¥याउनका साथै हाम्रो देशको बहुआयामिकतालाई विश्वमा परिचित गराउन सफल हुने विश्वास व्यक्त गर्नुभएको परराष्ट्रमन्त्रीको जनसम्पर्क तथा प्रेस संयोजक एकराज पाठकले बताउनुभयो ।

सडक सञ्जालको माध्यमबाट नेपाललाई पनि चीन तथा अन्य विश्वसँग जोड्न सकेमा विकासका प्रचुर सम्भावना भएको नेपालका लागि ठूलो सौभाग्य हुने बताउँदै उहाँले चीनलाई नेपालको पूर्वाधार विकासका क्षेत्रमा सघाउन आग्रह गर्नुभयो ।

मन्त्री डा महतले भन्नुभयो – “नेपाल गरिब होइन र भूगोलमा सानो पनि छैन, हामीसँग विकासका प्रचुर सम्भावना छन् तर पनि पूर्वाधार क्षेत्रमा आवश्यक विकास हुन नसक्दा हाम्रो ठूलो श्रमशक्ति बाहिरिएको छ र वैदेशिक लगानी पनि अपेक्षित आउन सकिरहेको छैन ।”

नेपालमा पूर्वाधार निर्माणका साथै पर्यटन, जलविद्युत्लगायतका क्षेत्रमा लगानीका लागि उहाँले चीन सरकारसँग आग्रह पनि गर्नुभयो ।

मन्त्री डा. महतले हामीसँग प्रचुर मात्रामा जल, प्राकृतिक सम्पदा, जडीबुटी, वनस्पति तथा विश्वप्रसिद्ध आकर्षक हिमाल पहाड भए पनि पूर्वाधारको कमीका कारण यो सम्पत्तिबाट हामी लाभान्वित हुन सकेका छैनौँ भने अर्कातर्फ बर्सेनि हाम्रो श्रम बजार बाहिरिएको छ भन्नुभयो ।

एक असल छिमेकीको हैसियतले चीनले नेपालको बृहत्तर विकासमा पु¥याउँदै आएको सहयोगका लागि विशेष धन्यवाद व्यक्त गर्दै उहाँले सदियौँअघिदेखि जनताको तहबाट सुरु भएको नेपाल–चीन सम्बन्ध हाल पनि सुमधुर रहेको र नेपाल एक चीन नीतिप्रति अडिग रहिआएको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो सेन्टरमा विभिन्न वक्ताले नेपाल–चीन सम्बन्धका विभिन्न पक्षमा चर्चा गर्नुभएको थियो । प्रधानमन्त्री दाहाल र परराष्ट्रमन्त्री डा महतसँग आजै चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका सदस्य सङ ताओले भेटवार्ता गर्नुभएको जनसम्पर्क तथा प्रेस संयोजक पाठकले बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter