नासुदेखि सहसचिवसम्म शक्तिकेन्द्र धाउन थाले
नगेन्द्र सापकोटा / काठमाडौँ, पुस १७ गते । स्थानीय तहमा समायोजन हुन नमानेका कर्मचारीहरूले प्रदेश तहमा समायोजन हुन शक्तिकेन्द्र धाउन थालेका छन । स्थानीय तह भौगोलिक रूपमा दुर्गम भएकाले सेवा प्रवाहमा कठिनाइ हुने, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको प्रत्यक्ष निगरानीमा सेवा प्रवाह गर्नुपर्ने, सेवासुविधा पर्याप्त नहुने भएकाले स्थानीय तह रोजाइ नबनेको बताइन्छ ।
सुविधासम्पन्न प्रदेश तहमा नै समायोजन हुन कर्मचारीहरू विभिन्न मन्त्रालय, कर्मचारीको आधिकारिक टे«ड युनियनको कार्यालय, राजनीतिक दलका नेता र मन्त्री लगायतका शक्ति केन्द्र धाउन थालेका छन् । प्रदेश तहमा समायोजनका लागि शक्ति केन्द्र धाउने कर्मचारीमा नायब सुब्बादेखि सहसचिवसम्म रहेका छन् ।
सातवटा प्रदेश तहमा गरी करिब तीन हजार दुई सयदेखि तीन हजार पाँच सयको संख्यामा कर्मचारी आवश्यक पर्नेछ । सामान्य प्रशासन मन्त्रालयमा दैनिक १५ देखि २० जनाको सङ्ख्यामा प्रदेश तहमा समायोजन हुन चाहने कर्मचारीको निवेदन पर्ने गरेको छ ।
सो मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले स्थानीय तहमा भन्दा प्रदेश तहमा समायोजन हुन चाहने कर्मचारीको सङ्ख्या धेरै भएको बताउँदै अहिलेसम्म कतिजना कर्मचारीले समायोजनका लागि मन्त्रालयमा निवेदन दिए भन्नेबारे खुलाउन चाहनुभएन ।
निजामतीतर्फ ८६ हजार र साविक स्थानीयका २० हजार गरी करिब एक लाख छ हजार कर्मचारी कार्यरत छन् । उहाँका अनुसार कर्माचारी समायोजन ऐन जारी भइसके पनि कर्मचारी नियमावली नबन्दा समायोजनका सबै प्रक्रिया रोकिएका छन् । मन्त्रालयले सङ्गठन संरचना (ओएनएम सर्वे) गर्नका लागि समिति निर्माण गरेको छ ।
उक्त समितिले कुन तहमा कति कर्मचारी आवश्यक पर्ने, प्रत्येक तहमा कार्यालयमा कति शाखा तथा महाशाखा रहने र सोहीअनुसार समितिले दबन्दी तयार गर्नेछ । नियमावली नबने पनि कर्मचारीहरू प्रदेश तहमा समायोजन चाहनेको सङ्ख्या धेरै छ ।
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार स्थानीय तह पूर्ण रूपमा सञ्चालनमा आउँदा स्थानीय तहमा मात्र करिब ६० देखि ७० हजार कर्मचारी आवश्यक पर्नेछ ।
जिल्लाका विषयगत कार्यालयका कार्यक्रम, योजना र बजेट स्थानीय तहमा पूर्ण रूपमा हस्तान्तरण नहुँदा हाल स्थानीय तहमा ३० हजारको सङ्ख्यामा कर्मचारी अपुग छ । मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले स्थानीय तहमा कर्मचारी समायोजन हुन नमाने करार सेवामा कर्मचारी भर्ना गर्ने बाटो सरकारले खुला गरेर भए पनि सेवाग्राहीको काम नरोक्ने बताउनुभयो ।