जलविद्युत्को हब बन्दै त्रिशूली
हेमनाथ खतिवडा / बेत्रावती, माघ १ गते । रसुवा र नुवाकोट भएर बग्ने त्रिशूली नदी जलविद्युत्को हब बन्ने क्रममा रहेको छ । त्रिशूली नदीकै पानीलाई सदुपयोग गरी निर्माण भइरहेका जलविद्युत् आयोजनाको काममा कुनै पनि अवरोध नआए अबको पाँच वर्षभित्र त्रिशूली विद्युत् कोरिडोर क्षेत्र बन्ने देखिएको छ ।
रसुवामा चिलिमे आयोजना सफल भएपछि विद्युत् आयोजनातर्फ लगानी गर्न इच्छुक कम्पनीहरूको धेरै आकर्षण बढेको छ र विद्युत् आयोजना निर्माण तीव्र भएको छ ।
नेपाल–चीन सीमाना रसुवागढीदेखि नुवाकोट हुँदै धादिङको पृथ्वी राजमार्गको गल्छीसम्म त्रिशूली नदी किनारामा मात्रै १२ जलविद्युत् आयोजनाको निर्माण काम भइरहेको छ । रसुवा र नुवाकोटमा विद्युत् विकास विभागबाट ५५ वटा जलविद्युत् आयोजनाले अनुमति लिएका छन् । कतिपय आयोजनाले काम थालिसकेका छन् ।
त्रिशूली नदीमै दुई दर्जन जलविद्युत् आयोजना निर्माण थालनीको चरणमा छन् । रसुवामा पहिलोपल्ट चिलिमे जलविद्युत् आयोजनाले २२ मेगावाट, नुवाकोट त्रिशूलीमा त्रिशूली जलविद्युत्ले २१ मेगावाट र सोही विद्युत्गृहको पानीलाई सदुपयोग गरेर देवीघाट जलविद्युत् केन्द्रले १४ मेगावाट विद्युत् उत्पादन गरिरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
चिलिमे १०, त्रिशूली ४० र देवीघाट जलविद्युत् केन्द्रले ३० वर्षदेखि विद्युत् उत्पादन गर्दै आएका छन् ।
रसुवा नुवाकोट सिमानाका बेत्रावतीमा पनि जलविद्युत् आयोजना निर्माण हुने चर्चा चलेको छ । बेत्रगङ्गा आयोजनाले ऐतिहासिक, धार्मिक क्षेत्र तथा रसुवा नुवाकोटको अन्त्येष्टि गर्ने घाट प्रभावित नहुने गरी विद्युत् विकास गर्नुपर्ने स्थानीयको माग छ । नुवाकोट र देवीघाट जलविद्युत्ले बिजुली उत्पादन गरिरहेका छन् । यस विद्युत् करिडोर क्षेत्रबाट मात्र आठ सय २७ मेगावाट विद्युत् उत्पादन हुने विज्ञहरूले बताएका छन् ।
जसमध्ये भोटेकोसीबाट मात्र ३२४ मेगावाट विद्युत् उत्पादनको लक्ष्य लिइएको छ । ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण ७० प्रतिशत सकिएको आयोजनाका प्रमुख फणिन्द्र जोशीले जानकारी दिनुभयो ।
नुवाकोट क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नारायणप्रसाद खतिवडाले त्रिशूली, तादी, लिखु, सामरी खोलाको पानीलाई सदुपयोग गरी विदेशबाट विद्युत् आयात बन्द गर्न र युवालाई पनि स्थानीय तहमै रोजगारीको सम्भावना बढाउने बताउनुभयो । जलविद्युत् उत्पादनका योजनालाई स्थानीय तथा प्रदेश तहसँग मिलेर गुरुयोजना बनाउने उहाँले उल्लेख गर्नुभयो ।
जलविद्युत् उत्पादनका लागि ठूलो सम्भावना रहेको त्रिशूली नदीबाट बिजुली उत्पादनका लागि जस्तोसुकै निर्णय गर्न पनि पछि नहटन्े रसवुाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन आचार्यले सार्वजनिक रूपमै प्रतिबद्धता जनाउनुभयो । उहाँले विद्युत्को विकासबिना रसुवाको समृद्धिको सपना पूरा नहुने बताउनुभयो ।
विद्युत् क्षेत्र कोरिडोरअन्तर्गत रसुवागढी, भोटेकोसी, त्रिशूली, गल्छीसम्म एक दर्जन जलविद्युत् आयोजनाले विद्युत् उत्पादन अनुमतिपत्र प्राप्त गरिसकेका छन् । जसमध्ये चिलिमे, त्रिशूली जलविद्युत्
त्रिशूली नदीलाई हाइड्रोको हबका रूपमा विकास गर्ने, स्थानीय तहसँग समन्वय गरेर कुनै अवरोधबिना विद्युत् विकासम जोड दिएर जिल्लाको समृद्धि हुने जिल्ला समन्वय समिति रसुवाका सभापति कुलप्रसाद भट्टले बताउनुभयो ।
विद्युत् विकास विभागले अनुमति दिएका आयोजना समयमै निर्माण भए नुवाकोट र रसुवाबाट मात्रै एक हजार पाँच सय मेगावाट विद्युत् उत्पादन हुनेछ । विद्युत् उत्पादन अनुमति लिएका आयोजनामध्ये रसुवागढी, माथिल्लो त्रिशूली थ्री ए, माथिल्लो त्रिशुली १, सान्जेन तल्लो र माथिल्लो सान्जेनसहित एक दर्जन जलविद्युत् आयोजनाको निर्माणको काम
भइरहेको छ ।