उग्र बन्दै धनकुटाको आन्दोलन, निषेधाज्ञा जारी; डोटीमा प्रहरी र आन्दोलनकारीबीच झडप, ३ जना घाइते

nepal mapकाठमाडाैँ, ४ माघ | सरकारले बुधबार १ नम्बर प्रदेशको अस्थायी राजधानी विराटनगर तोकेपछि यतिखेर धनकुटामा चर्को नाराबाजीका साथै विरोध प्रदर्शन भएको छ ।

विराटनगरलाई राजधानी तोकेपछि बिहीबार विरोधमा उत्रिएका धनकुटाबासी र प्रहरीबीच धनकुटा ६ भीमनारायण चोकमा दोहोरो झडप समेत भएको छ । झडपका क्रममा प्रहरीको लाठीचार्जबाट ४ जना प्रदर्शनकारी घाइते भएका छन् । धनकुटाका नेपाली कांग्रेस पार्टी सचिव दिनेश राईको टाउकोमा गम्भीर चोट लागेको छ भने अन्य घाइते सामान्य उपचारपछि घर फर्किएका छन् । उनीहरुको जिल्ला अस्पताल धनकुटामा उपचार भएको हो ।

आन्दोलनकारीले बिहीबार बिहान १० बजे प्रशासन कार्यालयमा आगजनी गरेका थिए । जिल्ला प्रहरी कार्यालय, धनकुटाका अनुसार आगजनीबाट कार्यालयको दुई थान कम्प्यूटर, प्रिन्टर लगायतका सामग्री जलेर नष्ट भएको छ ।

प्रदर्शनकारीहरुले आक्रोशमा उत्रिएर क्षेत्रीय प्रशासन कार्यलय र शहरी विकाश तथा भवन निर्माण डिभिजन विभाग कार्यलयमा तोडफोड गरेका हुन् । उनीहरुले श्रमिक दलित हकहित मोरङद्वारा सञ्चालित को २ च ४३२ नम्बरको भोजपुर तर्फ बिरामी लिन जाँदै गरेको एम्बुलेन्स समेत तोडफोड गरेका छन् । त्यस्तै को १ ब १०६४ नम्बरको मोटरसाईकल समेत पूर्ण रुपमा तोडफोड गरेका छन् ।

प्रदर्शनकारी उग्र रुपमा आन्दोलनमा उत्रिएपछि निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जानकारी दिएका छन् । धनकुटाको जिरो पोइन्ट, सल्लेरी, क्षेत्रीय प्रशासन कार्यलय, बिहीबारे हट्या, सिरुवानी लगायतको क्षेत्रमा निषेधाज्ञा जारी गरेको उनले बताए ।धनकुटालाई अस्थायी राजधानी बनाउनुपर्ने माग राख्दै धनकुटाबासी केही दिनदेखि आन्दोलनरत थिए ।

डोटीमा प्रहरी र आन्दोलनकारीबीच झडप, ३ जना घाइते

डोटीमा प्रदेश राजधानी माग्दै सुरु भएको आन्दोलन उग्र बन्दै गएको छ । बिहीबार प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा तीन जना घाइते भएका छन् ।

क्षेत्रिय प्रशासन कार्यालय डोटीमा आन्दोलनकारीले ढुङ्गामुडा गरेपछि प्रहरीले १० राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । अश्रुग्यास प्रहारबाट दिसिनपा-४ का ४३ वर्षीय भरत बिक, दिसिनपा -१ का ४० वर्षीय नारायण खड्का र केआईसिं गाउँपालिकाका करी भण्डारी घाइते भएका छन् । विकलाई थप उपचारको लागि धनगढी रिफर गरिएको सुजङ अस्पतालले जनाएको छ । अन्य २ जना सुजङ अस्पताल राजपुरमा उपचारत छन् ।

प्रदेश ७ को अस्थायी राजधानी धनगढी तोकिएपछि आक्रोशित बनेका डोटीको दिपायलका स्थानीय आक्रोशित बनेका हुन् । उनीहरु दिपायललाई प्रदेश राजधानी बनाउनुपर्ने माग राख्दै आन्दोलनरत थिए ।

आन्दोलनकारीले आजै दिपायलको पिपल्ला बजारमा रहेको ट्राफिक प्रहरीको चेक पोष्टमा आगजनी समेत गरेका थिए । डोटीका बिभिन्न ठाउँमा सरकारले गरेको निर्णयका बिरुद्धमा प्रर्दशन भैरहेको छ ।

बन्दका कारण वीरगञ्जको जनजीवन प्रभावित

प्रदेश नं २ को प्रादेशिक राजधानी वीरगञ्ज हुनुपर्ने माग राख्दै बिहीबारदेखि वीरगञ्ज बन्दको आह्वान गरिएको छ । बन्दका कारण वीरगञ्जको जनजीवन प्रभावित भएको छ ।

सरकारले बुधबार अस्थायी राजधानी जनकपुरलाई तोकेको विरोधमा आज वीरगञ्ज बन्द गरिएको हो । जनकपुरलाई प्रदेशका अस्थायी राजधानी तोकेपछि वीरगञ्जमा असन्तुष्टी बढेको छ । वीरगञ्जलाई प्रादेशिक राजधानीको घोषणा गर्न दवाव दिनका लागि गठित संघर्ष समितिको आह्वानमा बन्द घोषणा गरिएको हो ।

एम्बुलेन्स, दमकल अत्यावश्यक सवारी साधन बाहेक सम्पूर्ण पसल बजार सबै ठप्प पारिएको संघर्ष समितिले जनाएको छ । बन्दका कारण बिहानै देखि सडक अवरुद्ध गरिएको छ, भने ठाउँ-ठाउँमा टायर बालेर प्रदर्शन गरिएको छ । मोटरसाईकल, ईरिक्सा भने निर्वाद रुपमा चलेका छन् ।

संघर्ष समितिका सह संयोजक राजकुमार गुप्ताको नेतृत्वमा वीरगञ्जको घण्टाघर, माईस्थान मुर्ली, लगायतका क्षेत्रमा टायर बालेर प्रदर्शन गर्नुको साथै सवारी साधन, बजार पसल, शैक्षिक संस्था, कलकारखना ठप्प पारिएको छ ।

प्रदर्शनकारीहरुले सरकार, फोरम नेता उपेन्द्र यादव, राजपाका नेता राजेन्द्र महतो लगायतको विरोधमा नाराबाजी समेत गरेका छन् । जनकपुरलाई नभई वीरगञ्जलाई प्रादेशिक राजधानी घोषणा गर्नुपर्ने माग राखेर संघर्ष समितिको आह्वानमा घण्टाघरमा रिले अनशन पनि चलिरहेको छ ।

रुपन्देहीलाई प्रदेश राजधानी बनाएपछि दाङ आन्दोलित

प्रदेश नम्बर ५ मा रुपन्देहीलाई अस्थायी मुकाम तोकिएपछि दाङमा आन्दोलन चर्किएको छ। दाङका सबैजसो दल आन्दोलनमा छन्। एमाले जिल्ला अध्यक्ष टिकाराम खड्काको संयोजकत्वमा संघर्ष समिति गठन भएको छ। खड्कासहित माओवादी केन्द्रका सहइन्चार्ज निर्मल आचार्य र कांग्रेस सचिव शंकर डाँगीले जिल्लाका विभिन्न ठाउँमा भएका प्रदर्शनको नेतृत्व गरिरहेका छन्।

बिहीबार प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नम्बर १ मा एमालेका तर्फबाट विजयी मेखमणि चौधरीको उपस्थितिमा संघर्ष समितिको बैठक बसी खड्काको नेतृत्वमा संघर्ष समिति गठन भएको हो। प्रदेशसभा निर्वाचनमा कांग्रेसबाट ३ (क) मा विजयी डिल्ली चौधरी र एमालेबाट २ (ख) मा विजयी अमर डाँगी पनि प्रदर्शनमा देखिएका छन्।

दाङबाट प्रतिनिधिसभामा निर्वाचित माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले बुधबार नै विज्ञप्ति निकालेर दाङ प्रदेश ५ को राजधानी हुनुपर्ने बताएका छन्। प्रदेश नम्बर ५ को मुख्यमन्त्रीका दाबेदार एमाले नेता शंकर पोखरेलले जनमत गुमाएको सरकारले विवेक गुमाएको टिप्पणी गर्दै प्रदेशसभाले विवेकसम्मत निर्णय गर्ने बताएका छन्।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter