ज्यान मार्ने धम्की दिएको आरोप लागेका प्रधानन्यायाधिश पराजुलीमाथि अनुसन्धान सुरु
काठमाडौं, माघ १७ गते । ज्यान मार्ने धम्की दिएको आरोप लागेपछि प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि महानगरीय प्रहरी परिसर, काठमाडौंले अनुसन्धान प्रक्रिया सुरु गरेको छ ।
अधिवक्ता डा. सुरेन्द्र भण्डारीले बुधबार प्रधानन्यायाधीश पराजुलीले आफूलाई ज्यान मार्ने धम्की दिएको भन्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा निवेदन दिएपछि पराजुलीमाथि अनुसन्धान सुरु भउको हो । निवेदन प्राप्त भएलगत्तै जिल्ला प्रशासन कार्यालयले छानविन गर्न महानगरीय प्रहरी परिसर, पत्राचार गरेको हो । पहिलो चरणमा भण्डारीको निवेदनमा भनिएजस्तो सुरक्षा थ्रेट हो वा होइन भन्ने विषयमा छनबिन हुने प्रहरीले बताएको छ ।
प्रधानन्यायाधीश पराजुलीले आफूलाई फोन गरेको नम्बर पनि उल्लेख गर्दै अधिवक्ता भण्डारीले निवेदनमा कल डिटेल मगाउन माग गरेका छन् । प्रहरी परिसरले सम्वन्धित निकायसँग कल डिटेल मागेको बताएको छ ।
प्रधानन्यायाधीश गोपाल पराजुलीका विवादित विषयमा बहस गरेपछि आफूलाई ज्यान मार्नेसम्मको धम्की आएको भन्दै अधिवक्ता भण्डारीले जिल्ला प्रशासन कार्यालमा निवेदन दिएका थिए ।