भिसा त्यागेर च्याउ खेतीमा युवा
मानबहादुर साँउद / अमरगढी, चैत ३० गते । डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नं. १ असिग्रामका दुई युवाले खाडी मुलुकको भिसा त्यागेर च्याउ खेती सुरु गरेका छन् । पाँच लाख रुपियाँको लगानीमा भूमिराज असिग्राम कृषि फर्म दर्ता गरी उनीहरू व्यावसायिक च्याउ खेतमा जुटेका हुन् ।
मलेसिया जाने मनसाय बनाएका स्थानीय युवा विष्णु भट्टले पनि काठमाडौँमा च्याउ खेतीसम्बन्धी तालिम लिएर अहिले सो व्यवसाय सुरु गर्नुभएको छ ।
यस्तै अर्का कोरियन भाषाको पढाइ सकेर कोरिया जाने मनसाय बनाएका खेम जाशीले उनलाई साथ दिइरहनुभएको छ ।
उनीहरूको संयुक्त लगानीमा निर्माण गरिएको कृषि फर्मको एक औपचारिक कार्यक्रमका बीच गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नबलसिह मल्लले उद्घाटन गर्नुभएको छ ।
अध्यक्ष मल्लले युवाले गरेको च्याउ खेतीको प्रशंसा गर्दै एक महिनाभित्र अनुदान उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ । गाउँपालिकाले कुल बजेटको ३५ प्रतिशत रकम कृषि क्षेत्रमा लगाएको स्मरण गराउँदै अध्यक्ष मल्लले गन्यापधुरा कृषिका लागि उपयुक्त जमिन भएको ठाउँ भएकाले सबैलाई व्यावसायिक कृषि गर्ने सुझाव दिनुभएको छ ।
जिल्ला कृषि विकास कार्यालय डडेल्धुराका वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्टले जिल्ला कृषि विकास कार्यालयले किसानलाई प्राविधिक सहयोगका लागि सधँै तयार रहेको बताउनुभएको छ । जिल्लामा सुपर जोन कार्यक्रम लागू भएकाले अब यो क्षेत्रलाई च्याउ उत्पादनको पकेट क्षेत्र बनाउन सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
युवाले व्यक्तिगत लगानीमा उत्पादन गरेको च्याउलाई बजारको समस्या रहेको दुखेसोसमेत पोखेका छन् । अहिले फर्मले दैनिक ४५ देखि ६० किलोसम्म उत्पादन गरी बिक्री वितरण गरिरहेको छ । अहिले उक्त च्याउको प्रतिकिलो तीन सय रुपियाँदेखि चार सय रुपियाँसम्ममा बिक्री भइरहेको उनीहरूले बताएका छन् ।