कुलेखानीको जनेरेटरमा समस्या, पचास प्रतिशत कम विद्युत उत्पादन

Kulekhani_manish

काठमाडौँ, जेठ २५ गते । नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको कुलेखानी दोस्रो जलविद्युत् केन्द्रको एउटा युनिटमा समस्या आउँदा विद्युत् उत्पादन ५० प्रतिशतले कम भएको छ ।

‘स्टेटर वाइन्डिङ’को मर्मत गर्नुपर्ने भएकाले कुलेखानी पहिलो र दोस्रो जलविद्युत् केन्द्रबाट ४६ मेगावाटमात्रै विद्युत् उत्पादन भइरहेको छ भने ४६ मेगावाट बन्द छ । कुलेखानी पहिलोबाट ३० र दोस्रोबाट १६ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । ती दुई आयोजनाले ९२ मेगावाट विद्युत् उत्पादन गर्छ ।

सो आयोजनाको युनिट दुईको जेनेरेटरको ‘स्टेटर वाइन्डिङ’मा समस्या देखिएपछि २० जेठदेखि केन्द्रबाट १६ मेगावाट विद्युत् उत्पादन बन्द भएको प्राधिकरणले जनाएको छ ।

कुलेखानी दोस्रोको एउटा युनिट बन्द भएको अवस्थामा पहिलोलाई ६० मेगावाटमा चलाउँदा जलाशयको पानी खेर जाने भएकाले पहिलो पनि ३० मेगावाटमा मात्रै सञ्चालन गरिएको छ ।

कुलेखानी पहिलोबाट विद्युत् उत्पादन गरी निक्लिएको पानीबाट दोस्रो विद्युत् गृह सञ्चालन हुन्छ ।

कुलेखानीलाई अन्य विद्युत् केन्द्रजस्तो २४सै घण्टा चलाइँदैन । विद्युत्को माग बढेका बेला आवश्यकताका आधारमा मात्रै सञ्चालन गरिन्छ ।

कुलेखानी पहिलोमा ३०-३० मेगावाटका दुईवटा र दोस्रोमा १६-१६ मेगावाटका दुईवटा टर्बाइन छन् । अहिले दुवै विद्युत् गृहका एउटा–एउटामात्रै टर्बाइन चलाइएको प्राधिकरणले जनाएको छ ।

बर्खा लागेसँगै खोला तथा नदीमा पानीको बहाव बढेकाले नदी प्रवाहमा आधारित जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन बढेको छ । यसले गर्दा कुलेखानीबाट ४६ मेगावाट उत्पादन बन्द हुँदासमेत बढी विद्युत् माग हुने समयको विद्युत् माग र आपूर्ति व्यवस्थापन गर्न सहज भई विद्युत्भार कटौती गर्नु नपरेको प्राधिकरणले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सो कुलेखानी विद्युत् केन्द्रको स्थलगत निरीक्षण गरी मर्मतका लागि उपकरण आपूर्तिकर्ता कम्पनीलाई तत्काल बोलाउन केन्द्र प्रमुखलाई निर्देशन दिनुभएको छ ।

केन्द्रका प्रमुख आभाष ओझाले मर्मतका लागि उपकरण आपूर्तिकर्ता जापानको फुजी इलेक्ट्रिक कम्पनीका प्राविधिक आगामी सोमबार यहाँ आइपुग्ने जानकारी दिनुभयो ।

जापानी प्राविधिक आएपछिमात्रै मर्मतका लागि लाग्ने समय यकिन हुने प्रमुख ओझाले बताउनुभयो ।

“हाम्रो अध्ययबाट मर्मत छिट्टै हुन सक्ने देखिएको छ तर कति समय लाग्छ कम्पनीका प्राविधिक आएपछि मात्रै भन्न सकिन्छ”, उहाँले भन्नुभयो, ‘मर्मत छिटो सक्ने प्रयास गरिरहेका छौँ ।” रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter