सिक्टा आयोजना अन्योल बनेपछि बाँकेवासी निराश (आलेख)

irrigationबाँके, पुस ४ गते । पश्चिम राप्ती नदीको पानीबाट सिँचाइ पु¥याई कृषि उत्पादनसँगै आर्थिक विकासलाई गति दिने उद्देश्यले सिक्टा सिँचाइ आयोजनाको निर्माण शुरु गर्दा समृद्धिका सपना देखेका बाँकेबासी अहिले निराश भएका छन् । बाँकेको समृद्धिका रुपमा लिइएको आयोजना सञ्चालनमा नआउँदै भत्किएपछि उनीहरुमा नैराश्यता छाएको हो ।

त्रिचालीस वर्षअघि निर्माणको चर्चा चलेको सिक्टाको निर्माण कार्य शुरु भएको १३ वर्ष मात्रै भयो । हालसम्म पनि निर्माणको चरणमै रहेको आयोजना परीक्षणका क्रममा भत्किएपछि बाँकेवासीमा अन्योलता छाएको छ । मनिकापुरका किसान नबुदिन यादव भन्नुहुन्छ – “नहरबाट पानी आउँछ र हामीले गरेको खेतीबाट आम्दानी बढ्ला भनेको त भत्केर पो गयो । अब कहिले बन्छ होला ? हामीले खेतबारीमा पानी हाल्न पाउने हो कि होइन, कुन्नी ?”

बाँकेको अगैयामा बाँध निर्माण गरी सिँचाइका लागि पानी लैजान दुई भागमा निर्माण अघि बढाइएको सिक्टा सिँचाइको नहर परीक्षणकै क्रममा भत्किएको छ । पानी लैजान राप्तीवारि ४५.२५ किलोमिटर र पारि ५३.५० किलोमिटर मूल नहर निर्माणकै चरणमा छ । मुख्य बाँधसहित वारिपट्टिको मूल नहरको काम पूरा भइसकेको छ । वारिपट्टिकै नहरमा पानी बगाएर परीक्षण गर्ने क्रममा ठाउँ–ठाउँमा भत्कियो । नहर भत्किएसँगै बाँकेबासीले देखेका सपनाहरु पनि भत्किएका छन् ।

राप्तीसोनारी–२ का वडाध्यक्ष मदन वलीले भन्नुभयो – “पानी लैजाने क्रममा समस्या आयो, नहर नै फुट्यो । आयोजनाको लापरबाही र ठेकेदारबाट कमजोर संरचना निर्माण हुँदा समस्या आयो । यसको जिम्मेवार को हुने ? अब आयोजनाको भविष्य के हुने ? राज्यले चित्तबुझ्दो जवाफ दिनुपर्छ ।” दायाँ भागको २० देखि ३५ किलोमिटर खण्डबाट पानी लैजाने क्रममा पहिलो पटक २०७३ असार १४ गते नहर भत्किएको थियो ।

वडाध्यक्ष वलीका अनुसार अधिकाँश मूल नहरको निर्माण कार्य सकिएको केही समयमै भत्किएको हो । “निर्माण शुरु गर्दा हामीले काम गुणस्तरहीन भयो भनेर आवाज उठाएका थियौं,” वलीले भन्नुभयो – “त्यतिबेला हाम्रो कुरालाई बेवास्ता गरियो । अहिले ठूलो समस्या आयो ।” मूल नहरको २४ किलोमिटर भाग जीर्ण भइसकेको छ । ठेकेदारले छड र अन्य निर्माण सामग्री पनि कमसल प्रयोग गरेको स्थानीय बासिन्दाको भनाइ छ ।

अहिलेसम्म यसको ५७ प्रतिशत मात्रै काम सकिएको छ । अझै ६३ प्रतिशत काम अधुरै छ । आगामी दुई वर्षभित्रै बाँकेका किसानका खेतबारीमा पानी पु¥याउने आयोजनाको लक्ष्य छ । निर्माण कार्यमा ढिलाइ भएपछि आयोजनाको लागत बढ्दै गएको छ । सिक्टाको मूल नहरको पानी धान्ने क्षमता ५० क्युसेक मानिएको छ । परीक्षण र बाढी आएका बेला उक्त नहर भत्किने गरेका कारण गुणस्तरमा प्रश्न उठ्ने गरेको हो ।

आयोजनाका अनुसार दायाँबायाँ दुवै मूल नहरको चुरे र फुटहिल क्षेत्रबाट दर्जनौं खोलानाला बगेका कारण वर्षामा नहरमा क्षति हुने गरेको छ । दायाँ मूल नहरको डिजाइन चरणमा नहरको रेखाङ्कन गर्दा चेनेज २० देखि ३५ किलोमिटरसम्म नहर अत्यधिक कटिङ तथा फिलिङमा रहेको जनाइएको छ । त्यसको विकल्पको अध्ययन गरी हालको रेखाङ्कन छनोट गरिएको आयोजनाको भनाइ छ । नहरको करीब ३५ किलोमिटर क्षेत्र राप्तीसोनारी गाउँपालिकामा पर्छ ।

राष्ट्रिय गौरवको उक्त आयोजनाको ४२ किलोमिटर सिटिसिई कालिका कन्स्ट्रक्सनले निर्माण गरेको हो । कालिकाले बनाएको नहरको खण्ड किसानको खेतमा पानी नपुग्दै भत्किएको छ । सर्वाधिक बिग्रिएको ०–३५ किलोमिटर खण्डको मूल नहरको अधिकाँश भाग बाँके राष्ट्रिय निकुञ्ज र चुरे क्षेत्रमा पर्छ ।

ठेकेदार कम्पनीले कमसल सामग्री प्रयोग गर्दासमेत अनुगमन र निगरानी गर्ने जिम्मा लिएको सिक्टा सिँचाइ आयोजना कार्यालयका इन्जिनियर र परामर्शदाताले बेवास्ता गरेको स्थानीय बासिन्दाको आरोप छ । हाल ३६ हजार हेक्टरमा धान खेती भइरहेको बाँकेमा यो आयोजना सम्पन्न भए त्यो बढेर ५० हजार हेक्टर पुग्ने विश्वास गरिएको थियो । आकाशे पानीको भर, मल, बीउ र जनशक्ति अभावले धान खेतीमा समेत ह्रास आएको बताइन्छ ।

मूल नहर परीक्षण गर्दा ढकेरीस्थित झिझरी खोलाछेउमा भत्केको पाइएको थियो । दुई वर्षसम्म नहर परीक्षण पनि बन्द भयो । यसवर्ष फेरि परीक्षण गर्न खोज्दा साउन ७ मा ढकेरी नजीकको चंगाई नालाछेउमा फेरि मूल नहर भत्कियो । पचास क्युमेक्स क्षमताको मूल नहरले १० क्युमेक्स पानी पनि थेग्न सकिरहेको छैन । सामान्य पानी थेग्न नसक्नुले निर्माणको गुणस्तरमाथि गम्भीर प्रश्न खडा भएको बाँकेवासीहरुले बताउँदै आएका छन् ।

निर्माणाधीन अवस्थामै रहेको आयोजना परीक्षणकै क्रममा भत्किएपछि यसको भविष्य अनिश्चित बनेको छ । सिक्टामा १३ वर्षको अवधिमा करीब ६० प्रतिशत मात्र कार्यप्रगति भएको आयोजनाले जनाएको छ । ब्यारेजदेखि पश्चिम मूल नहर सम्पन्न हुँदा हालसम्म १४ अर्ब ७० करोड रूपैयाँ खर्च भइसकेको छ । दोस्रो गुरुयोजनाअनुसार आर्थिक वर्ष २०७६÷७७ सम्म आयोजना सम्पन्न हुँदा कुल लागत खर्च २५ अर्ब रुपैयाँ नाघ्ने सरकारी अनुमान छ ।

मूल नहर पटक पटक भत्किने समस्या दोहोरिएपछि बाँकेवासी मात्रै नभएर आयोजना कार्यालय पनि अन्योलमै छ । मूल नहरको निर्माण कालिका कन्स्ट्रक्सनले गर्दैआएको छ । उक्त कम्पनी पूर्वमन्त्री तथा ठेकेदार विक्रम पाण्डेको हो । वडाध्यक्ष वलीले भन्नुभयो – “गलत डिजाइनले नहर निर्माण गर्दा समस्या भएको हो । यसमा सरकारको गम्भीर ध्यान जानुपर्छ । निर्माणमा संलग्न सबै पक्षलाई छानविनको दायरामा ल्याउनुपर्छ ।”

समस्याको गहिराइमा पुगेर समाधान गर्नेतर्फ सरकार तथा राजनीतिक दल नै अग्रसर नदेखिएको स्थानीय बासिन्दाको आरोप छ । “राष्ट्रिय गौरवको सूचीमा राखिएको आयोजनाप्रति सरकारले नै बेवास्ता गरेको छ, नहर भत्किएपछि सरकारका तर्फबाट ठोस पहल हुन सकेको छैन,” नेपालगञ्ज–२० का वडाध्यक्ष कृष्ण कार्कीले भन्नुभयो – “ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले समिति बनाएर छानबिन गरी प्रतिवेदन पेश गरेको छ । त्यसमा अहिलेसम्म छलफल भएको हामीले सुनेका छैनौं ।”

समितिको प्रतिवेदनमा मूल नहरमा देखिएको समस्याको मुख्य कारण माटोको घुलनशीलता भएको उल्लेख गरिएको छ । सिँचाइसँग सम्बन्धित अन्य आयोजनामा यस किसिमको माटो नदेखिएको सन्दर्भमा डिजाइन तयार गर्दा अन्यत्र झैं माटो परीक्षण भए पनि घुलनशीलताको परीक्षण नगरिएको प्रतिवेदनमा उल्लेख छ । उच्च माटो कटिङ भएका र भरिएका ठाउँमा बर्खाको पानी पर्दा घुलनशील भाग पानीसँगै बगेर जाने पनि प्रतिवेदनले आँैल्याएको छ ।

खोलामा बग्ने पानीको तुलनामा बर्खाको पानीमा सोडियम (नून)को मात्रा बढी हुने र त्यसमा माटो घोल्न सक्ने क्षमता उच्च हुने भएकाले समस्या देखिएको प्रतिवेदनमा उल्लेख छ । समस्या र समाधान समितिले प्रतिवेदन पेश गरे पनि समस्या समाधानको विषय बाहिर ल्याएको छैन ।

राष्ट्रिय गौरवको सूचीमा राख्ने तर, यसको अर्थ, महत्व र औचित्य के हो भन्नेमा सरकार सञ्चालक नै अनभिज्ञजस्तै देखिएको सिक्टा सिँचाइ आयोजनाका डिभिजनल इन्जिनीयर प्रकाशबहादुर कार्कीले बताउनुभयो । आयोजनामा देखिएको समस्याको समाधान यही हो भनेर अहिले नै भन्न सक्ने अवस्था नरहेको कार्कीको भनाइ छ । मूल नहर निर्माण गर्ने क्रममै स्थानीयस्तरबाट घुलनशील माटो प्रयोग नगर्न बारम्बार आग्रह गरिएको थियो ।

स्थानीयस्तरबाट आएको आवाजलाई आयोजनाले वास्ता गरेन । “हामीले त उतिबेलै नहरमा पटान गरेको माटो ठीक छैन, यसले भविष्यमा सिक्टालाई असफल बनाउँछ भनेका हौं,” ढकेरीका भाइराम वलीले भन्नुभयो – “हाम्रो कुरालाई वास्ता गरिएन । अहिले नहरको हालत हामीले भनेजस्तै भयो ।” पानी छाड्नेबित्तिकै भत्किने नहरले ढकेरी गाउँलाई उच्च जोखिममा पारेको छ । गाउँको सतहभन्दा माथि पटान गरिएको घुलनशील माटो बगेर नहर भत्किने जोखिम छ ।

पटान गरिएको माटो घुलनशील भएको र ठेकेदारले कमसल निर्माण सामग्री प्रयोग गरेका कारण नहरको संरचना कमजोर हुन पुगेको स्थानीय बासिन्दाको भनाइ छ । अगैयास्थित ब्यारेजदेखि ३५ किलोमिटरसम्म मूल नहरको संरचना जताततै चर्किएको छ । मूल नहरको दायाँ र बायाँ भित्ता चर्किएर दरार परेको प्रष्ट देखिन्छ । यिनै दरारबाट पटक–पटक नहर फुटिरहेको छ । राप्तीसोनारी गाउँपालिका–२ अगैयास्थित ब्यारेजदेखि ३५ किलोमिटर मूल नहरका अधिकाँश भाग चर्किएका छन् ।

मूल नहरका भिरालाहरू कतै चर्केका छन् भने कतै दबेर भासिएका छन् । सिक्टा आयोजनामाथि किसानको ठूलो भरोसा रहेकाले यसमा देखिएको अन्योल हटाउनुपर्ने राष्ट्रिय सिँचाइ जलउपभोक्ता महासङ्घ बाँकेका अध्यक्ष शालिकराम डाँगी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ – “पटक–पटक किन समस्या देखापर्छ ? यसको समाधान छिटोभन्दा छिटो हुनुपर्छ ।”

अष्ट्रेलियाली प्राविधिक टोलीले अध्ययन गर्ने

सिक्टा सिँचाइ आयोजनाको मूल नहर भत्किनाका कारणबारे अष्ट्रेलियाली प्राविधिक टोलीले अध्ययन थाल्ने भएको छ । अध्ययनका लागि अष्ट्रेलियाली प्राविधिक टोली केही दिनमै बाँके आउने भएको छ । नहरको गुणस्तर छानबिनको माग उठिरहेका बेला अध्ययनका लागि विदेशी प्राविधिक टोली आउन लागेको सिक्टा सिँचाइ आयोजनाका प्रमुख कृष्णप्रसाद नेपालले जानकारी दिनुभयो ।

यसअघि नेपाल सरकारका सचिव र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको छुट्टाछुट्टै टोलीले नहर भत्किनाका कारणबारे अध्ययन गरिसकेको छ । जिल्लाका ६५ हजार भन्दा बढी किसानको भाग्य जोडिएको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना पटक पटक भत्किएपछि बाँकेवासीले छानविनको माग गरेका हुन् ।

आयोजनाको मूल नहरको १०० भन्दा बढी ठाउँमा कामै नलाग्ने गरी भत्किएको छ । पहिलो र दोस्रो चरणमा निर्माण गरिएको सिक्टा बाँधस्थल अगैयादेखि ढकेरीसम्मको ३५ किलोमिटर नहर कामै नलाग्ने गरी भत्किएसँगै आयोजना निर्माणमा भ्रष्टाचार भएको बाँकेबासीको आशङ्का छ । मूल नहरमा कतै जमिन प्वाल परेको छ भने कतै नहरका भिराला झरेको छ ।

नहरको अधिकाँश भागमा कुनै न कुनै समस्या रहेकाले सजिलै पानी बग्ने सम्भावना कम देखिएको छ । अष्टे«लियामा पनि घुलनशील माटोका कारण नहर भत्किने समस्या छ । “नेपाल र अस्ट्रेलियाको माटो र गुण उस्तै छ । उता यस्ता समस्या आउँदा सहजै समाधान भएका छन्,” आयोजना प्रमुख नेपालले भन्नुभयो – “अष्ट्रेलियाको प्राविधिक टोलीले अध्ययन गरेपछि आयोजनामा देखिएका समस्याबारे छलफल गर्छौं ।” रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter