गाईपालनको ‘हब’ बन्दै मेचीनगर
भद्रपुर, जेठ ३० गते । परिश्रम गरेर पैसा कमाउन विदेश जानुपर्दैन भन्ने उदाहरण पेश गर्न सफल भएका छन् झापा मेचीनगर–४ का युवा जमात । दुई दर्जनभन्दा बढी युवाको त्यो समूह गाईपालनबाट परिवारसँगै बसेर मासिक दुईदेखि अढाई लाख रुपैयाँ कमाउन सफल भएको छ ।
मेचीनगर–४ मा मात्र साना–ठूला गरी २६ गाई फार्म छन् । विसं २०६७ सालमा स्थानीय युवा निरोज बोगटीले वैदेशिक रोजगारबाट फर्केर आएपछि गाईपालन व्यवसाय शुरु गर्नुभएको थियो । “शुरुमा बोगटीले काम नपाएर गाई पाल्न थालेछ भन्नेहरुले पछि यही व्यवसाय शुरु गर्नुभयो,” उहाँले भन्नुभयो – “दुई–चार लाख कमाउन विदेश जानुपर्दैन मिहिनेत गर्न सक्दा लण्डन, अमेरिका घरमै छ ।”
हाल उहाँले नियोग अभियान कृषि तथा पशुपालन नामक संस्था नै दर्ता गरेर दुई फार्म सञ्चालन गरिरहनुभएको छ जहाँ १५० भन्दा बढी होलेस्टन जातका गाई छन् । उहाँ दैनिक ९०० लिटर दूध बिक्री गर्नुहुन्छ । उहाँकामा १० युवकले रोजगारी समेत पाएका छन् ।
सोही वडाका ४१ वर्षीय केशव सुवेदीको फार्म अवलोकन गर्न आउनेको यतिबेला दैनिक भीड लाग्ने गरेको छ । उहाँले १२० होलेस्टन जातका गाई पाल्नुभएको छ । व्यावसायिक रुपमा बोगटीबाट प्रेरित भएर व्यवसाय सञ्चालन गर्नुभएको सुवेदीले दैनिक ८००÷९०० लिटर दूध बिक्री गर्दै आउनुभएको छ । सात वर्ष अघि रु सात लाखबाट शुरु गरिएको गाईफार्ममा हाल रु २ करोड भन्दा बढी लगानी भइसकेको छ ।
“अन्य व्यवसायको तुलनामा गाईपालन उत्तम लाग्छ,” उहाँले भन्नुभयो – “प्रदेश सरकारले दिने अनुदान र दैनिक हुने आम्दानीले पनि जो कोही आर्कषित हुने गरेका छन् ।” उहाँलाई पनि सरकारले आधुनिक तरीकाले फार्म सञ्चालन गर्न साइलेस (घाँसलाई कुहाएर दाना बनाउने तरीका) मा ७५ प्रतिशत अनुदान दिएको छ । पाँच विघा आफ्नो र १७ विघा थप जग्गा भाडामा लिएर उहाँले घाँसको लागि मकैखेती गर्नुभएको छ ।
बजारबाट किनेको दाना भन्दा कयौं गुणा बढी पौष्टिक तत्व हुने भएको हुँदा उहाँले घाँसको लागि मकै खेती गरेको बताउनुभयो । वार्षिक प्रतिबिघा रु ४० हजारका दरले लिजमा लिएको जग्गाबाट वर्षमा तीन पटक मकै उत्पादन गरेर साइलेस बनाउँदै उहाँले गाईलाई खुवाउँदै आउनुभएको छ ।
उहाँले रातभर गाईलाई आधुनिक गोठमा बाँधेर राख्ने र दैनिक दिउँसो ८ घण्टा बिरुवा घारीमा लगेर खुल्लै छाड्ने गर्नुभएको छ । “सिमेन्टको भूइँ भन्दा माटोमा बस्न रुचाउँदो रहेछ गाईले,” सुवेदी भन्नुहुन्छ – “विभिन्न तालीममा लिएको ज्ञान र गाईफार्म सञ्चालन गरको अनुभव अनुसार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म खुल्ला छाड्ने गरेको छु ।” गोठदेखि १५० मिटरको दूरीमा उहाँले गाईलाई बस्नका लागि तीन कठ्ठा जग्गामा खमारीको बिरुवा रोपर शीतल छहारी समेत बनाइदिनुभएको छ ।
दैनिक १३ युवकलाई रोजगारी दिँदै आउनुभएका सुवेदीले खर्च कटाएर मासिक अढाईदेखि तीनलाख रुपैयाँसम्म आम्दानी गर्दै आएको बताउनुभयो । उहाँको गाईफार्ममा ‘रातो टीका निधार’ मा भन्ने फिल्मको समेत छायाङ्कन भएको छ ।”
उहाँले गाईफार्म आम्दानीको राम्रो स्रोत भए पनि दक्ष प्रविधिज्ञको भने अभाव रहेको बताउनुभयो । गत वर्ष मात्र खोरेत लागेर उहाँका ३० दुहुना गाई मरेका थिए ।
जिल्लामै पहिलो व्यावसायिक गाईफाम सञ्चालन गर्ने बाहुनडाँगी –४ कै युवा रहेको दाबी गर्नुभयो स्थानीयवासी राजेश बास्कोटाले । “गाईफामबाट घाटा छैन नाफा नै छ,” उहाँले भन्नुभयो – “नशा नशामा गाई कुदेको छ । मनबाटै व्यवसाय गर्दा आम्दानीसँगै सन्तुष्टि पनि मिलेको छ ।”
चार वर्ष कतार बसेर फर्कनुभएका बास्कोटाको फार्ममा १५० गाई छन् । यही वर्षभित्रमा ५०० देखि एक हजार पु¥याउने लक्ष्य छ । त्यसो त उहाँलाई अमेरिकामा रहेका साथीले गाई पालेर नबस्न भन्दै प्रवेशाज्ञासमेत पठाइदिएका थिए । अमेरिकाबाट आएको प्रवेशाज्ञा नै त्यागेर व्यवसायमा लागेको बताउँदै उहाँले भन्नुभयो – “रातभरि सुतेर बिहान उठ्दा घरमै पैसा आइरहेको हुन्छ । किन जानु र अमेरिका ?”
गाईपालनमा युवाको भविष्य उज्ज्वल देख्नु भएको बास्कोटाले कामदार र डाक्टरको भने समस्या झेलिरहनुभएको छ । रु ५ करोड भन्दा बढी लगानी रहेको गाईफामबाट उहाँले मासिक रु तीन लाख भन्दा बढी आम्दानी गर्नुको साथै एक दर्जन युवालाई रोजगारी समेत प्रदान गरिरहनुभएको छ ।
उहाँका अनुसार बाहुनडाँगीलाई सरकारले जसरी मकै, धान, सुपारी र रबरलाई जोन, ब्लक र पकेट क्षेत्र नै छुट्याएर किसानलाई प्रोत्साहन र सुविधा प्रदान गर्दै आएको छ त्यसरी नै बाहुनडाँगी गाईफामको ‘हब’ भएको हुँदा ब्लक नै बनाएर लगानी गर्न आवश्यक छ ।
उहाँहरुले उत्पादन गर्दै आएको दूध मेचीनगरमै रहेको ऋतिका डेरीले घरमै गएर खरिद गर्ने गरेको छ । दुग्ध विकास सङ्घ मेचीनगरका अध्यक्ष समेत रहनुभएका सुवेदीले सरकारले धुलो दूधको कारखाना प्रदेश नं १ कै इटहरीमा बनाउन लागेको हुँदा अब ‘मिल्क होलिडे’ नहुने समेत अपेक्षा गर्नुभयो । अहिले बाहुनडाँगीका गाईपालक किसानहरु सङ्गठित भएर अघि बढेका छन् ।
उहाँका अनुसार जति पनि बाहुनडाँगीका गाईपालक किसान छन् उनीहरुले आफ्नै खर्चमा भारतको पञ्जाब गएर गाईपाल्ने शीप सिकेर आएका छन् । यस्तो तालीमको व्यवस्था सरकारले गरे यस व्यवसायमा अझै युवाको आकर्षण बढ्ने अध्यक्ष सुवेदीको भनाइ छ । पशुुको बीमादेखि कृत्रिम गर्भाधानजस्ता सामान्य विषयमा नगरबाट सहज सेवा उपलब्ध हुनुपर्ने उहाँको माग छ ।
मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले पशुपालक किसानलाई नै लक्ष्य गरेर बाहुनडाँगी–४ मै पशु अनुसन्धान केन्द्र स्थापना गर्न लागेको बताउनुभयो । त्यसको लागि जग्गाको खोजी भइरहेको छ र आगामी वर्षभित्र निर्माण गर्ने लक्ष्य नगरपालिकाको छ । उपप्रमुख उप्रेतीका अनुसार केन्द्रमा पशु डाक्टर, प्रविधिज्ञ र प्रशिक्षकको व्यवस्था गरिने छ ।
मेचीनगर नगरका पशुपालक किसानलाई गोठ र गाईको सङ्ख्या हेरेर रु एक लाखदेखि रु दुई लाखसम्म अनुदान दिने गरेको बताउँदै उप्रमुख उप्रेतीले भन्नुभयो – “अनुदान मात्रले भएन प्रविधिज्ञ र डाक्टरको व्यवस्था गरेर उहाँहरुलाई पशुपालनमा प्रेरित गर्ने योजना छ ।”
उहाँले जिल्लामा सबैभन्दा बढी पशुपालनमा मेचीनगर नै अगाडि रहेको बताउनुभयो । मेचीनगरका १, ३, ९ र ४ मा मात्र ६० भन्दा बढी गाईफार्म रहेका छन् । बाहुनडाँगीकै अर्का युवा सन्तोष सुवेदीले समेत साथीहरुबाट प्रभावित भएर व्यावसायिक गाईपालन शुरु गर्नुभएको छ । उहाँको फार्ममा यतिबेला २५ वटा गाई छन् । एक महिनाभित्र थप ५० वटा गाई भारतको विहारबाट मगाएको उहाँले बताउनुभयो ।
रोजगारीको नाममा लाखौं युुवा विदेशी भूूमिमा गइरहेको अवस्थामा बाहुनडाँगीका युुवा भने आन्तरिक स्वरोजगार बनेर कृषिमा योगदान दिइरहेको बाहुनडाँगी नागरिक समाजका अध्यक्ष नीलकण्ठ तिवारीले बताउनुभयो । अपार सम्भावनालाई महशुुस गरी पछिल्लो चरणमा शिक्षित युुवा जमात नै पशुुपालन पेशामा आकर्षित भएको उहाँको ठम्याइ छ ।
‘केही गरौं, गाउँमै अवसर खोजौं, विदेश त्यागौं’ भन्ने प्रवृत्ति बाहुनडाँगीका युवामाझ बढ्न थालेको छ । बाहुनडाँगी कृषिका लागि उर्बरभूमि भएकाले पशुपालनसँगै यहाँका युवाका लागि तरकारी खेतीबाट बहुआम्दानी गर्न सक्ने राम्रो सम्भावना छ ।
– चन्द्रकला भण्डारी/रासस