बाढी पहिरोमा परी मृतकको संख्या ३४ पुग्यो; राहत एकद्वार प्रणालीबाट वितरण गरिने

काठमाडौं, असार २८ गते । विगत केही दिन देखिको वर्षाका कारण बाढी पहिरोमा परी शनिबार साँझ सम्म ३४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ

बाढी पहिरोमा परी शनिबार साँझसम्म ललितपुरमा पाँच जना, भोजपुरमा चार जना, काठमाडौं, मकवानपुर, खोटाङ र काभ्रेमा तीन÷तीन , धादिङ र सिन्धुलीमा दुई÷दुई जनाको मृत्यु भएको छ

यस्तै पाल्पा, ओखलढुंगा, पर्सा, रामेछाप, ईलाम, झापा, सुनसरी, बारा र चितवनमा एक एक जना गरी जम्मा ३४ जनाको मृत्यु भएको छ ।

बाढी पहिरोमा परेका ९७९ जनाको प्रहरीले सकुशल उद्धार गरेको छ ।

उद्धार गरिएकामा महोत्तरीमा पाँच सय जना, रौतहटमा दुई सय जना, काठमाडौंमा १८५ जना, सिन्धुलीमा ७० जना, उदयपुरमा १० जना, ललितपुरमा आठ जना, सिराहमा दुई जना तथा भक्तपुर, सुनसरी, मकवानपुर र खोटाङमा एक एक जना गरी जम्मा ९ सय ७९ जनाको सकुशल उद्दार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

बाढी पहिरोमा परी सिन्धुलीमा चार जना तथा काठमाडौं, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, धादिङ, ललितपुर, मकवानपुर र भोजपुरमा एक उक जना गरी १६ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ । साथै मकवानपुरमा चार जना, काभ्रेमा दुई जना तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन एक एक जना गरी जम्मा १२ जना घाइते भएका छन् ।

यसैबीच राप्ति नदीमा पानीको सतहले बाँकेको कुसुम क्षेत्रमा पानीले सर्तकता तह पार गरेको र सो नदीको तटीय क्षेत्रमा सर्तकर्ता अपनाउन मौसम तथा जलवायु विज्ञान विभागले आग्रह गरेको छ ।

मृतकको नामावली

पर्सा निखील पटेल)

भोजपुर :जनक वि.क. र जगत बहादुर राई

रामेछाप: पदम कुमारी सुनुवार

सिन्धुली: हेमकुमारी सुनुवार र कार्वन कपारी

काभ्रेपलान्चोक: गोमा दंगाल, सुहावी दंगाल, कृष्णदेवी रायमाझी

ललितपुर:सरोज जिम्वा,अविरल गोले, संन्दिप लोल्हो,

सुवेश बस्नेत, सिता रानामगर, सानु मैया लोल्हो

काठमाण्डौ: सर्मिला यादव, नितु यादव र कुन्दन यादव

धादिङ्ग: अस्मिता तामाङ्ग, राज कुमार ठकुरी

खोटाङ्ग : रेखा राई, रोमन राई र रोहन राई

मकवानपुर : सन्तमाया बलामी र सानुकान्छा सुनुवार)

बारा : विक्कु यादव

ईलाम: मानाहाङ्ग लावती

झापा : ऐलिजा न्यौपाने

ओखलढुङ्गा पासाङपुटी शेर्पा

बाढीले बारामा जनजीवन प्रभावित

अविरल बर्षाका कारण विभिन्न खोलामा आएको बाढी तथा डुवानले बारा जिल्लामा धनजनको ठूलो क्षति भएको छ । बाढी र डुबानले जनजीवन नराम्रोसंग प्रभावित भएको छ ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका, महागढीमाई नगरपालिका, फेटा, देवताल, बिश्रामपुर र परवानीपुर गाउँपालिकाका विभिन्न टोलबाट विस्थापित परिवारलाई उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर–८ रमौली, १० नयाँबस्ती, २४ हरपुर, महागढीमाई गाउँपालिका–३, १० गंजभवानीपुर, फेटा गाउँपालिका–१ त्रिवेणी र रजवटिया, बिश्रामपुर गाउँपालिका–४ बिश्रामपुर, २ तिलढिकी, ३ मुसहर्वाटोलका डुबानक्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ ।

यसैगरि देवताल गाउँपालिका–६ रामपूर्वा, ७ बेनौली टोलका घर डुबानमा प्रभावित भएका करिब पाँच सय घरका परिवारलाई उद्धारपछि सुरक्षित स्थानमा सारिएको जिल्ला प्र्रशासन कार्यालय बाराका प्रवक्ता एवम् प्रशासकीय अधिकृत मुरारी कार्कीले जानकारी दिनुभयो ।

प्रभावितलाई सम्बन्धित स्थानीय तहले नै राहत वितरण तथा खानपानको व्यवस्था मिलाएको प्रवक्ता कार्कीले बताउनुभयो । यस्तै विस्थापित परिवारलाई सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले विद्यालय, धर्मशाला, हेल्थपोष्ट, मस्जिदमा राखिएको छ भने स्थानीयले खानाको प्रबन्ध गरेका छन् ।

बर्षाका कारण बाराको परवानीपुर गाउँपालिका–२ अरबिन्द यादवको डेढ बर्षिय छोरा बिकी यादवको घर पछाडिको नालीमा डुबेर मृत्यु भएको छ । थुनिएको पानी निकासका लागि ठाउँठाउँमा स्थानीयहरु प्रयास गरिरहेका छन् ।

पहिरो खस्दा बन्दबाटाे खाेलियाे

पहिरो खस्दा पथलैया हेटौडा सडकखण्ड दुई घण्टा अवरोध पछि खुलाइर्एको छ । अबिरल बर्षाको कारण जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर–२२ चुरियामाई मन्दिर नजिकैको सडकमा पहिरो खस्दा बाटो बन्द भएको थियो ।

विकासले बिनास निम्तायो

मापदण्ड बिनाको असारे विकासले विकास भन्दा पनि बिनास निम्ताएको स्थानीयले बताएका छन् ।

निर्वाचित जनप्रतिनिधि तथा नेताको आसेपासे रहेका आफन्तले गरेको विकासका काम बिना मापदण्ड रहेका कारण सबैतिर पानीको निकास थुनिएको स्थानीयले आरोप लगाएका छन् ।

ईन्जिनियर, प्राविधिक नराखिकन वा उनीहरुको ईष्टिमेट बिना निर्माण गरिएको नालासहितको बाटोले गर्दा पानीको निकास रोकिएकाले बर्षायाममा सबैले दुःखपाउनु पर्ने अवस्था आएको देवताल गाउँपालिकाका स्थानीय शम्भु साहले बताउनुभयो ।

नगरभित्र उपभोगता समिति मार्फत भएको कुनै पनि विकासका कार्यमा प्राविधिक वा ईन्जिनियर नदेखिएको तथा जथाभावी निर्माण कार्य गरिएको आरोप उहाँले आरोप लगाउनुभयो ।

यसैगरी सिंचाईका लागि खेती योग्यको खुल्ला ठाउँमा समेत रहेको कुलोलाई पुरिदा, मापदण्ड बिनाको बाटो निर्माणगर्दा पानीको बहाव बस्ती भित्र पस्ने गरेको महागढीनगरपालिका–१० का शम्भु साहले बताउनुभयो ।

उनीहरुले जसोतसो गरेको विकासको कामलाई सम्बन्धित निकायले अनुगमण नगर्दा बर्षायाममा सबैपक्षले दुःख भोग्नु परेको हो । एक बर्षको योजना कार्यलाई एकदुई महिनामा सिध्याउनु पर्ने परिपाटी अहिले बाराका अधिकाँस पालिकाहरुमा देख्नसकिने अवस्था आएको छ ।

ढुंगा खस्दा एकको मृत्यु

आठविसकोट नगरपालिका –५ गोतामकोटमा बाटो माथिबाट ढुंगा खस्दा एकजनाको मृत्यु भएको छ । जलीगाडबाट रिम्कातर्फ जाने क्रममा बाटो माथिबाट आएको पहिरोसँगैको ढुंगाले लागेर स्थानीय १६ बर्षीया कौशिला बस्नेतको मृत्यु भएको हो ।

जलिगाडको घरबाट माथिगाउँमा पर्ने रिम्का जाँदै गर्दा पहिरोसँगै आएकोे ढुंगाले लागेपछि बस्नेतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक बस्नेत सरस्वती माध्यमिक विद्यालय आठविसकोट नगरपालिका –५ मिग्रीमा कक्षा ८ मा अध्ययनरत रहेको बताइएको छ ।

भmापामा दुई बालक सहित तीन जनाको मृत्यु

लगातरको बर्षापछि आएको बाढीले शनिबार झापामा एक बालकको मृत्यु भएको छ । यो संगै झापामा बाढीबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार शिवसताक्षी नगरपालिका सालमारा स्थित बनियानी खोलाले बगाउँदा वडा नं. १० का ९ बर्षिय सौगात चापागाँइको मृत्यु भएको छ । घरबाट फुपु दिदिकामा जाने क्रममा खोला तर्दा बगाएर चापागाँइको मृत्यु भएको दाहालले जानकारी दिनु भयो ।

शुक्रबार दमक १० मा ६ बर्षिया एलिजा न्यौपानेको घर अगाडिको भालुखोलाले बगाएर ज्यान गएको थियो । खोलाले बगाउदा गम्भिर घाइते न्यौपानेलाइ उद्धार गरेर दमकस्थित लाइफलाइन अस्पताल ल्याइ पुर्याएपछि मृत्यु भएको प्रहरीले जनाएको छ । बगाएको ठाँउभन्दा ५ सय मिटर टाढा उनलाइ फेला पारिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

यसैगरी शुक्रबार इलामको चुलाचुलीबाट खोला तर्ने क्रममा बेपत्ता हुनु भएका ५० बर्षिय रत्न लावतीको शव कमल गाँउपालिका कमल खोलामा फेला परेको जनाईएको छ । यो संगै जिल्लामा बाढीले बगाएर ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

शिवसताक्षी वडा नं. १० मा कटान तिब्र भएको र ४ घर अति जोखिममा परेकाले स्थानीयलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको बताईएको छ । खोला नै खोला भएको जिल्ला भएकाले धेरै ठाँउमा डु्बान समस्या रहेकाले जिल्लाभर उच्च शर्तकता अपनाईएको झापाका साहयक प्रमुख जिल्ला अधिकारी माधव पोखरेलले जनाउनु भयो ।

उद्धार र राहतमा एकजुट हुन आह्वान राहत एकद्वार प्रणालीबाट वितरण गरिने

सरकारले अविरल वर्षापछि आएको बाढी र पहिराका कारण प्रभावित भएको क्षेत्रमा उद्धार र राहतमा जुट्न सरकारी तथा गैरसरकारी सङ्घसंस्था, सुरक्षा निकाय तथा स्थानीय समुदायलाई आग्रह गरेको छ ।

प्रभावित तथा सम्भावित जोखिममा रहेका व्यक्ति, परिवार तथा समुदायको तत्काल उद्धार तथा सुरक्षित आश्रयस्थलको व्यवस्था अझ प्रभावकारी बनाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, विभिन्न सङ्घसंस्था र समुदायलाई एकजुट हुन आह्वान गरेको हो ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको आजको बैठकले विपद् व्यवस्थापन समितिका विषयगत क्षेत्रलाई प्रभावित र जोखिममा रहेको व्यक्तिको राहत तथा आश्रयस्थलको व्यवस्थापनका लागि परिचालित हुन र संयुक्त राष्ट्रसङ्घ आवासीय प्रतिनिधिको कार्यालयलाई आवश्यक समन्वय गर्न अनुरोध गर्ने निर्णयसमेत गरेको छ ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको विशेष उपस्थितिमा गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेका उक्त बैठकले स्वास्थ्य, खानेपानी, सरसफाइ, आवास समन्वय तथा व्यवस्थापन, शीघ्र पुनर्लाभ, बन्दोबस्ती, सञ्चार, शिक्षा, कृषि, पोषण, संरक्षणको संयुक्त र छुट्टाछुट्टै बैठक राखी कार्य आरम्भ गर्न मातहतका निकायलाई निर्देशनसमेत दिएको छ ।

बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार सम्बन्धित मन्त्रालय, विभाग, सुरक्षा निकाय, मानवीय क्षेत्रमा क्रियाशील सङ्घसंस्था, निजी क्षेत्र समेतलाई आवश्यक स्रोत तथा साधनसहित उच्च सतर्कतामा रहने र आवश्यक उद्धार, राहत तथा प्रतिकार्यमा जुट्न निर्देशन दिएको छ ।

बैठकले आपत्कालीन सामग्रीको मौज्दात राख्न र सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा माग गर्दा उपलब्ध गराउन खाद्य संस्थान, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल रेडक्रस सोसाइटी, मानवीय सहायता समूह तथा सङ्घसंस्था र सरोकारवाला निकायलाई तयारीमा रहनसमेत निर्देशन दिने निर्णय गरेको छ ।

बैठकले स्थानीयस्तरमा स्थानीय तहले र जिल्ला विपद् व्यवस्थापन समितिले तथा प्रदेश सरकारसँग समन्वय गरी तत्काल राहतका कार्य अगाडि बढाउन निर्देशन दिने तथा थप स्रोतसाधनको आवश्यकता परेमा जिल्ला विपद् व्यवस्थापन समितिले गृह मन्त्रालयलाई अनुरोध गर्ने र निर्देशनअनुसार उद्धार र राहतका कार्य सञ्चालन गर्नसमेत आग्रह गरेको छ ।

राहत कार्यमा एकद्वार प्रणालीअनुसार जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा स्थानीय निकायबाट उपलब्ध गराउने, तत्कालीन खाद्यान्न पानी, औषधि, त्रिपालजस्ता अत्यावश्यक वस्तु स्थानीय तह र प्रदेशसँग समन्वय गरी जिल्ला विपद् व्यवस्थापन समितिले उपलब्ध गराउन व्यवस्था मिलाउने निर्णयसमेत उक्त समितिले गरेको छ ।

थप अत्यावश्यक सामग्री र खाद्यान्न आवश्यक पर्दा जिल्ला विपद् व्यवस्थापन कोषबाट रकम खर्च गरी निकासा माग गर्न निर्देशन दिने, अवरुद्ध भएका सडक, पुल, विद्युत्, टेलिफोन, खानेपानी जस्ता आधारभूत आवश्यकताका पूर्वाधार शीघ्र सञ्चालन गराउन तत्काल सम्बन्धित मन्त्रालय, विभाग र कार्यालयले आवश्यक कार्य गर्नसमेत बैठकले सम्बद्ध निकायलाई निर्देशन दिएको छ ।

विषयगत क्षतिको विवरण सङ्कलन गरी विषयगत मन्त्रालय तथा विभागले अद्यावधिक गरी प्रतिकार्य तथा पुनर्लाभका तत्कालीन तथा दीर्घकालीन योजना समन्वयात्मकरुपमा अगाडि बढाउने, नेपालमा विपद् निरन्तर भइरहने भएकाले कुनै पनि पूर्वाधार संरचना निर्माण गर्दा जोखिम संवेदनशीलतालाई मूल प्रवाहीकरण गर्ने व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ । बैठकले विपद्मा परी ज्यान गुमाउनेप्रति चीर शान्ति र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter