तीन वर्षभित्रै कर्णाली करिडोर, सडक निर्माणपछि कर्णालीको विकासमा नयाँ युग सुरु हुने विश्वास

ईश्वरचन्द्र झा / काठमाडौँ, भदौ २ गते । त्रिदेशीय व्यापारिक ‘ट्रान्जिट’का रूपमा उच्च महŒव राख्ने कर्णाली करिडोरको निर्माणले गति पाएको छ । आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त करिडोरको अब ३१ किलोमिटर मात्रै ट्र्याक खोल्न बाँकी छ । सडक विभाग र नेपाली सेनाले एकै पटक छुट्टाछुट्टै खण्डमा कर्णाली करिडोर निर्माण गरिरहेका छन् ।

पर्याप्त बजेट विनियोजन भए चालू आर्थिक वर्षभित्रै करिडोरको ट्र्याक निर्माण पूरा हुने छ । कुल २८४ किलोमिटर करिडोरअन्तर्गत कालीकोटको खुलालुबाट बाजुराको कवाडी हुँदै चिनियाँ सीमा जोड्ने हुम्लाको हिल्सासम्मको पाँच स्थानमा ट्र्याक खोल्न बाँकी रहेको उत्तर दक्षिण व्यापारिक आयोजनाले जनाएको छ ।

हुम्लाका अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेरा भन्नुहुन्छ, “सञ्चार सम्पर्कसम्म नहुने अदानचुलीको गल्फागाड र सर्केगार्ड गाउँपालिकाको जैरको खच्चामा नेपाली सेनाको निर्माण कार्यदलले तीव्र रूपमा काम गरेको देखिन्छ । अब छिट्टै पूरा हुने आशा पलाएको छ ।” २०६५÷६६ देखि सुरु भई २०७० मा करिडोर निर्माण सम्पन्न हुने लक्ष्य राखिएको थियो । तर अपर्याप्त बजेट र भौगोलिक विकटताले कर्णाली करिडोर निर्माणले प्राथमिकता पाउन सकेन । २०७८÷७९ सम्म सम्पन्न हुने संशोधित लक्ष्य तय गरिएको छ ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बजेटले तय गरेको लक्ष्यबमोजिम कार्य हुँदै आएको बताउनुभयो । बजेट विनियोजन र निर्माणको गतिबारे प्रवक्ता पाण्डे भन्नुहुन्छ, “पर्याप्त बजेट पाए काम द्रुत गतिमा हुन्थ्यो ।” विगतमा बजेट विनियोजनमा उच्च प्राथमिकता नहुँदा करिडोर निर्माणले आफ्नो महŒवबमोजिम प्राथमिकता पाउन नसकेको विभागको स्वीकारोक्ति छ ।

कर्णाली करिडोरको महŒवलाई चालू आर्थिक वर्षको बजेटले मात्रै न्याय गर्न सकेको विभागका प्रवक्ता शिवहरि सापकोटा बताउनुहुन्छ । उहाँका अनुसार ओझेलमा परेको कोसी, कालीगण्डकी र कर्णाली करिडोरका लागि चालू आर्थिक वर्षमा करिब पाँच अर्ब रुपियाँ बजेट विनियोजन गरिएको छ । गत आवमा कर्णाली करिडोरका लागि करिब ३५ करोड रुपियाँ मात्रै बजेट विनियोजन गरिएको थियो ।

उक्त करिडोरलाई गत वर्ष प्रदेश सरकारले प्रधानमन्त्री द्रुत मार्ग नामकरण ग¥यो । योजना आयोग र अर्थ मन्त्रालयसित सडक विभागले समन्वय गरी बजेटमा यस करिडोरलाई प्राथमिकतामा राख्न पहल गर्दै आएको पनि प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।

सहकार्यका लागि चीन तयार

कालीकोटको खुलालुदेखि चिनियाँ सीमा जोड्ने हिल्सा समेटिएको कर्णाली करिडोरको निर्माणमा चीन सरकारले देखाएको चासोले पनि उक्त खण्डको व्यापारिक महŒवलाई दर्शाउँछ । चीन सरकारले सुर्खेतदेखि हिल्सासम्मको सडक निर्माणमा चासो देखाएको छ । गत साता मात्रै चिनियाँ प्रतिनिधिले सुर्खेतदेखि हिल्सासम्मको सडकलाई द्रुत मार्गका रूपमा विकास गर्न आफ्नो प्रस्ताव ल्याएको हो ।

कर्णाली करिडोर समेटिने गरी सुर्खेत, दैलेख, कालीकोट, बाजुरा र हुम्लास्थित हिल्सासम्मको लम्बाइ ४०३ किलोमिटर छ र यो सडकको निर्माणपछि कर्णालीको विकासमा नयाँ युग सुरु हुने विश्वास गरिएको छ । प्रारम्भिक अध्ययनबमोजिम उक्त खण्ड बनाउन ६४ अर्ब रुपियाँ लाग्ने अनुमान छ । प्रस्तावबमोजिम निर्माण पूरा गर्न साढे चार वर्ष लाग्ने छ ।

प्रदेशका सामाजिक विकासमन्त्री दाना रावलले दुई ‘लेन’को प्रस्तावित सडक आयोजनाको निर्माण पूरा भए कर्णालीका पाँच जिल्लाको जीवनपद्धतिमा ठूलै परिवर्तन ल्याउने बताउनुभयो ।

मानसरोवर यात्रा सहज हुने

कर्णाली करिडोरको निर्माणलाई लिएर अवधारणा आएदेखि नै स्थानीयवासी उत्साहित छन् । दुई दशकअघि पचासको दशकमा अवधारणा आएपछि कर्णालीवासीमा समृद्धि र जीवनपद्धति फेरिने आशा पनि पलायो । तर निर्माणमा ढिलाइ हुँदा निराश भएका सर्वसाधारणलाई सरकारको चासो र बजेट विनियोजनमा देखाइएको प्राथमिकताले उत्साह थपेको छ ।

नेपालगन्ज विमानस्थल प्रयोग गरेर वार्षिक हजारौँ धार्मिक पर्यटक हुम्लाको सिमकोट हुँदै चीनको मानसरोवर पुग्ने गरेका छन् । मानसरोवरसम्म सडक पहुँच सहज भए धार्मिक पर्यटकको सङ्ख्या उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ । चिनियाँ सीमासित जोडिएको हिल्साबाट मानसरोवरको दूरी करिब १२० किलोमिटर छ । हिल्साबाट मानसरोवरसम्म पुग्न समस्या नहुने धार्मिक पर्यटकलाई कर्णाली छिचोल्न एक मात्र माध्यम हवाई मार्ग हो । करिडोर निर्माणले धार्मिक पर्यटकलाई सस्तो, सुलभ विकल्प उपलब्ध गराउने कर्णालीका सामाजिक विकास मन्त्री रावलको दाबी छ ।

धार्मिक पर्यटनका लागि भारत दक्षिण एसियाकै सबैभन्दा ठूलो बजार हो । सडक यात्रा सहज भएपछि उच्च आय भएका पर्यटकले मात्रै यात्रा गर्ने मानसरोवर मध्यम र निम्न वर्गीयको पहुँचमा पनि पुग्ने छ । मानसरोवरको यात्राका लागि अनिवार्य हुने कर्णाली करिडोरको प्रयोगले यस क्षेत्रमा समृद्धिको द्वार खुल्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावल बताउनुहुन्छ ।

कर्णालीका सामाजिक विकासमन्त्री रावल भन्नुहुन्छ, “पर्यटन, स्थानीय स्रोतसाधनको बजारसम्म सहज पहुँच र त्रिदेशीय व्यापार ‘ट्रान्जिट’ बन्ने अवधारणाले कर्णालीवासी हर्षित छन् ।” भौगोलिक विकटताले हजारौँमा आउने पर्यटक करिडोरको निर्माणले लाखौँ पुग्ने उहाँको विश्वास छ ।

व्यापारमा टेवा

त्रिदेशीय व्यापार गर्न चीनबाट नेपाल हुँदै भारत पुग्ने कर्णाली करिडोर सबैभन्दा छोटो दूरीको हुने दाबी गरिएको छ । कालीकोटको खुलालुदेखि बाजुरा हुँदै हुम्लाको हिल्सासम्म समेटिएको कर्णाली करिडोरले उत्तरी छिमेकी राष्ट्र चीनलाई जोड्ने छ ।

दक्षिणी छिमेकी भारतलाई जोड्ने बाँकेको नेपालगन्ज र चीनलाई जोड्ने हिल्साबीचको दूरी करिब पाँच सय किलोमिटर छ । बजेट पर्याप्त नुहँदा वर्षौंदेखि कछुवाको गतिमा निर्माण भइरहेको कर्णाली करिडोर निर्माणले पछिल्लो पटक तीव्रता पाउँदा त्रिदेशीय व्यापारको सम्भावनालाई थप बलियो बनाएको प्रदेशका सामाजिक विकासमन्त्री रावलले बताउनुभयो ।

सडकको पहुँचलाई आर्थिक समृद्धिको आधारका रूपमा हेरिन्छ । करिडोर निर्माणले स्थानीय उत्पादन, जडीबुटीको पहिचान र पर्यटन व्यवसायलाई फलिफाप बनाउने कर्णालीवासीको विश्वास छ ।

पन्ध्र किलोमिटर भीर चिर्न बाँकी

आर्थिक वर्ष २०६५/६६ देखि निर्माण सुरु भए पनि प्रगति सन्तोषजनक नभएपछि स्थानीयवासीले ट्र्याक खोल्ने कार्य नेपाली सेनाको जिम्मामा दिनुपर्ने माग गरे । मागबमोजिम २०७१ चैतमा कालीकोटको खुलालुदेखि बाजुराको कुवाडी हुँदै हुम्लाको सलिसल्लासम्मको १४५ किलोमिटर ट्र्याक खोल्ने कार्य नेपाली सेनालाई जिम्मा दिइयो । नेपाली सेनाले आफ्नो जिम्माको खण्डको पुनः सर्वेक्षण गर्दा २२ किलोमिटर घट्न गई उक्त खण्ड १२३ किलोमिटर मात्रै भएको छ ।

हाल उक्त खण्डअन्तर्गत कालीकोटको खुलालुदेखि लाइफुसम्मको ८४ किलोमिटर ट्र्याक खुलेर यातायात सञ्चालन भइरहेको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले कवाडीदेखि हुम्लाको सलिसल्लासम्मको ३९ किलोमिटर खण्ड निर्माणाधीन अवस्थामा रहेको बताउनुभयो । प्रवक्ता पाण्डेका अनुसार उक्त खण्डमा १६ किलोमिटर भीर चिर्न बाँकी छ ।

खुलालु सलिसल्ला खण्डको निर्माण कार्यदलका प्रमुख सेनानी इन्जिनियर मिलन कार्कीले चालू आर्थिक वर्षमा बाँकी रहेको १६ किलोमिटरको ट्र्याकको काम पनि पूरा गर्ने बताउनुभयो । उहाँले आगामी आवको सुरुआतसँगै सलिसल्लासम्म सवारी आवागमन हुने दाबी गर्नुभयो ।

कार्कीका अनुसार उक्त खण्डमा कुवाडी खोला छिचोल्न ‘बेली ब्रिज’ लगाउने कार्य आउँदो पुस महिनासम्म भइसक्ने छ । हुम्लाको सलिसल्लादेखि छारेसम्मको करिब २३ किलोमिटरमध्ये १४ किलोमिटरमा ट्र्याक खुलिसकेको छ । छारेदेखि खार्पुसम्मको १५ किलोमिटरमध्ये नौ किलोमिटर र खार्पुदेखि सिमकोटसम्मको १२ किलोमिटर सडक सञ्चालनमा छन् । यसरी सलिसल्लादेखि सिमकोटसम्म मात्र १५ किलोमिटर भीर चिर्न बाँकी छ ।

उत्तर दक्षिण व्यापारिक आयोजनाका प्रमुख शिव नेपालका अनुसार सिमकोटदेखि चिनियाँ नाका हिल्सासम्मको ९५ किलोमिटरमध्ये करिब ३०० मिटर मात्रै ठाडो भीर चिर्न बाँकी छ । हिल्सा सिमकोटमा पाँचवटा पुल निर्माण गर्नुपर्ने देखिएको छ । हिल्सा र तुमकोटमा पुल निर्माण भइसकेको छ । सल्लीमा निर्माणाधीन अवस्थामा छ । सडक आयोजनाका सब–इन्जिनियर वीरेन्द्रबहादुर शाहीका अनुसार हेक्पा र टाक्रुमा निर्माण सामग्री आइसकेको र छिट्टै काम सुरु हुने छ ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter