‘नेपालमा लगानी गर्ने मौका नगुमाउनुहोस्’

काठमाडौँ, भदौ २५ गते । नेपालमा लगानी गर्ने लगानीकर्ताले अन्य मुलुकका तुलनामा राम्रो प्रतिफल लैजाने गरेको तथ्य प्रस्तुत गर्दै सरकारले यहाँ लगानी गरी उचित प्रतिफल पाउने मौका नगुमाउन आग्रह गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसङ्घको संयुक्त आयोजनामा राजधानीमा जारी ‘नेपाल पूर्वाधार सम्मेलन, २०१९’ अन्तर्गतको ‘पूर्वाधार विकास नीति र वित्तीय स्रोत परिचलान’ विषयको सत्रलाई सम्बोधन गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले प्रायःजसो वैदेशिक लगानीमा कम्तिमा पनि २५ प्रतिशतको प्रतिफल प्राप्त भइरहेको भन्दै विश्वपरिवेशमा यस्तो प्रतिफल १० प्रतिशतको हाराहारीमात्रै रहेको बताउनुभयो ।

उहाँले हाल ‘क्रेडिट रेटिङ कम्पनी’हरु आक्रामक रुपमा आइरहेको र नेपालले पनि मुलुकको क्रेडिट रेटिङ गर्ने काम अन्तिम चरणमा रहेको बताउनुभयो । नेपाल सरकारले सामाजिक सुरक्षामा विश्वका अन्य मुलुकका तुलनामा आकर्षक योजना ल्याएको जानकारी दिँदै अर्थमन्त्रीले भन्नुभयो, “नेपालको संविधानले ३० भन्दा बढी मौलिक हकमा कुनै न कुनै सामाजिक सुरक्षालाई व्यवस्था गरेको छ ।”

दीगो विकासका लक्ष्य हासिल गर्न भौतिक, सहरी, जल तथा ऊर्जाजस्ता क्षेत्रमा लगानी बढाउनुपर्ने बाध्यताले सरकारले निजी क्षेत्रको सहभागिता खोजेको उहाँको भनाइ थियो । मन्त्री खतिवडाले मुख्य पूर्वाधारको क्षेत्र सडक, रेलमार्ग, विमानस्थल र पर्यटन पूर्वाधारमा आवश्यक लगानी गरेपछि मात्रै निजी क्षेत्रको प्रवेश सहज हुने बताउनुभयो । जोखिम विविधीकरणका लागि पनि सरकारले निजी क्षेत्रको सहयोग खोजेको भन्दै उहाँले कतिपय पूर्वाधार परियोजनालाई व्यावसायिक मोडेलमा पनि लान सकिने भएकाले यस्ता परियोजनामा सरकारले लगानी गरिरहनु नपर्ने बताउनुभयो ।

लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत राधेश पन्तले नेपालमा गुणस्तरीय लगानीको आवश्यकता रहेको बताउनुभयो । सरकारले सृजनात्मक खालका परियोजनाका लागि थप पहल गर्नुपर्ने भन्दै सार्वजनिक निजी साझेदारीका परियोजनालाई सरकारी आम्दानीको स्रोत बनाउन नहुने उहाँको भनाइ थियो ।

सरकारका तर्फबाट सहुलियत, ‘ग्याप फण्डिङ’, ‘हेजिङ’, ‘ग्रीड बण्ड’जस्ता औजारमार्फत् वैदेशिक लगानी आकर्षण गर्न सक्ने उहाँले बताउनुभयो । केही सफल परियोजनाको कथा विश्वसामु प्रस्तुत गरेर लगानीकर्ताको आत्मविश्वास बढाउन सकिने उहाँले बताउनुभयो ।

विश्व बैंकका उपाध्यक्ष जिङडोङ हुआले नेपालमा निजी क्षेत्र उन्मुख आर्थिक वृद्धि, समावेशीकरण र विविधीकरणका लागि विश्व बैंकले उल्लेखनीय योगदान गरेको बताउनुभयो । हाल विश्व बैंकद्वारा सञ्चालित २५ भन्दा बढी परियोजनाले सक्रीय रुपमा काम गरिरहेको भन्दै उहाँले नेपालमा २.६ अर्ब अमेरिकी डलर बराबरको परियोजना बैंकले अघि बढाएको बताउनुभयो ।

एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले वित्तीय संस्थाले आफ्नो कुल लगानीको २० प्रतिशत हाराहारी पूर्वाधार क्षेत्रमा लगानी गरेको बताउनुभयो । त्यसमध्ये धेरैजसो जलविद्युत् र नवीकरणीय ऊर्जाको क्षेत्रमा लगानी भएको उहाँले बताउनुभयो ।

सरकारको लक्ष्यअनुरुपको आर्थिक वृद्धि हासिल गर्न पर्याप्त लगानीको आवश्यकता रहेको भए पनि वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव भइरहेको उहाँको भनाइ थियो ।

चार्टर्ड एकाउण्टेण्टको संस्था (आइक्यान) का अध्यक्ष तथा कर्मचारी सञ्चय कोषका पूर्वप्रमुख कृष्ण आचार्यले पूर्वाधार विकासका लागि सरकार, निजी क्षेत्र र वित्तीय क्षेत्रको साझेदारी महत्वपूर्ण हुने बताउनुभयो । परियोजनामा आधारित ऋणपत्र, ‘कर्पोरेट बण्ड’ तथा स्थानीय सरकारले जारी गर्ने ऋणपत्रजस्ता नयाँ वित्तीय औजारमार्फत् पूर्वाधारका लागि आवश्यक लगानी जुटाउन सकिने उहाँको तर्क थियो ।

कोरिया विश्वविद्यालयका प्राध्यापक डा ताइ योङ जुङले आफ्नो मुलुक विश्व बजारमा प्रतिस्पर्धी क्षमता विकास गरेर विकसित भएको बताउनुभयो । उहाँले वित्तीय स्रोतको आश्यकता रहेको नेपालजस्तो मुलुकले आफ्नो प्राथमिकताको क्षेत्र पहिचान गरेर लगानीयोग्य वातावरण बनाउनुपर्ने बताउनुभयो ।

निजी ऊर्जा उत्पादकहरुको संस्था (इपान)का उपाध्यक्ष आशिस गर्गले सरकारले निजी क्षेत्रसँग लगानीको उच्च आकांक्षा राखेको भन्दै त्यसअनुरुप उचित वातावरण तयार पार्न नसकेको बताउनुभयो । गत वर्ष निजी क्षेत्रबाट ५०० मेगावाट विद्युत् उत्पादन भएको भन्दै उहाँले लगानीयोग्य वातावरण नभए पनि निजी क्षेत्र सधैं लगानीका लागि तत्पर रहेको बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter