गृह मन्त्रालय भन्छ – १३ सय छाउगोठ भत्काइयाे
काठमाडौँ, पुस २१ गते । छाउपडि उन्मुलनका लागि थालिएको अभियान अन्तर्गत अहिलेसम्म करिब १३ सय छाउगोठ भत्काइएको गृह मन्त्रालयले जनाएको छ । सबैभन्दा बढी अछाममा ९ सय ४९ र सुर्खेतमा ३ सय गरी पुस २० गतेसम्म १ हजार २ सय ७६ छाउगोठ भत्काइएको मन्त्रालयले जनाएको छ ।
सोमबार संसदका महिला तथा सामाजिक समितिमा गृहसचिव प्रेमकुमार राईले प्रस्तुत गरेको तथ्यांक अनुसार बझाङमा ७, दैलेखमा १७, सल्यानमा २ र जाजरकोटमा १ छाउगोठ भत्काइएका छन् । यस वर्षभित्र छाउगोठ उन्मुलन गर्ने अभियान नै सञ्चालन भएको छ । सुर्खेतमा १५ सय छाउगोठ भत्काउन बाँकी रहेको छ । त्यसैगरी अछाममा २ सय ५१ र जाजरकोटमा ४ वटा छाउगोठ भत्काउन बाँकी रहेको सचिव राईले बताए ।
जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरुमा सेवा लिन आउने सेवाग्राहीहरुलाई छाउगोठ राख्न नराख्ने व्यहोराको पत्रमा लिखित हस्ताक्षर गराउने अभियान थालिएको उनले बताए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले गाउँघरमा अझै किशोरी तथा युवतीहरुलाई भोली दुःख हुन्छ भनेर डर देखाउने भएपछि उनीहरु पनि छाउकोठमा जान बाध्य भएको बताए । छाउपडि हटाउने अभियान जारी रहे पनि विभिन्न अदृश्य शक्तिहरुको डर देखाएर तर्साउने गरेको पाइएको उनको भनाई छ ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले छाउपडिविरुद्ध जनचेतनामुलक कार्यक्रम सञ्चालनका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए । त्यसैगरि छाउ भएको समयमा विद्यालय जान नपाउने अवस्थाको अन्त्य गर्न पनि अभियानले सहयोग गर्ने उनले बताए । महिनावारीको समयमा पौष्टिक खानेकुराको उपलब्धताका लागि पनि यस अभियान सार्थक हुने उनको भनाई छ ।
सांसद दुर्गा बहादुर राउतले जनप्रतिनिधिहरुको घरमा नै यस्तो खालको कुप्रथा रहेको उल्लेख गर्दै अभियानको सुरुवात गर्न स्थानीय सरकारलाई सक्रिय बनाउनुपर्ने बताए ।
सांसद लक्ष्मी परियारले कमजोर मानसिकता र गरिबीका कारण छाउपडि प्रथा उन्मुलन हुन नसकेको बताईन ।
सोमबार समितिमा छाउपडि उन्मुलनका लागि भएका प्रयास र परिणाम सम्बन्धमा छलफल भएको हो । कञ्चनपुर, कैलाली, बैतडी, डडेल्धुरा, दार्चुला, डोल्पा, रुकुम पश्चिम लगायतका जिल्लामा छाउगोठ नभएको जानकारी समिति बैठकमा दिइएको थियो ।