प्रहरी महानिरीक्षकद्वारा पदभार ग्रहण; उच्च व्यावसायिकता प्रदर्शन गर्ने छुः प्रहरी महानिरीक्षक

काठमाडौँ, माघ २९ गते । नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले आज प्रहरी प्रधान कार्यालयमा आफ्नो पदभार ग्रहण गर्नुभएको छ ।

गृह मन्त्रालयमा आयोजित एक समारोहबीच गृहसचिव महेश्वर न्यौपानेबाट दज्र्यानी चिह्न प्राप्त गरेलगत्तै उहाँले कार्यकक्षमा पुगेर आज पदभार ग्रहण गर्नुभएको हो । उहाँलाई प्रहरी प्रधान कार्यालयमा प्रहरी अतिरिक्त महानिरीक्षक आशा सिंहसहित, प्रहरी नायब महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृत तथा जवानले स्वागत गर्नुभएको थियो ।

सोही क्रममा उहाँले प्रहरी प्रधान कार्यालय परिसरस्थित मन्दिरमा पूजाअर्चना गर्नाका साथै अमर प्रहरी स्मारकमा पुष्पहार र अमर प्रहरीप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो । मन्त्रिपरिषद्को मङ्गलबारको निर्णयले उहाँलाई आजदेखि लागू हुनेगरी प्रहरी नायब महानिरीक्षकबाट प्रहरी महानिरीक्षकमा बढुवा गरेको थियो । उहाँको कार्यकाल जम्मा पाँच महिनाको छ ।

विसं २०४७ असार २५ गते प्रहरी निरीक्षक पदबाट प्रहरी सेवा प्रवेश गर्नुभएका प्रहरी महानिरीक्षक ज्ञवाली विसं २०५८ वैशाख १८ गते प्रहरी नायब उपरीक्षक, २०६६ मङ्सिर ३ गते प्रहरी उपरीक्षक, २०७३ असार २८ गते प्रहरी वरिष्ठ उपरीक्षक, २०७५ असोज २८ गते प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नति हुनुभएको थियो ।

समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएका प्रहरी महानिरीक्षक ज्ञवालीले विभिन्न ३३ राष्ट्रिय तथा अन्तराष्ट्रिय तालीम लिनुभएको छ । प्रहरी महानिरीक्षक ज्ञवाली दुर्गम सेवा पदक, गद्दी आरोहण रजत पदक, संयुक्त राष्ट्रसङ्घ पदक, वीरेन्द्र ऐश्वर्य सेवा पदक, प्रहरी सेवा पदक, प्रबल जनसेवाश्रीलगायत पदक प्राप्त गर्नुभएको छ । उहाँले उत्कृष्ट व्यावसायिक कार्य सम्पादन गरेबापत दर्जनौँ नगद पुरस्कार तथा प्रशंसापत्रसमेत प्राप्त गर्नुभएको जनाइएको छ ।

उच्च व्यावसायिकता प्रदर्शन गर्ने छुः प्रहरी महानिरीक्षक

गृहमन्त्री रामबहादुर थापाले इच्छाशक्ति भए पाँच वर्षमा हुन नसकेको काम पाँच महिनामा गर्न सकिने बताउनुभएको छ । पदभार ग्रहणपछि गृह मन्त्रालयमा भेटका लागि आउनुभएका प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीलाई कार्यकालको सफलताको शुभकामना दिँदै गृहमन्त्री थापाले भन्नुभयो, “तपाईंको समय थोरै छ तर इच्छाशक्ति देखाउनुभयो भने पाँच वर्षमा हुन नसकेका काम पाँच महिनामा गर्न सकिन्छ ।”

गृहमन्त्री थापाले राज्यले विश्वास गरेर दिएको जिम्मेवारीलाई प्रहरी महानिरीक्षकले इमान्दारीका साथ निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । “चुनौती थुप्रै छ, पूरा गर्न बाँकी रहेका कामलाई सफलतापूर्वक सम्पन्न गर्नुहुनेछ, गृहमन्त्रीको रुपमा तपाईंलाई पूर्ण सहयोग हुनेछ”, गृहमन्त्रीले भन्नुभयो ।

उहाँले सहकर्मीलाई साथमा लिँदै एकताबद्ध भएर काम गर्नसमेत प्रहरी महानिरीक्षकलाई आग्रह गर्नुभयो । मङ्गलबार मन्त्रिपरिषद्को निर्णयले प्रहरी महानिरीक्षकमा बढुवा हुनुभएका ज्ञवालीको कार्यकाल पाँच महिना मात्रै छ । भेटका क्रममा प्रहरी महानिरीक्षक खनालले मन्त्रालयको मार्गनिर्देशनका आधारमा इमान्दारीका साथ उच्च व्यावसायिकता प्रदर्शन गरिने प्रतिबद्धता जनाउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter