देशका विभिन्न भागमा शिलान्यास, स्थानीय उत्साहित

चितवन, मंसिर १५ गते । देशैभरी एकै दिन तीनसय ९६ वटा अस्पताल शिलान्यास हुने कार्यक्रम अन्र्तगत विभिन्न जिल्लाहरुमा अस्पताल निर्माणको लागि शिलान्यास भएका छन् ।

आज सोमबार मात्रै तीनसय दुईवटा अस्पतालको शिलान्यास कार्यक्रम सम्पन्न भइसकेका छन् ।

जनताले देख्ने गरी सरकारले काम गरेको छ – स्वास्थ्य मन्त्री ढकाल

यसै क्रममा चितवनको भरतपुर केन्द्रीय अस्पतालमा सरुवा रोग सेवा भवनको शिलान्यास गर्नुहुँदै स्वास्थ्य तथा जनसङख्या मन्त्री भानुभक्त ढकालले जनताले देख्नेगरी सरकारले काम गरेको बताउनुभएको छ ।

अव देशका हरेक पालिका अस्पताल विहिन नहुने बताउनुभयो । उहाँले भन्नुभयो ‘जनताको खुला आँखाले विकास देख्नेछन्, हरेक पालिकामा शैयासहितको अस्पताल निर्माण हुनेछ ।’ आज हुन नसकेका शिलान्यास कार्यक्रमलाई मंसिर महिना भित्रको समय सीमा उपलब्ध गराइनेछ । यदी त्यो समयमा पनि शिालान्यास हुन सकेन भने यो वर्ष ती अस्पताल निर्माण हुनेछैन । त्यसैले त्यहाँको बजेट निर्माण हँुदै गरेका अन्य अस्पतालमा लगाइनेछ मन्त्री ढकालले भन्नुभयो ।

सरकारले एकै दिन शिलान्यास गरेको अस्पतालको लागि पहाडमा नौ रोपनी र तराईका जिल्लामा कम्तीमा १४ कठ्ठा जमिनको मापदण्ड लगाएको छ । यो मापदण्डमा निर्माण गर्नुपर्नेछ । यदी जग्गा प्राप्त गर्नलाई केही जटिलता भए स्थानीय पालिकाको सिफारिसमा मन्त्रलायले समन्वय गरेर भूमि मन्त्रालयमा प्रकृया पूरा गराएर मन्त्रीपरिषदको निर्णयले समस्यालाई समाधान गर्नेछौैं, मन्त्री ढकालले भन्नुभयो । अव हामी अलमलमा पर्ने छैनौ विकासलाई द्रुत गतिमा लैजाने छौ उहाँको भनाइ थियो ।

मन्त्री ढकालले महामारीको यो चपेटामा पनि आफ्नो आर्थिक हैसियतले जनतालाई उत्कृष्ट सेवा दिन सफल भएको बताउनुभयो । आर्थिक रुपले सम्पन्न देशहरुले पनि राम्रो सेवा दिन नसकेको अवस्थामा नेपाल जस्तो गरीव देशले राम्रो सेवा दिएर सफल भएको दावी गर्नु भयो । उहाले विश्व स्वास्थ्य संगठनले खोपको सिफारिस गर्ना साथ नेपालमा खोप ल्याएर जनतालाई दिन तयारी अवस्थामा सरकार रहेको जानकारी दिनु भयो । विश्वको कुनैपनि मुलुकमा खोपको सुरु हुने वितिकै नेपालमापनि आउन यसमा जनता ढुक्क भएर बस्न आग्रह गर्दछु मन्त्री ढकालले भन्नु भयो । उहाले भन्नु भयो सुरुको अवस्थामा भन्दा अहिले सरकारले धेरै प्रगति गरेको भन्दै कोभिड ल्याब अहिले विभिन्न ७६ स्थानमा स्थापना भएको र एकै दिनमा ३० हजार भन्दा धेरैलाई परीक्षण गर्न सक्ने अवस्थामा पुगेको जानकारी दिनु भयो । अहिले कुल जनताको ६ प्रतिशतलाई परीक्षण गरिसकेको उहाँको भनाइ थियो । अहिले निर्माण हुन लागेको प्रत्येक प्रदेशमा ५० शैयाँको अस्पतालको प्रयोगशाला टेकुको केन्द्रीय प्रयोगशाला सरह विश्वसनीय हुने बताउनु भयो ।

सोमबार शिलान्यास भएको भवन निर्माणको समय सीमा एक वर्षको रहेको छ । जिललाको तीन स्थानीय पालिकामा सोमबार नयाँ अस्पताल भवन निर्माणको लागि सिलान्यास गरिएको छ । भरतपुर महानगरपालिकाको भरतपुर अस्पतालमा ५० शैयाको सरुवा रोग सेवा भवन निर्माण र इमरजेन्सी भवन, राप्ती नगरपालिकाको भण्डारामा ११ करोडको लगानीमा १० शैयाको र खैरहनी नगरपालिकामा १८ करोडको लगानीमा १५ शैयाको भवनको लागि बजेट परेको हो ।

जिल्लाको भरतपुर अस्पतालमा बहुवर्षे कार्यक्रम अन्तरगत ५० शैयाको आधुनिक प्रयोगशाला सहित सरुवा रोग भवन र र ५० शैयाकै इमरजेन्सी भवन, राप्ती नगरपालिकामा सिलान्यास भएको छ । खैरहनी नगरपालिकामा भने जग्गाको अभावमा सोमबार सिलान्यास हुन सकेन । खैरहनी नगर प्रमुख लालमणी चौधरीले जग्गा खोजीका क्रममा रहेकाले सोमबार सिलान्यास हुन नसकेको जानकारी दिनु भयो । जग्गा प्राप्तीपछि शिलान्यास गर्ने बताउनुभयो । कार्यक्रममा कानुन न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डाक्टर भोजराज अधिकारीले भरतपुर अस्पतालको विकास र सम्भावनाका विषयमा मन्तव्य राख्नु भएको थियो ।

जनप्रतिनिधिले शासकीय मनोविज्ञान त्यागी सेवाको भावनाले काम गर्न मन्त्री त्रिपाठीको निर्देशन

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले जनप्रतिनिधिले शासकीय मनोविज्ञान त्यागी सेवाको भावनाले काम गर्नुुपर्ने बताउनुभएको छ । सेवाको भावनाले काम गर्ने जनप्रतिनिधिलाई ब्रहमा, विष्णु र महेश्वरले पनि पतन गर्न नसक्ने स्पष्ट गर्नुभयो । नागार्जुन नगरपालिकाको वडा नं. ७ स्थित नागार्जुन नगर स्त्तरीय रामकोट आधारभूत अस्पतालको सोमवार शिलन्यास गर्दै उहाँले जनप्रतिनिधिप्रति नागरिकको धेरै आशा र अपेक्षा भएकाले सो आशा पूर्ति गर्न केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

संविधानले स्थानीय तहलाई असाधारण अधिकार प्रदान गरेकाले स्थानीय तहका जनप्रतिनिधिले सोही अनुसारको कार्य प्रदर्शन गर्नुपर्नेमा उहाँले स्पष्ट गर्नुभयो ।

आफ्नो सफलता भन्दा पनि अरुको विफलताको पर्खाइको प्रतिक्षामा रहने व्यक्तिको कहिल्यै पनि उन्नती नहुने भन्दै सकारात्मक सोच राखेर काम गर्न उहाँले सबैलाई आग्रह गर्नुभयो ।

सरकारले विकासको गतिलाई तिब्रता दिएको चर्चा गर्दै कोडिभको समयमा पनि विकासको गति नरोकिएको मन्त्री त्रिपाठीले बताउनुभयो ।

नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले नगरपालिकामा जनप्रतिनिधिको कार्य शैलीले गर्दा विकासको गतिमा उल्लेख्य सुधार भएको बताउनुभयो । नागरिका धेरै आशा र अपेक्षा नगरपालिकाले पूरा गरिरहेको भन्दै उहाँले विकासको गतिले नगरपालिकाको मुहार परिवर्तन भएको स्पष्ट गर्नुभयो ।

नगरस्त्तरीय अस्पताल निर्माण कार्य शुरुवात भइसकेको र अस्पताल निर्माण भइसकेपछि नर्सिङ होमले उपलब्ध गराउने सबै सुविधा उपलब्ध गराईने नगरपालिकाले जनाएको छ ।

स्थानीय सरकारले मै हुँ भन्नुहुन्नः मुख्यमन्त्री पौडेल

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संविधानले तीनै तहको सरकारबीच समन्वय गरेर काम गर्ने अख्तियारी दिएकाले “मै हुँ” भन्ने भावना त्याग्न स्थानीय सरकार प्रमुखलाई आग्रह गर्नुभएको छ । पश्चिम मकवानपुरको मनहरी बजारमा मनहरी अस्पतालको सिलान्यास गर्दै उहाँले प्रदेश, संघ र स्थानीय तहबीच समन्वय भएमा मात्र शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा सुधार गर्न सकिने बताउनुभयो । “संविधानले नै तीनै तहका सरकारबीच समन्वय गरेर काम गर्नू भन्ने व्यवस्था गरेको छ”, मुख्यमन्त्री पौडेलको भनाई थियो–“यदाकदा स्थानीय तहका प्रमुखहरुमा संघीय र प्रदेश सरकार झैँ हूँ भन्ने दम्भ देखिएको छ, त्यसले राम्रो गर्दैन ।”

आफै अधिकारसम्पन्न सरकार भएको भन्दै अरुसँग समन्वय नगर्ने, समयमै बजेट सभा नगर्ने र तोकिएको दायित्व पूरा नगर्ने स्थानीय तहहरुलाई दिइने अनुदान यसपटक प्रदेश सरकारले रोक्का गरिदिएको मुख्यमन्त्री पौडेलको भनाई थियो । कार्यक्रममा राष्ट्रिय सभा सांसद रामनारायण बिडारीले संविधानमा प्रशस्त मौलिक हक राखेर नेपालले उत्कृष्ट कानून बनाएको र अस्पताल निर्माण थालेर सरकारले संविधानमा व्यवस्था भएको मौलिक हकको कार्यान्वयन सुरु गरेको बताउनुभयो ।

गाउँपालिका अध्यक्ष एकराज उप्रेतीको सभाध्यक्षतमा सिलान्यास भएको १५ शैयाको अस्पताल कूल १८ करोड लगानीमा निर्माण हुनेछ ।

यसैबीच मकवानपुरको थाहानगरपालिकामा १५ शैयाको थाहा अस्पतालको प्रतिनिधिसभा सदस्य बिरोध खतिवडाले सोमबार सिलान्यास गर्नु भएको छ । १८ करोड ६ लाख ८२ हजार लागतमा बन्ने अस्पताल सिलान्यास कार्यक्रम मेयर लबशेर बिष्टको सभाध्यक्षता तथा प्रदेश सांसद कुमारी मोक्तानको बिशेष आथित्यतासहित नेकपा प्रदेश कमिटी सदस्य महेश्वर सुवेदी, जिल्ला सचिवालय सदस्य बिष्णु बिष्ट लगायत जनप्रतिनिधिहरुको सहभागितामा भएको हो । राक्सिराङ गाउँपालिका ५ ठाडेचुरीमा १० शैयाको अस्पताल सोमबारै ९५ बर्षीया तुलबहादुर चेपाङले एक समारोहमा सिलान्यास गर्नु भएको छ । १० करोड रुपियाँ लागतमा निर्माण हुने अस्पतालले दिने सेवाबाट चेपाङ समुदाय बढी लाभान्वित हुने भएकाले बयोबृद्ध चेपाङकै हातबाट सिलान्यास गराइएको प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले जानकारी दिनुभयो ।

जिल्लाको उत्तर पश्चिम क्षेत्रमा रहेको कैलाश गाउँपालिकामा पनि १० शैयाको अस्पताल बागमती प्रदेश सांसद ओमबहादुर ग्लानले गर्नु भएको छ । १० लाख ५० हजार रुपियाँ लगानीमा निर्माण हुने अस्पतालको सिलान्यास कार्यक्रम गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानको सभाध्यक्षतामा भएको हो । पर्यटकीय क्षेत्र इन्द्रसरोबर गाउँपालिकामा पनि १० शैयाको अस्पताल गाउँपालिका अध्यक्ष जीवन लामाले सिलान्यास गर्नु भएको छ । अस्पतालको लागत ८ करोड रहेको अध्यक्ष लामाले बताउनुभयो ।

पाँच मध्ये चार स्थानीय तहमा अस्पताल शिलान्यास

एक स्थानीय तह एक अस्पतालको सरकारी योजना अनुसार सिन्धुपाल्चोकको चार स्थानीय तहमा एकसाथ शिलान्यास भएको छ । बाह्र स्थानीय तह मध्ये सरकारले अस्पताल निर्माण गर्न बलेफी, लिसंङ्खुपाखर, जुगल, हेलम्वु गाउँपालिकामा र मेलम्ची नगरपालिकामा बजेट विनियोजन गरेको थियो । सोमबार हेलम्वु बाहेक चार स्थानीय तहले एकसाथ अस्पताल निमार्णको शिलान्यास गरेको हो । बलेफी गाउँपालिकामा १८ करोड लगानीमा १५ शैयाको अस्पताल बन्ने भएको छ । सोमबार बलेफी गाउँपालिका १ स्थित जलबिरे प्राथमिक स्वास्थ्य चौकीमा १५ शैयाको अस्पताल शिलान्यास गरिएको छ । बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले अस्पतालको शिलान्यास गर्नुभयो । सरकारको बहुबर्षिय योजना अन्तर्गत १८ करोडको लागतमा निर्माण सम्पन्न हुने १५ शैयाको अस्पतालका लागी यस बर्ष १ करोड बजेट विनियोजन भई आएको र अब टेण्डर प्रक्रिया बाट यही सरकारको पालामा निर्माण सम्पन्न हुने अध्यक्ष क्षेत्रीले बताउनुभयो । त्यस्तै जुगल गाउँपालिकामा १० करोड लागतमा १० शैया, लिसंङ्खुपाखर –७मा पाँच शैयाको अस्पताल शिलान्यास भएको छ । मेलम्ची नगरपालिकामा १५ शैयाको अस्पताल सोमबार नगर प्रमुख डम्वर अर्याले शिलान्यास गर्नुभयो ।

हेलम्वु गाउँपालिकाले भने आज अस्पताल शिलान्यास नगरेको जनाएको छ । केन्द्र सरकारले बजेट र सार्वजनीक स्थलमा अस्पताल निर्माण गर्न सक्ने जानकारि गराए पनि भूवनोट र माटो परीक्षण सम्पन्न नभएकोले शिलान्यास स्थगित भएको गाउँपालिका अध्यक्ष नीमा ग्याल्जेन शेर्पाले जानकारि दिनुभयो । ‘उपयूक्त भूगोल छनौट गरी माटो परीक्षण पश्चात तत्काल निर्माण सुरु गर्नेछौ ।’ शेर्पाले भन्नुभयो । सरकारले आम नागरिकका लागी सहज स्वास्थ्य सेवाका खातिर यो महत्वपूर्ण योजना ल्याएको भन्दै सिन्धुपाल्चोकका स्थानीय सरकारले खुसी ब्यक्त गरेका छन् ।

१५ शय्या अस्पताल निर्माणको शिलान्यास

नेपाल सरकारको नीति अनुसार सोमबार जिल्लाको गौशाला नगरपालिकामा एक कार्यक्रमबीच १५ शय्याको अस्पताल निर्माणको शिलान्यास गरिएको छ । जिल्लाको गौशाला नगरपालिका वडानं. ४ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको जग्गामा आधारभूत अस्पताल निर्माणको शिलान्यास गरिएको गौशाला नगरपालिकाका नगरप्रमुख शिवनाथ महतोले जानकारी दिनुभयो ।

उहाँले सरकारले हरेक स्थानीय तहमा ५ देखि १५ शय्यासम्मको अस्पताल बनाउने गरेको निर्णय वमोजिम गौशालामा समेत १५ शय्याको निर्माण गरिने जानकारी दिनुहुदै तिनवर्ष भित्रैमा अस्पताल निर्माण हुने जानकारी दिनुभयो ।

नगरप्रमुख महतोले सो को शिलान्यास गर्नुहुदै नगरपालिकाका ग्रामिण क्षेत्रमा रहेका वासिन्दाहरुलाई स्वास्थ्य उपचारको लागि बाहिर जानुपर्ने वाध्यता हटने विश्वास व्यक्त गर्नुभयो । उहाँले पहिला पहिला जिल्ला अस्पतालले दिने सेवाहरु यही अस्पतालबाट दिइने वताउनुहँुदै यस कार्यमा सबैको सहयोगको अपेक्षा गर्नुभयो ।

१८ करोडको लागतमा निर्माण गरिने अस्पताल भवनको लागि पहिलो चरणमा तिन करोड २३ लाख रुपैया आइसकेको जानकारी दिनुहुदै नगरप्रमुख महतोले प्राथमिक अस्पताललाई अपग्रेड गर्ने गरि काम गरिने जानकारी दिनुभयो ।

लमजुङका छ स्थानीय तहमा १५ शैयाको अस्पताल

लमजुङका छवटा स्थानीय तहमा १५ शैयाको अस्पताल निर्माण सुरु भएको छ ।

यसअघिको स्वास्थ्यचौकी तथा प्राथमिक स्वास्थ्य केन्द्रलाई आधारभूत अस्पतालको रुपमा स्तरउन्नति थालिएको हो । सुन्दरबजार नगरपालिका, राइनास नगरपालिका, दूधपोखरी गाउँपालिका, क्व्होलासोंथर गाउँपालिकामा १५/१५ शैयाको र मस्र्याङदी गाउँपालिकामा १० शैयाको अस्पताल भवनको सोमबार शिलान्यास भएको छ । सुन्दरबजार नगरपालिका ३ चन्द्रेश्वर प्राथमिक स्वास्थ्य केन्द्रमा बन्ने १५ शैयाको अस्पताल भवनको संविधान सभा सदस्य डा. भिष्मनाथ अधिकारीले शिलान्यास गर्नुभएको थियो । उहाँले स्वास्थ्य नै ठुलो कुरा भएकाले स्वास्थ्यको पहुँच पु¥याउन अस्पतालले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । अस्पताल टाढा हुँदा समस्या पर्ने गरेका नागरिकले अस्पताल बनेपछि सहज महसुस गर्ने बताउनुभयो । समयमै भवन निर्माण गर्नुपर्ने र तत्काल कर्मचारी दरबन्दीको काम अघि बढाउन पहले गर्ने बताउनुभयो । सुन्दरबजार नगरपालिका प्रमुख जनकराज मिश्रले अस्पताल बनेपछि नागरिकले सहज सेवा पाउने बताउनुभयो । उक्त अस्पताल १६ करोड ६ लाख २८ हजार रुपियाँमा बन्न लागेको हो । अस्पताल स्वास्थ्य केन्द्रको नाममा रहेको ९ रोपनी जग्गामा निर्माण हुने छ ।

यस्तै, राइनास नगरपालिका ४ अल्काटारमा चक्रतिर्थ प्राथमिक स्वास्थ्य केन्द्रमा बन्न लागेको चक्रतिर्थ राइनास आधारभूत अस्पतालको नगर प्रमुख सिंहबहादुर थापाले शिलान्यास गर्नुभएको छ । उहाँले अस्पताल बनेपछि नागरिकले भोग्दै आएका समस्या समाधान हुने बताउनुभयो । अस्पतालका लागि टाढा जानुपर्ने, धेरै खर्च गर्नुपर्ने बाध्यता हट्ने बताउनुभयो । यसबर्ष ४ करोडको काम हुने थापाले बताउनुभयो ।

मध्यनेपाल नगरपालिका ३ सूर्यपालस्थित स्वास्थ्य चौकीमा १५ शैयाको आधारभूत अस्पतालको शिलान्यास भएको छ । नगरपालिका प्रमुख रमेशकुमार पाण्डेले सोमबार भवनको शिलान्यास गर्नुभएको हो । मस्र्याङदी गाउँपालिका ७ ङादीको भुलभुले स्वास्थ्य चौकीमा १० शैयाको अस्पताल शिलान्यास गरिएको छ । संविधान सभा सदस्य जमिन्द्रमान घलेले अस्पताल भवनको शिलान्यास गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले स्थानीय सरकार नागरिक नजिक आएपछि स्वास्थ्य संस्था पनि नजिक आएको बताउनुभयो । गाउँघरमै अस्पतालबाट पाउने सेवा पाउने भएकाले यसले नागरिकको जीवनयापनमा सघाउ पु¥याउने बताउनुभयो । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार १० शैया अस्पतालका लागि स्विकृत भएको छ । ८५ लाख बजेटमा अस्पताल भवन निर्माण थालिएको बताउनुभयो । स्वास्थ्यचौकीको नामम २२ रोपनी जग्गा रहेको सोही जग्गामा भवन निर्माण थालिएको उपाध्यक्ष होमबहादुर विकले बताउनुभयो ।

क्व्होलासोंथर गाउँपालिका ९ साल्मेभन्ञ्याङ गिलुङमा निर्माण हुन लागेको १५ शैयाको आधारभूत अस्पताल भवनको शिलान्यास गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बाले गर्नुभएको हो । उहाँले नागरिकलाई तत्काल आवश्यक परेको कुरामा प्रदेशले सहयोग गर्दै आएको बताउनुभयो । गण्डकी प्रदेश सरकार नागरिकको घरघरमा बिजुली, खानेपानी, सडक पु¥याउने कार्यमा रहेको बताउनुभयो । पोखराबाट प्रत्येक गाउँपालिका केन्द्रसम्म ८ मिटर फराकिलो बाटो पु¥याउने, जनताले प्रदेशमै मुट, मृगौला, कलेजो, क्यान्सरको उपचार गर्न मिल्ने गरी अस्पताल बनाउने उहाँले बताउनुभयो । स्वास्थ्य संस्था नहुँदा र दक्ष जनशक्ति नहुँदा नागरिकले अकालमै ज्यान गुमाउन बाध्य भएकाले गाउँपालिकामा १५ शैयाको अस्पताल बन्न लागेको बताउनुभयो । चिकित्सकसहितको टोलीले सेवा दिने भएपछि गाउँघर र विकटका नागरिकलाई सेवा दिन सहज हुने उहाँको भनाई छ ।

गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेका अनुसार अस्पताल भवन १८ करोड ६ लाख ८२ हजार रुपियाँमा निर्माण हुन लागेको हो । अब टेण्डरको प्रक्रिया अघि बढ्ने बताउनुभयो । गाउँपालिकाभित्र नै अस्पताल बनेपछि गाउँपालिकाबासीको स्वास्थ्य सेवामा सहज हुने बताउनुभयो । स्वास्थ्यचौकीको नाममा १० रोपनी ११ आना २ पैसा जग्गा रहेको र सोही जग्गामा भवन निर्माण गर्न लागिएको हो ।

दूधपोखरी गाउँपालिका २ विचौर स्वास्थ्य चाकीमा निर्माण हुने १५ शैयाको अस्पताल भवनको गण्डकी प्रदेश सभा सदस्य मधुमाया अधिकारीले शिलान्यास गर्नुभएको छ । भवनको शिलान्यास गर्दै उहाँले नागरिकको घरदैलोमै अस्पताल बन्ने भएपछि नागरिकलाई टाढा जानुपर्ने र अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता हट्ने बताउनुभयो ।

बारा र पर्सा जिल्लामा थप १५ अस्पतालको शिलान्यास सम्पन्न

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले बाराको झिटकैयामा निर्माण गर्न लागिएको सरुवा रोग तथा महामारी नियन्त्रण अस्पतालको सोमबार एक समारोहका विच शिलान्यास गर्नु भएको छ ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले ५० बेड क्षमताको सरुवा रोग तथा महामारी नियन्त्रण अस्पताल प्रदेशकै लागि गौरवको आयोजना भएको बताउनु भयो । उहाँले भन्नुभयो, ५० बेडको अस्पताल प्रादेशिक गौरवको आयोजना भएको दावी गर्नुभयो ।

मुख्यमन्त्री राउतले संघिय, प्रदेश र स्थानिय सरकारको आपसी सहमति र समन्वयबाट मात्रै विकास र समृद्धि हासिल गर्न सकिने बताउदै विकासको सन्दर्भमा सबै दल एक जुट हुनु पर्ने कुरामा जोड दिनुभयो ।

उहाँले बाराको झिटकैयामा काठमाण्डौको टेकु अस्पताल आएको बताउदै कोरोना सँगसँगै धेरै सरुवा रोगहरु नियन्त्रणमा यो अस्पतलाको भूमिका महत्वपूर्ण हुने कुरामा जोड दिनुभयो । मुख्यमन्त्री राउतले सरुवा रोग तथा महामारी नियन्त्रण अस्पताल सँगसँगै भोली आफू रहे पनि नरहेपनि झिटकैयामा मेडिकल कलेज स्थापना गर्न आफू लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कलैया उपमहानगरपालिका वडा नम्बर १६ मा पर्ने उत्तर झिटकैयामा झण्डै ३३ करोडको लागतमा प्रदेशको पहिलो सरुवा रोग तथा महामारी नियन्त्रण अस्पतालको शिलान्यास भएको हो । कार्यक्रममा संघिय सांसदहरु, प्रदेश सभाका सदस्यहरु, प्रदेशनम्बर २ को सामाजिक विकास मन्त्रालयका सचिव, जिल्ला स्थित प्रहरी प्रशासनका प्रमुखहरुको सहभागिता रहेको थियो ।

यसैगरी आजै बारा र पर्सामा गरि थप १५ वटा अस्पतालको शिलान्यास भएको छ । बाराको करैयामाई गाउँपालिका अन्तर्गत हरैया स्वास्थ्य चौकी, देवताल गाउँपालिका अन्तर्गत पिप्राढी स्वास्थ्य चौकी, प्रसौनी गाउँपालिका अन्तर्गत प्रसौनी स्वास्थ्य चौकी, विश्रामपुर गाउँपालिका अन्तर्गत विश्रामपुर स्वास्थ्य चौकीमा अस्पतालको शिलान्यास गरिएको छ ।

त्यसै गरी बाराको निजगढ, कोल्हबी नगरपालिका तथा फेटा र सुवर्णपुर गाउँपालिकामा समेत अस्पताल भवन निर्माणको लागि शिलान्यास सम्पन्न भएको छ ।

यसैगरी पर्साको ठोरी गाउँपालिकाको ठोरी स्वास्थ्य केन्द्रमा १५ बेडको अस्पतालको शिलान्यास गरिएको छ भने पटेर्वा सुगौली गाउँपालिकाको पटेर्वा सुगौली स्वास्थ्य चौकीमा १० बेडको अस्पताल, जिराभवानी गाउँपालिकाको सेढवा स्वास्थ्य चौकीमा १० बेडको र धोविनी गाउँपालिकाको भिखमपुर प्राथमिक स्वास्थ्य केन्द्रमा १५ बेडको अस्पतालको शिलान्यास गरिएको छ ।

स्वास्थ्य मन्त्रालयले वारा र पर्साका थप १५ वटा अस्पतालको शिलान्यासका लागि यस अघि नै आवश्यक व्यवस्था मिलाएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter