दुई कट्ठा जमिनले फेरियो जीविकोपार्जन
सुरेशकुमार यादव / सिरहा, पुस ५ गते । माटो काट्ने, माटो बोक्ने कामलाई पेसाका रूपमा लिँदै आएका मुसहर समुदाय पछिल्लो समय खेतीपातीमा रमाउन थालेका छन् । उनीहरूले अर्काको खेतमा काम गरे पनि खेतीबाट हुने फाइदा थाहा नभएर खेती किसानीबाट टाढा थिए ।
अहिले भने विभिन्न स्थानीय तहका सरकारले उनीहरूलाई जमिन उपलब्ध गराएपछि अहिले खेतीको रस पाउन थालेका छन् । त्यसमा पनि विभिन्न यन्त्र आएपछि मुसहर समुदायको माटो काट्ने पेसा सङ्कटमा परेको थियो । त्यसपछि उनीहरू अर्काको घर तथा खेतमा मजदुरी गर्ने, माछा मार्ने, जङ्गलबाट दाउरा ल्याएर बेच्ने जस्ता काम गरेर गुजारा गर्थे ।
यसो गर्दा उनीहरू झन् गरिब हुँदै गइरहेका थिए । पछिल्लो समय दलित तथा पिछडिएका समुदायलाई कृषिमा आकर्षित गर्न सरकारले जमिन उपलब्ध गराउन थालेपछि उनीहरू खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् ।
अहिले सिरहा, सप्तरी, उदयपुर, धनुषा, ओखलढु्ङ्गा लगायतका जिल्लामा स्थानीय तहमार्फत खेतीयोग्य जमिन भाडामा लिएर मुसहर समुदायलाई करारमा जमिन दिएर सामूहिक खेती गराउन थालेपछि उनीहरूको जीवनमा निकै परिवर्तन आएको छ । स्थानीय सरकारले अरूको खेत भाडामा लिएर मुसहर समुदायलाई दिएका छन् भने राष्ट्रिय कृषक समूह महासङ्घ लगायतका सङ्घ–संस्थाले अन्य सहयोग गरेर मुसहर समुदायलाई कृषिमा अभ्यस्त बनाउन थालेका छन् ।
माटोसँग खेल्न हामीलाई कुनै समस्या छैन, उदयपुर कटारीका जितनी सदाय भन्नुहुन्छ, माटोमा काम गर्ने हाम्रो पेसा नै हो तर खेती गर्ने तरिका थाह नभएर हामी अन्यत्रै भौँतारिरहेका थियौँ । हामी जुनसुकै माटोलाई टुटाउन र फुटाउन सक्छौँ र त्यसमा खेती गर्न सक्छौँ तर खेती कसरी गर्ने भनी थाहा थिएन । अहिले स्थानीय तहले जमिन उपलब्ध गराएर राष्ट्रिय कृषक समूह महासङ्घले तालिम दिएपछि हामी खेतीमा रमाउन थालेका छौँ ।
यसअघि जङ्गलबाट दाउरा ल्याउने र बजारमा बेचेर त्यसबापत आउने रकमबाट घरको चुलोमा आगो बल्थ्यो, जुन दिन दाउरा बिक्री भएन भोकै सुत्नुपरेको उहाँले विगत सम्झँदै भन्नुभयो, अहिले स्थानीय तहले दिएको दुई कट्ठा जमिनले जीवन नै परिवर्तन गरिदिएको छ, पेटभरि खान पाएका छौँ, बढी भएका बेच्न पनि थालेका छौँ ।
सीता सादय मात्र होइन, त्यहीँकी जितनी सदाय पनि खेती किसानीबाट निकै खुसी हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, हाम्रो काम जङ्गलबाट दाउरा ल्याउने, सहरमा गएर बेच्ने थियो । बिक्री भयो भने त्यो दिनको गर्जो टथ्र्यो, बिक्री नभएको दिन बालबच्चासहित भोकै सुत्नुपथ्र्यो । दाउरा ल्याउन नगएको दिन नदीमा गएर माछा मार्थे, अहिले पहिला जस्तो माछा पनि छैनन् तर अहिले सरकारबाट पाएको दुई कट्ठा जमिनका कारण हाम्रो जीवनको हरेक पाटोमा परिवर्तन आएको छ ।
काम नहुँदा श्रीमान् जहिले पनि कहाँ–कहाँबाट रक्सी खाएर आउनुहुन्थ्यो, कुटपिट गर्नुहुन्थ्यो तर अहिले खेती किसानीमा व्यस्त भएपछि उहाँले रक्सी खान पनि छाड्नुभएको छ, जितनी सदायले आफ्नो अनुभव सुनाउनुभयो । अहिले २४ घण्टा नै खेतमा हुने गरेको बताउँदै उहाँले दुवै जना दिनभरि काम गर्ने र राति पनि जङ्गली जनावरबाट बालीलाई जोगाउन पुरुषहरू खेतमै सुत्ने गरेको बताउनुभयो ।
कटारी हरेयामा १७ घरपरिवार मुसहर समुदायका छन् । तीन चार महिनादेखि सबैको खेती किसानीमै दिन बित्छ । अहिले उनीहरूले तोरीको साग, मूला, साग, धनियाँ, खुर्सानी खेतैबाट बेच्न थालेका छन् । दिनहुँ उनीहरूको हातमा तीन सयदेखि चार सय रुपियाँ आउन थालेको छ ।
उदयपुरका मुसहर समुदाय मात्र होइन । सिरहा भगवानपुरका मुसहर देशकै नमुना समुदाय बनेको छ । उनीहरूको बस्तीमा जाँदा लाग्दैन कि यो मुसहर बस्ती हो । दुई कट्ठा जमिनले मात्र उनीहरूको घरआँगनमै स्वास्थ्य, शिक्षा र रोजगार पुगेको भान हुन्छ ।
उनीहरूले त्यही दुई कट्ठाको कमाइबाट अरू जमिन पनि जोडेका छन् । उनीहरूले खेती गर्न सिकेपछि अरू जमिन भाडामा पनि लिएर खेतीपाती गर्न थालेका छन् । अरूको खेतमा मजदुरी गर्न जान छाडेका छन् । भगवानपुरका गुलावोदेवी सदाय भन्नुहुन्छ, गाउँपालिका र राष्ट्रिय कृषक समूह महासङ्घलाई जति धन्यवाद दिए पनि त्यति कम हुन्छ । उनीहरूले हामीलाई आफ्नो खुट्टामा उभिन सिकाए ।