परम्परागत सीपले गुजार नचलेपछि मौरीपालन व्यवसायमा किसान

करन ताम्राकार / अमरगढी, माघ २० गते । डडेल्धुराको अजयमेरु गाउँपालिका कृषक लक्ष्मी पाठक मौरीपालन व्यवसायवाट छोटो समयमै आम्दानी हुँदा दङ्ग देखिनुहुन्छ । तीस घार मौरीपालन गरिरहनुभएका उहाँको वर्षमा झण्डै रु दुई लाख ५० हजार आम्दानी हुन्छ । “यो व्यवसायवाट सन्तुष्ट छु”, उहाँले भन्नुभयो, “घरपरिवारका सबै सदस्य यसै व्यवसायमा लाग्दा बेरोजगार भएर बस्नुपरेको छैन ।”

उत्पादित मह बजारमा प्रतिकिलो रु ८०० देखि एक हजारसम्म बिक्री हुने गरेको पठकले बताउनुभयो । आलिताल गाउँपालिका–४ जालटुडाकी पुनादेवी कामी पनि व्यावसायिक मौरीपालनमा लाग्नुभएको छ ।

वर्षौंदेखि आफूहरुसँग भएको परम्परागत सीपले गुजार गर्न नसकिने भएपछि यो पेशा त्यागेर मौरीपालन व्यवसायमा रोज्दा आम्दानी पनि भएको उहाँको अनुभव छ । “कृषि ज्ञान केन्द्र कार्यालयले सञ्चालन गरेको युवा लक्षित कार्यक्रमबाट रु एक लाख ८० हजार रकम अनुदान पाएपछि व्यावसायिक मौरीपालन गर्ने हौसला बढ्यो”, उहाँले भन्नुभयो, “२० घार मौरी छन्, एक घारबाट पाँचदेखि सात किलो मह उत्पादन हुने गर्छ ।”

आगामी दिनमा मह उत्पादन वृद्धि गर्दै जाने उहाँको लक्ष्य छ । पछिल्ला वर्षमा डडेल्धुरामा व्यावसायिक मौरीपालनमा आकर्षण बढेसँगै कृषको आम्दानी पनि भइरहेको छ । यो व्यवसायले थौरै भए पनि स्वरोजगारको अवसर सिर्जना गर्न थालेको स्थानीय कृषकको भनाइ छ ।

जिल्लामा वार्षिक ६० मेट्रिक टनभन्दा बढी मह उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र कार्यालयले जनाएको छ । पछिल्लो समय मौरीलाई आवश्यक पर्ने चरन क्षेत्र पर्याप्त देखिएकाले पनि मौरीपालन गरेर मह उत्पादन पनि बढ्दै गएको कृषि ज्ञान केन्द्र डडेल्धुराका निमित्त वरिष्ठ कृषि विकास अधिकृत रामचन्द्र भट्ट बताउनुहुन्छ । “यस जिल्लामा मौरीपालनको सम्भावना ठूलो छ, उत्पादित महले सजिलै बजार पाउने र आम्दानी राम्रो हुने भएकाले कृषक पनि यसतर्फ आकर्षित भइरहेका छन”, निमित्त वरिष्ठ कृषि अधिकृत भट्टले भन्नुभयो ।

जिल्लामा अहिले करीब १० हजार घारमा मह उत्पादन हुने गरेको तथ्याङ्क छ । त्यसमध्ये ६० प्रतिशत पुराना घार र ४० प्रतिशत मात्रै आधुनिक घारमा मौरीपालन हुने गरेको जनाइएको छ । स्थानीय क्षेत्रमा नै मह उत्पादन गर्दा बजार सजिलै पाउने भएकाले यो व्यवसाय सञ्चालन गर्न सहज र आम्दानी राम्रो हुने गरेको अमरगढी नगरपालिका–६ भजनपुरकी मौरीपालक कृषक शोभा भट्ट बताउनुहुन्छ ।

व्यावसायिक मौरीपालन गर्न गराउन कृषि ज्ञान केन्द्रले पकेट क्षेत्र तोकेर कृषकलाई आवश्यक पर्ने घारका साथै व्यवसाय गर्न आवश्यक अन्य औजारमा समेत २५ देखि ५० प्रतिशतसम्मको अनुदान उपलब्ध गराउँदै आएको छ । युवा लक्षित कार्यक्रमतर्फ अनुदान रकमसमेत उपलब्ध गराउने गरिएको छ । जिल्लाभरि ५६० भन्दा बढी कृषक यो व्यवसायमा आबद्ध रहेको जनाइएको छ ।

अमरगढी नगरपालिका ३०० घार, परशुराम नगरपालिकामा एक हजार, आलिताल गाउँपालिका, एक हजार ५००, नवदुर्गा गाउँपालिकामा ४५०, अजयमेरु गाउँपालिका ५०० घार, गन्यापधुरा गाउँपालिका २२५ घार र भागेश्वर गाउँपालिका ५०० घार गरी चार हजार ४७५ आधुनिक, अन्य मुडेघारलगायत क्षेत्रहरुमा मह उत्पादनमा पकेट मानिन्छन् ।

यहाँका कृषकले स्थानीय ‘एपी सेरेना’ जातको मौरीपालन गर्दै आएका छन् । पछिल्लो समय जिल्लामा माहुरीपालन व्यवसाय फस्टाउँदै जाँदा यो व्यवसायबाट कृषकले वर्षेनि करोडौँ आम्दानी गर्न सफल भइरहेका छन् । योसँगै यसमा संलग्न किसानको आर्थिक जीवनस्तरमा सकारात्मक परिर्वतन आएको अनुभव स्वयं कृषकको छ ।

व्यवसाय फस्टाउँदा स्थानीयस्तरमा पहिलेको तुलनामा रोजगारीसमेत सिर्जना भइरहेको छ । यो जिल्ला मह तथा घार निर्यातका लागि मुख्य जिल्लाका रुपमा स्थापित हुन थालेको देखिएको छ । जिल्लामा आधुनिक घारका साथै परम्परागत खोपेघारमा मह उत्पादन भइरहेकोे छ ।

मौरीपालक किसानको समूहगत आम्दानी वर्षनि दशौँ करोड रूपियाँ रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ र मौरीपालनप्रतिको आकर्षणलाई ध्यानमा राखी कृषि ज्ञान केन्द्रले सीप विकास, बजार र चरन प्रवर्धनलाई प्राथमिकतामा राखिएको जनाएको छ ।

सिँचाइ सुविधा नचाहिने र कम लगानीमै व्यवसाय गर्न सकिने तथा उच्च बजार सम्भावना भएकाले यो व्यवसायप्रति आकर्षण बढिरहेको हो । जिल्लाको भित्री मधेश क्षेत्रका आलिताल गाउँपालिका र परशुराम नगरपालिका क्षेत्र मौरीको मुख्य पकेट क्षेत्रका रुपमा छन् । कृषि ज्ञान केन्द्रका अनुसार गत आर्थिक वर्षमा रु तीन करोड ६० लाखको मह र ६७ लाख ९० हजारको मौरीको गोला बिक्री भएको थियो । थौरै मिहिनेतमा पनि मनग्य आम्दानी हुने भएकाले मौरीपालन रोजाइमा पर्न थालेको किसानको भनाइ छ ।

जिल्लामा झण्डै ५६० परिवारले मौरीपालन गर्दै आएका छन् । हरेक वर्ष युवा लक्षित मौरीपालन कार्यक्रमबाट अनुदान उपलब्ध गराउन थालिएसँगै यो कार्यक्रमतर्फ युवाहरुको आकर्षण पनि बढेको छ । यस वर्ष जिल्लाको पकेट क्षेत्रका रुपमा रहेको आलिताल गाविस र गांखेत गाविसमा मौरीपालन गर्न युवा लक्षित मौरीपालन कार्यक्रम छनोट गरिएको जनाइएको छ ।

जिल्लामा उत्पादन हुने मह सुदूरपश्चिम प्रदेश तराईका जिल्ला कैलाली र कञ्चनपुरका साथै पहाडका अन्य जिल्लामा बिक्री हुने गरेको छ । तराईका जिल्लामा पहाडका जिल्लाबाट आउने महको ठूलो माग हुने गरेको छ । कैलालीका स्थानीयवासी चेतराज भट्टले भन्नुभयो, “तराईमा उत्पादन हुने महको तुलनामा पहाडका जिल्लाको महको गुणस्तर निकै राम्रो हुने गरेको छ ।”

डडेल्धुरा जिल्लामा कूल जनसङ्ख्याको १४ प्रतिशत दलित समुदाय छ । दैनिक ज्याला र मजदूरी गरेर दिनचर्या बिताउँदै आएका दलित महिला कृषि ज्ञान केन्द्रले सञ्चालन गरेको युवा लक्षित मौरीपालन कार्यक्रमबाट अनुदान पाएपछि व्यावसायिक मौरीपालनमा सक्रिय हुन थालेका छन् ।

खासगरी जिल्लाको आलिताल गाउँपालिका–४ जालटुडाकी पुनादेवी कामीसहितका दलित महिला यो कार्यक्रमबाट लाभान्वित भइरहेका छन् । मौरीपालनबाट आम्दानी बढ्न थालेपछि कतिपय परिवारले आफ्नो निजी लगानी पनि बढाउन थालेका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Kami Rita scales Everest 25 times; Tourism Ministry appeals not to disseminate fake information

Humla section of Karnali Corridor built in timeframe

Nepal’s Kushal Bhurtel nominated for ICC Men’s Player of the month award

Nepal climbs a notch up in T-20 ranking and ranked 13th

US pledges $8.5 million to Nepal to fight against COVID-19 pandemic




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter