कोरोनाको चुनौतीलाई अवसरमा बदल्दै पाल्पामा सामूहिक आलुखेती

सुशीला रेग्मी / रामपुर (पाल्पा), माघ २० गते । कोरोनाका कारण विश्वमा नै हरेक पेशा तथा व्यवसाय प्रभावित भएको अवस्थामा रामपुरका युवाले भने वैदेशिक रोजगारीको विकल्पमा व्यावसायिक आलुखेती रोजेका छन् । रामपुर नगरपालिका–६ स्थित विजयपुरमा ट्वान्टी ट्वान्टी नामक समूह स्थापना गरी २० जना युवा सामूहिक आलुखेतीमा लागेका हुन् । वैदेशिक रोजगारमा रहँदा कोरोनाको महामारी खेपेका युवा गाउँ फर्केपछि चुनौतीलाई अवसरमा बदल्दै आयआर्जनका लागि आलुखेती गरेका हुन् ।

यहाँका युवाले करिब एक सय रोपनी क्षेत्रफलको जग्गा भाडामा लिएर आलुखेती शुरु गरको हुन् । ट्वान्टी ट्वान्टी समूहमा वैदेशिक रोजगारबाट गाउँ फर्केका, विभिन्न पेशा व्यवसायमा आबद्ध युवामात्र आबद्ध छन् । आलुखेतीमा प्रोत्साहन गर्दै वडा कार्यालयले दश बोरा तथा कृषि ज्ञान केन्द्र पाल्पाले एक सय बोरा जनकदेव र कार्डिनल जातको ५० प्रतिशत बीउ अनुदान उपलब्ध गराएको छ । अहिले युवाले शुरु गरेको आलु खेती उदाहरणीय पनि बनेको छ । एकै ठाउँमा ठूलो क्षेत्रफलमा आलु फलेपछि हेर्न आउने र तस्बिर लिनेहरू पनि बढेका छन् ।

कोभिड–१९ को बन्दाबन्दीको समयमा जापानबाट गाउँ फर्कनुभएका युवा बद्री लम्सालले रामपुरको पहिचान बढाउन र आयस्रोत वृद्धिका लागि युवाहरू मिलेर सामूहिक खेती गरेको बताउनुहुन्छ । “कोभिडले पनि हामी युवामा एउटा ऊर्जा थपिदिएको छ, कोभिडको सङ्क्रमण नभएको भए विदेशमा नै भइन्थ्यो होला, अब गाउँमै बसेर काम र दामका लागि सामूहिक कार्य शुरु गरेका छौँ, हामीले सोचेजस्तो गरी खेती पनि भएको छ”, उहाँले भन्नुभयो ।

विदेशमा दैनिक आठदेखि दश घण्टाको समय काम गर्न बाध्य युवा अहिले घरपरिवारका साथमा रहेर स्वतन्त्ररूपमा काम गर्न पाउँदा उत्साहका साथ कृषिकार्यमा जुटेका छन् । कोभिड–१९ ले विश्वव्यापीरूपमा स्वास्थ्यमा नराम्रो असर पारे पनि आफूहरू जस्ता गाउँका युवालाई भने नयाँ कृषिकार्य गर्ने अवसर सिर्जना भएको कोरियाको रोजगारबाट फर्कनुभएका युवा सन्तोष देवकोटाले बताउनुभयो । सबै क्षेत्रमा आबद्ध रहेका यहाँका युवाले शुरु गरेको सामूहिक आलुखेती नमूना बनेको छ । ब्लक क्षेत्रअन्तर्गत यहाँका विभिन्न महिला समूह, आमा समूह, कृषि समूहले पनि समूहमा नै आलुखेती गरेका छन् ।

सामूहिक कार्यले एक अर्काबीच अनुभव साटासाट गर्ने, नयाँ कुरा सिक्ने अवसर मिलेको आत्मनिर्भर महिला कृषक समूहका उमा भट्टराईको अनुभव छ । विजयपुर कृषि सहकारीले खेती लगाउने समयमा नै मल बीउबिजन उपलब्ध गराएकाले पनि कृषि कार्यमा कृषकलाई सजिलो परेको छ ।

एक सय रोपनी क्षेत्रफलमा करिब छ सय मेट्रिक टन आलु उत्पादन हुने वडा सदस्य तथा ट्वान्टी ट्वान्टी समूहका आलु लगाउने कार्यक्रम संयोजक यमबहादुर भुजेल बताउनुहुन्छ । युवाले आलुखेतीका लागि बीउ अनुदानबाहेक करिब छ लाख बराबरको लगानी गरेका छन् ।

एकै वडाभित्र करीब एक हजार दुई सय रोपनीभन्दा बढी क्षेत्रफलमा व्यावसायिक आलुखेती गरिएको छ । रामपुर नगरपालिका–६ र कृषि ज्ञान केन्द्र पाल्पाको सहयोगमा एकै ठाउँमा लगाइएको आलु फस्टाउन थालेको छ ।

नगरपालिकाको एक वडा एक उत्पादन कार्यक्रमअन्तर्गत वडा नं ६ ले विगतका वर्षदेखि आलु खेतीलाई जोड दिएर बीउमा अनुदान उपलब्ध गराउँदै आएको वडाध्यक्ष हुमनाथ न्यौपाने बताउनुहुन्छ ।

रामपुर नगरपालिकाले पाँच लाख बजेटमा कृषि शाखामार्फत नगरका कृषकलाई पाँच टन आलु ५० प्रतिशत अनुदानमा वितरण गरेको छ । आलु ब्लक क्षेत्र रहेको वडा नं ६ मा वडा कार्यालयमार्फत रु चार लाख सहयोगमा पाँच टन आलुको बीउ वितरण गरिएको छ ।

गतवर्ष रामपुर नगरपालिकाभित्र करीब तीन हजार रोपनी क्षेत्रफलमा आलु ती गरिएको थियो भने यस वर्ष करिब पाँच हजार रोपनीमा आलु लगाइएको छ । ब्लक क्षेत्र रहेकाले पनि यस वर्ष क्षेत्रफल थप गरी कृषकले आलुखेती गरेका छन् ।

यो वर्ष नगरपालिकाभित्र करीब दुई हजार ५०० मेट्रिक टन आलु उत्पादन हुने अनुमान रहेको रामपुर नगरपालिकाका कृषि शाखाप्रमुख रामहरि पाण्डेयले जानकारी दिनुभयो । रामपुर नगरपालिकाले एक वडा एक उत्पादन नीतिअन्तर्गत वडा नं ६ लाई आलु पकेट क्षेत्रका रूपमा विकास गरिरहेको छ ।

रामपुर नगरपालिकामा ३०० मेट्रिक टन क्षमताको शीत भण्डार निर्माण भएकाले पनि भण्डारण गर्न अन्यत्र लैजानुपर्ने बाध्यता हट्ने हुँदा आलु उत्पादनमा जोड दिएको कृषक यमकान्ति गौतम बताउनुहुन्छ । रामपुरमा सबैभन्दा धेरै बीउ आलु उत्पादन गर्ने कृषक गौतमले वर्षेनि २५० बोरा बीउ आलु उत्पादन गर्नुहुन्छ । यो वर्ष पनि उन्नत जातको करीब १२ रोपनी क्षेत्रफलमा आलुखेती गर्नुभएको छ । उहाँले अहिलेसम्म रामपुरमा उत्पादन भएको आलु बीउ भण्डारणका लागि भैरहवाको शीत भण्डारमा पठाउने गर्नुहुन्छ । यस पटक ४० हजार गाडी ढुवानी खर्च गरेर भैरहवा शीत भण्डारणमा राखिएको बीउ आलु ल्याएर रामपुरका कृषकलाई वितरण गर्नुभएको छ ।

पाल्पा जिल्लामै ठूलो क्षमता भएको शीत भण्डार रामपुरमा निर्माण भएकाले यस वर्ष ढुक्कका साथ कृषकले खेती लगाएका छन् । अघिल्ला वर्षमा बाली उत्पादन भएपछि भण्डारणकै समस्याले पिरोल्ने गथ्र्यो । घरदैलोमा नै निर्माण भएको शीत भण्डारणमा आलु राख्ने योजनाका साथ ठूलो क्षेत्रफलमा कृषकले खेती गरेका हुन् । यस पटक उत्पादन भएको आलु नयाँ शीत भण्डारणमा राखेर शुरु गर्ने योजना रहेको रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य बताउनुहुन्छ । यहाँ ठूलो परिमाणमा आलुखेती हुने भएकाले कृषकलाई भण्डारण गर्न सहज हुनेछ ।

पाल्पाको रामपुर, रैनादेवी छहरा, तानसेनको अर्गली, बगनासकालीको दैलातुङफाँट, रम्भाको हुँगी, खोकखोला, पीपलडाँडा, तिनाउँ, पूर्वखोला र माथागढी गाउँपालिकाको केही क्षेत्रमा आलुखेती गरिएको छ ।

जिल्लामा सरदरमा वार्षिक करीब ११ हजार मेट्रिक टन आलु उत्पादन हुने गरेको छ भने प्रति हेक्टर उत्पादकत्व ११ मेट्रिक टन रहेको छ । यस वर्ष कृषि ज्ञान केन्द्र पाल्पाको सहयोगमा रामपुर नगरपालिका–६ मा आलु ब्लक कार्यक्रम सञ्चालन भएकाले करीब ११ हजार ६० मेट्रिक टन उत्पादन हुने अनुमान छ । जिल्लामा करिब एक हजार १५० हेक्टर क्षेत्रफलमा आलुखेती गरिँदैछ ।

कोभिड–१९ को सङ्क्रमणले गर्दा अघिल्लो वर्षको तुलनामा यो वर्ष क्षेत्रफल बढाएर कृषकले आलुखेती गरेको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्याल बताउनुहुन्छ । ठूलो क्षेत्रफलमा आलु खेती गर्ने कृषकलाई प्रोत्साहनस्वरुप अनुदान उपलब्ध गराएको उहाँको भनाइ छ । ब्लक कार्यक्रमअन्तर्गत कार्यालयले पाल्पाको रामपुरमा करिब ६०० रोपनी क्षेत्रफलमा रु २३ लाख अनुदान सहयोग गरेको छ ।

“रामपुरमा यो वर्ष ठूलो क्षेत्रफलमा आलुखेती हुँदैछ, सानो सानो क्षेत्रफलले व्यवसायिकीकरण नहुने हुँदा कृषकलाई आयआर्जन वृद्धि गर्ने गरी ठूलो क्षेत्रफलमा गर्न कार्यालयले अनुदान सहयोग पनि गरिरहेको छ, कृषकले मापदण्डअनुसार खेती गर्न चाहेमा कार्यालयले सहयोग गर्नेछ”, प्रमुख अर्यालले भन्नुभयो ।

ज्ञान केन्द्रको जिल्लाका दशवटै पालिकामा एक पालिका एक ब्लक कार्यक्रम यो वर्ष सञ्चालन भइरहेको छ । जसमा रामपुर नगरपालिकामा आलुखेती, निस्दी गाउँपालिकामा सुन्तला, पूर्वखोला र बगनासकाली गाउँपालिकामा अदुवा, माथागढी र तिनाउ गाउँपालिकामा धान, रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकामा तरकारी खेती र तानसेन नगरपालिकामा गाईपालन कार्यक्रममा छनोटमा परेको छ ।

रम्भा गाउँपालिका भने शुरुमा लिचीलाई ब्लकका रूपमा कार्यक्रम सञ्चालन गर्ने बताए पनि लिचीको सट्टा अन्य बालीमा ब्लक कार्यक्रम गर्ने भएकाले त्यसको लागि बाली छनोट प्रक्रियामा नै रहेको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ । वैदेशिक रोजगारीका क्रममा विश्वका विभिन्न देशमा रहेका युवा कोभिड सङ्क्रमणको महामारीले गर्दा बेरोजगार भई घर फर्किन बाध्य छन् । विदेशमा अहिले पनि कोभिडको सङ्क्रमण नघटेकाले उनीहरू पुनः विदेश फर्किन सक्ने अवस्थामा पनि छैनन् । त्यसैले यो समयको सदुपयोगका साथै स्वरोजगारका लागि पनि युवाहरू कुनै न कुनै आयआर्जनमा सहभागी भइरहेका छन् ।

यसमध्ये अधिकांश युवा खेतीपातीका अर्थात् कृषि र्ममा बढी लागेको देखिएको छ । पाल्पाका पनि विभिन्न पालिकाहरूमा यस्ता उदाहरणीय कृषिकर्म गरी अरू पनि बेरोजगार युवालाई आकर्षित गर्ने खालका कार्यक्रमहरू सञ्चालनमा छन् । रामपुरको यो आलु खेती पनि एक उदाहरण हो । यस आलु फार्ममा आउने गरेका युवाहरूले पनि यस्तै उदाहरणीय केही कृषिकर्म गर्ने बताउने गरेका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Humla section of Karnali Corridor built in timeframe

Nepal’s Kushal Bhurtel nominated for ICC Men’s Player of the month award

Nepal climbs a notch up in T-20 ranking and ranked 13th

US pledges $8.5 million to Nepal to fight against COVID-19 pandemic

NOC says there won’t be shortage of petroleum products despite prohibitory orders




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter