वातावरण विनाशका कारक छन् ‘मानवीय व्यवहार’

नारायण ढुङ्गाना / काठमाडौँ, जेठ २२ गते । काठमाडौँको वाग्मती नदीलाई नालाका रुपमा प्रयोग गरी घरबाट निस्किएको फोहर पानी सिधै हाल्ने क्रम अहिले पनि जारी छ । यहाँको पानी सफा गर्ने वर्षाै देखिको प्रयास सफल हुन सकिरहेको छैन ।

पानीको उपचार (प्रशोधन) नगरी फ्याँक्दा वाग्मती मरेको नदीका रुपमा परिणत भएको भन्नुहुन्छ जलस्रोत व्यवस्थावनका विज्ञ डा दिवसबहादुर बस्नेत । यहाँ भइरहेको सरसफाइ अभियानको सन्दर्भ जोड्दै उहाँले भन्नुभयो, “वाग्मती सफा गर्न त थालियो तर फोहोर फाल्नु हुँदैन भन्ने अभियान चल्न सकेन ।”

त्यसका कारण सफाइ गर्न थालिएको सयौँ हप्ता बितिसक्दा सामान्यबाहेक वाग्मतीको पानीमा सुधार आउन सकेको छैन । वास्तवमा भन्ने हो भने वातावरणमा असर परिरहेको छ भन्ने जानेर पनि मानिसमा व्यवहार परिवर्तन नआउँदा समस्या यथावत छ । वातावरण विरुद्धको यो त एउटा सानो तथ्य हो । मुलुकको पारिस्थितिकीय प्रणालीमा कति नकारात्मक प्रभाव परिरहेको छ भन्ने कुरा उक्त तथ्यले उजागर गर्छ ।

गिट्टी–बालुवा उत्खननका कारण मुलुकका चुरे पहाड ढलेर बगरमा परिणत भइरहेका छन् । मलिला जमीन कङ्क्रिटमा परिणत छ । उर्वर भूमि सङ्कटमा परिरहेको छ । पानीका मुहार र स्रोत सुक्दैछ । अधिक र न्यून वर्षाका कारण कतै अनावृष्टि तर कतै अति वृष्टि छ । जथाभावी वन विनाश भइरहेको र विकास निर्माणका काम योजनाविहीन हुँदा बाढीपहिराका प्रकोपले बर्षेनि ठूलो जनधनको क्षति भइरहेको छ । यी सब हुनुमा मानव नै प्रमुख कारण भएको वातावरणविद्को ठम्याइ छ ।

विश्व वातावरण दिवसको आजको सन्दर्भ जोड्दै डा बस्नेत हिमाल, पहाड र तराईका पारिस्थितिकीय प्रणालीका आ–आफ्नै महत्व रहेको र त्यसलाई बचाइराख्नु आजका लागि चुनौतीको विषय भइरहेको बताउनुहुन्छ ।

प्राकृतिक स्रोत साधन मानव जीवनका लागि अमूल्य सम्पत्ति हो । त्यसैकारण पृथ्वीमा मानवीय अस्तित्व बाँकी छ । त्यसैले यसलाई जोगाइराख्नु मानवको पहिलो कर्तव्य हो । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा दिनेशराज भुजु प्राकृतिक पारिस्थितिकीय प्रणालीको विकल्प बनाउनै नसकिने बताउनुहुन्छ । “प्रकृतिलाई चुनौती दिन, नक्कल गर्न असम्भव छ, हामीले वातावरणलाई बचाइराख्नुपर्छ”, डा भुजुले भन्नुभयो ।

विज्ञका अनुसार गाँस, बास र कपासका लागि स्रोतको सदुपयोग गर्दा यसबाट हुने नकारात्मक असरलाई कसरी न्यूनीकरण गर्ने भन्ने सन्दर्भ भुल्न हुन्न । “त्यसका लागि योग्य व्यवस्थापन जरुरी छ, जल, जमीन र जैविक प्रणालीको उचित एकीकृत व्यवस्थापन अबको आवश्यकता हो”, डा बस्नेतले थप्नुभयो ।

खोलामा बाँध लगाएर मात्रै नहुने त्यसका लागि खोलाको पनि उचित निकासको व्यवस्थापन हुनुपर्छ । एकीकृत योजनाबाट नै त्यो सम्भव रहेको उहाँले बताउनुभयो । पछिल्लो समयमा विपद् आउनुमा पनि कतिपय मानवीय कारण जोडिएको छ । जथाभावी सडक निर्माण गर्ने, प्राकृतिक स्रोतको दोहोन गर्ने काम मानिसबाटै भएको छ । डा बस्नेत त्यस्ता विपद् रोक्न प्रकृतिमा आधारित उपाय अपनाउ जरुरी रहेको बताउनुहुन्छ ।

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंह विश्वकै वातावरण र पारिस्थितिकीय प्रणाली कमजोर भइरहेको र वातावरणमा असर बढ्दो रहेको भन्दै चिन्ता प्रकट गर्नुहुन्छ । मानव बाँचिरहने प्रणाली शुद्ध भएन भने मानव अस्तित्व नै खतरा पर्ने उहाँको भनाइ छ । “बढ्दो वातारवणीय असरलाई कम गर्दै प्राकृतिक स्रोत साधनलाई पुरानै अवस्थामा कसरी फर्काउने भन्ने कुरा महत्वपूर्ण विषय हो”, डा सिंहले भन्नुहुन्छ ।

उहाँका अनुसार पृथ्वीमाथि हामीले विजय प्राप्त गर्नुअघि त्यो सम्भव छ कि छैन भनेर सोच्नुपर्छ । पृथ्वीलाई बचाउने कसरी ? अनि हामी कसरी बाँच्ने भन्ने कुरामा एकीकृत योजना आवश्यक छ । कर्णालीको प्राकृतिक स्रोतलाई मुलुककै ‘भर्जिनल्यान्ड’का रुपमा परिभाषित गर्ने डा सिंह मनोविज्ञानलाई प्राकृतिकसँग जोडेर धेरै अनुसन्धान अघि बढाउन सके वातावरण संरक्षणमा सकारात्मक परिणाम आउने आशा गर्नुहुन्छ ।

उहाँ प्रकृति जोगाउन मानवीय व्यवहारमा समेत परिवर्तन आउनुपर्नेमा जोड दिनुहुन्छ । “पृथ्वी बचाउनतर्फ लागौँ, पारिस्थितिकीय प्रणालीलाई कमजोर बनाउनबाट रोकौँ, त्यसका लागि मानवीय व्यवहार परिवर्तन गर्दै जानुपर्छ”, उहाँले भन्नुभयो ।

मनोविज्ञानकी प्राध्यापक नेपाल मनोवैज्ञानिक सङ्घकी अध्यक्ष उषाकिरण सुब्बा बढ्दो जनसङ्ख्यासँगै पर्यावरणमाथि चाप परिरहेको सन्दर्भमा प्राकृतिक स्रोतको स्तर बढाउनतर्फ लाग्नुपर्ने बताउनुहुन्छ । नत्र त्यसले मानिसको जीवन संरचना नै प्रभावित पार्ने उहाँको बुझाइ छ । वातावरण जोगाउन मानिसले व्यवहार परिवर्तन गर्नैपर्नेमा उहाँको पनि जोड छ ।

“पर्यावरण परिवर्तन र प्राकृतिक प्रकोप लगायतले मानिसमा प्रतिकूल असर पार्दा भविष्यप्रति निरासा, मानसिक तथा शारीरिक समस्या उत्पन्न हुन्छ, त्यससँग जुध्न मनोवैज्ञानिक सहयोगको आवश्यकता हुन्छ”, सुब्बाले भन्नुभयो, “पर्यावरण पुनस्र्थापन गर्न मनोविज्ञान र वातावरण विज्ञानलाई जोडेर अघि बढ्नुपर्छ ।”

पूर्वमन्त्री एवं इन्जिनीयर डा गणेश शाहले विकासले विनाश गर्दा प्राकृतिक असन्तुलन बढिरहेकातर्फ सचेत गराउँदै वातावरण जोगाउन पनि मानसिक अवस्था र मानवीय व्यवहार परिवर्तन जरुरी रहेको औँलयाउनुभयो । कानून तर्जुमा गरिरहे पनि विकासभन्दा विनाश बढी हुँदा खतरा कायमै रहेको उहाँको तर्क छ ।

त्रिभुवन विश्वविद्यालयका प्राडा नन्दिता शर्मा वातावरण र व्यक्तिबीच अन्योन्याश्रित सम्बन्ध रहेकाले हामी मात्र बाँचेर हुन्न आउने पुस्ता पनि बाँच्नुपर्छ भन्ने सोचको विकास गर्नु आजको आवश्यकता औँल्याउनुहुन्छ ।

विश्व विातावरण दिवसका सन्दर्भमा आज नेपाल मनोवैज्ञानिक सङ्घले वातावराण र मनोविज्ञानलाई जोड्ने प्रयत्नस्वरुप भर्चुअलका माध्यमबाट विज्ञबीच गराएको अन्तरक्रियामा विज्ञले सोचमा परिवर्तनको खाँचो औँल्याउनुभएको छ ।

सङ्घका उपाध्यक्ष मनोविद् डा नरेन्दसिंह ठगुन्ना मनोविज्ञानलाई वातावरणसँग कसरी जोड्न सकिन्छ एउटा प्रयास गरिएको जनाउँदै आगामी दिनमा वातावरण संरक्षण र विकाससँग मनोविज्ञानलाई जोड्नका लागि यो शुरुआत हुने बताउनुभयो । उहाँले मनोविज्ञान र वातारणलाई एकीकृत गरी मानवीय जीवनसँग जोड्ने विषयमा काम गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

सन् १९७२ मा शुरु भएको वातावरण संरक्षणको सोचको उपलब्धिस्वरुप सन् १९७४ देखि विश्व वातावरण दिवस मनाउन थालिएको हो । यसपालिको नारा ‘पारिस्थितिकीय प्रणालीको पुनःस्थापना’ भन्ने छ । विश्वभर नै सन् २०२१ देखि ३१ को एक दशकलाई वातावरण पुनःस्थापन दशककै रुपमा मनाइँदैछ । रासस

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

TOP NEWSview all

Nepal’s proposal to graduate from LDC status to be presented in UNGA for endorsement

World Bank to provide US $ 60 million to strengthen Nepal’s higher education

32,500 metric ton Urea arrives in Nepal

Writ petition filed in Supreme Court against reshuffle of cabinet

Nepal Army officer Bista receives commendation from UN




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter