विदेशी कूटनीतिज्ञ भन्छन् : पोखराको सुन्दरता लोभलाग्दो

वासुदेव पौडेल /जमुना वर्षा शर्मा / गण्डकी, असोज ११ गते । विश्व पर्यटन दिवसको दिन सोमबार बिहानै पोखराको मौसम खुलेको थियो । लामो समय कोरोना कहरले थलिएको यहाँको पर्यटनलाई टेवा पुगोस् भन्ने हेतुले पर्यटन बजारमा सकारात्मक सन्देश प्रवाह गर्न गण्डकी प्रदेश सरकारको निमन्त्रणामा आइतबार नै नेपालका लागि विभिन्न ११ देशका राजदूतसहित विशिष्ट कूटनीतिज्ञ पोखरा आइसक्नुभएको थियो ।

आइतबार पोखरा विमानस्थलमा गरिएको स्वागतसँगै साँझ गण्डकी प्रदेश सरकारद्वारा आयोजित रात्रिभोजमा सरिक विशिष्ट पाहुनाका लागि विश्व पर्यटन दिवसका अवसरमा सोमबार प्रकृति र संस्कृतिका विभिन्न पक्षहरू दृश्यावलोकन गराउन अन्नपूर्ण गाउँपालिकाको नागडाँडादेखि कास्कीकोटसम्मका लागि करिब तीन घण्टा दूरीको हाइकिङ आयोजना गरिएको थियो ।

खुलेको मौसमका कारण बिहानै टलक्क टल्किएका माछापुच्छ«ेसहितका हिमाल भने कुटनीतिज्ञहरू ९ः०० बजे नागडाँडामा पुग्दा बादलसँग लुकामारी गर्न थालिसकेका थिए । कतै बादलले छेकेको त कतै देखिएका हिमाली दृश्यले त्यहाँ पुग्ने जो कोही मक्ख देखिन्थे ।

कुटनीतिज्ञको टोलीमा सहभागी नेपालस्थित युनेस्कोका प्रतिनिधि माइकल क्रफ्टका लागि यो पोखराको पहिलो भ्रमण थियो । पोखराको बारेमा सुने पनि उहाँलाई आउने अवसर भने मिलेको थिएन । विश्व पर्यटन दिवसका अवसरमा हाइकिङमा सहभागी बन्दै माइकल कास्कीकोटबाट बादलभित्रबाट लुकामारी गरिरहेका हिमशृङ्खलालाई कैद गर्न व्यस्त देखिनुहुन्थ्यो । पोखराको बारेमा सुने पनि आउने अवसर बल्ल मिलेको भन्दै खुसी देखिएका उहाँले भन्नुभयो, “म प्राकृतिक सम्पदासँगै संस्कृतिमा रमाउन मन पराउँछु, नेपालमा यो सबै छ, अझ पोखराको प्राकृतिक सुन्दरता त निकै लोभलाग्दो रहेछ ।”

माइकलले यहाँबाट फर्किएपछि आफ्ना दुई सन्तान र श्रीमतीलाई लिएर छिट्टै पोखरा आउने वाचा गर्नुभयो । “मलाई निकै सुन्दर लाग्यो, परिवारसहित छिट्टैै आउँछु, कोभिड १९ ले धेरैलाई घुम्न डुल्नबाट वञ्चित गरायो, अब सावधानी अपनाएर घुमघाम गर्नुपर्छ”, उहाँले भन्नुभयो । सम्बन्धित क्षेत्रले दीगो पर्यटनको विकासका लागि जोड दिन आवश्यक रहेको औँल्याउँदै उहाँले कोभिडका कारणले चुनौतीका साथै अवसर पनि थपेको उल्लेख गर्नुभयो ।

नेपालका लागि फिनल्याण्डका राजदूत पर्टी एन्टीनेनले बिहान उठ्ने बित्तिकै माछापुच्छ्र«ेको हिमशृङ्खलाले आफूलाई निकै लोभ्याएको बताउनुभयो । उहाँले नाम जस्तै पोखरा निकै सुन्दर रहेको प्रतिक्रिया दिनुभयो । तीन वर्षअघि सेप्टेम्बरमा पोखरा आएको अनुभव सुनाउँदै उहाँले जति आए पनि पोखरा आइरहन मन लाग्ने शहर भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालको अरु ठाउँभन्दा पोखरा विशेष लाग्छ, तिहारपछि फेरि पोखरा आउने योजना छ, म अन्नपूर्ण रेञ्जको पदमार्गमा जानेछु ।”

उहाँले पोखरा पर्यटकीय गन्तव्य भएको जनाउँदै बिहान उठ्नासाथ हिमाल माथिमाथि बादलहरू उडिरहेको दृश्य हेर्न, लेकसाइड घुम्न र बारहरू जान पनि आफूलाई मन पर्ने अनुभव सुनाउनुभयो । “नेपाल र यहाँको सन्दर्भमा पर्यटन महत्वपूर्ण छ, यसलाई अझै विकास गर्न जरुरी छ”, उहाँले भन्नुभयो, “कोरोना हराइसकेको छैन तसर्थ अझै सावधानी अपनाउन जरुरी छ, कोरोनाको महामारीमा नेपाललाई मेरो देशले पनि सहयोग गरेको छ ।”

(सार्क) का महासचिव इसाला रुवान विराकुनले आफ्नो देश श्रीलङ्काका कूटनीतिक नियोगका पदाधिकारीसहितको यो भ्रमण निकै फलदायी लागेको बताउनुभयो । “पोखरा मलाई निकै मन पर्ने ठाउँ हो, परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डले यो अवसर हामीलाई जुराइदिएकामा आभारी छौँ”, उहाँले भन्नुभयो ।

श्रीलङ्का र नेपालका धेरै सांस्कृतिक एवं धार्मिक कुरा मिल्ने जनाउँदै उहाँले कोभिड–१९ ले दक्षिण एशियाली देशहरुको अर्थतन्त्रमा निकै प्रभाव पार्नुका साथै पर्यटन क्षेत्र झनै प्रभावित भएको बताउनुभयो । श्रीलङ्काका नागरिकले पनि नेपाल मन पराउने र बुद्धको देश भनेर चिन्ने गरेको उल्लेख गर्दै उहाँले आफू पनि बुद्ध धर्मावलम्बी भएको बताउनुभयो । नेपालमा सांस्कृतिक र धार्मिक पर्यटकलाई जोडेर पर्यटन विकास गर्न सकिने बताउँदै विराकुनले यही अक्टोबरबाट प्रत्येक मङ्गलबार र शनिबार काठमाडौँ–कोलम्बो उडान हुने जानकारी दिनुभयो ।

विदेशी राजदूतसहितका विशिष्ट कूटनीतिज्ञको पोखराको भ्रमण यहाँको पर्यटकीय विकासका लागि महत्वपूर्ण हुने गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ज्ञानेन्द्र पौडेलले बताउनुभयो । कोरोनाले प्रभावित पर्यटनलाई पुरानै लयमा फर्काउन यो भ्रमण फलदायी हुने विश्वास लिइएको उहाँको भनाइ छ ।

यस भ्रमणले पोखरा घुम्नका लागि खुल्ला तथा सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई बताउनुहुन्छ । विश्व पर्यटन दिवसका अवसरमा गरिएको यो कार्यक्रमले विश्व पर्यटन बजारमा महत्वपूर्ण प्रभाव पार्ने बताउँदै उहाँले यसले सम्पूर्ण पोखरेली पर्यटन व्यवसायीलाई उत्साही बनाएको बताउनुभयो ।

कोरोना कहरले थलिएको पर्यटनलाई अघि बढाउनु अहिलेको आवश्यकता भएको भन्दै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख काशीराज भण्डारीले यो उच्चस्तरीय भ्रमण यहाँका लागि महत्वपूर्ण अवसर भएको बताउनुभयो । विदेशी कूटनीतिज्ञको भ्रमणले पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने उहाँको भनाइ छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter