विद्युत् निर्यात अनुमतिः पहिलो चरणमा ३९ मेगावाट भारत निर्यात हुँदै

रमेश लम्साल / काठमाडौँ, कात्तिक १६ गते । नेपालले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत् व्यापारका लागि अनुमति पाएको छ । भारतको विद्युत् मन्त्रालयको सहमतिमा अन्तरदेशीय विद्युत् व्यापारका लागि स्वीकृति दिने निकायले सोमबार नेपाल विद्युत् प्राधिकरणलाई भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा विद्युत् बिक्री गर्न अनुमति दिएको छ ।

पहिलो चरणमा प्राधिकरणको स्वामित्वमा नुवाकोटमा सञ्चालमा रहेका २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट विद्युतगृहबाट उत्पादित ३९ मेगावाट विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइआइएक्स)मा बिक्री गर्न अनुमति दिइएको हो ।

दुई विद्युतगृह उत्पादित विद्युतलाई स्रोत मानी भारतीय बजारमा बिक्रीका लागि अनुमति दिइएको छ । प्राधिकरणले आज राति १२ बजेबाट ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनमार्फत विद्युत् निर्यात सुरु गर्ने छ । हाल यो लाइनबाट विद्युत् आयात मात्र भइरहेको छ ।

नेपालले भारतीय ऊर्जा एक्सचेन्ज (आइआइएक्स)मा विद्युत् खरिद गरी आयात गर्न यसअघि नै अनुमति पाइसकेको छ । प्राधिकरणले गत १७ वैशाखबाट आवश्यक परेको बेला आइआइएक्समार्फत प्रतिस्पर्धी दरमा विद्युत् आयात गर्दै आएको हो । निर्यातको अनुमति पाएसँग नेपाल र भारतबीचको विद्युत् व्यापार नयाँ चरणमा प्रवेश गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले भारतीय ऊर्जा एक्सचेन्ज बजारबाट विद्युत् बिक्री र खरिदका लागि प्रवेश गर्ने नेपाल दक्षिण एसियाकै पहिलो राष्ट्र बनेको बताउनुभयो । “राजनीतिक, कूटनीतिक र प्रशासनिक तहको निरन्तरको प्रयासबाट नेपालमा खपत गरेर जगेडामा रहेको विद्युत् बिक्रीका लागि अनुमति पाएका छौँ, यो दुई मुलुकबीचको ऊर्जा व्यापारका लागि एउटा कोसेढुङ्गा हो”, उहाँले भन्नुभयो ।

“हामीले प्रस्ताव गरेका ४५६ मेगावाटको माथिल्लो तामाकोसी, ६९ मेगावाटको मस्र्याङ्दी र ४५ मेगावाटको माथिल्लो भोटेकोसी विद्युत्गृहबाट उत्पादित विद्युत्को भारतीय बजारमा बिक्रीको अनुमति छिट्टै पाउने अपेक्षा गरेका छौँ”, मन्त्री भुसालले थप अगाडि भन्नुभयो । दुई मुलुकबीचको विद्युत् व्यापारलाई अहिलको अवस्थासम्म पु-याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्बन्धित सबै सरोकारबाला निकायलाई धन्यवादको पात्र भएको उहाँले बताउनुभयो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् निर्यातका लागि भारतीय पक्षबाट सहमति प्राप्त भएसँगै नेपाल–भारतबीचको सम्बन्धमा थप इँटा थपिएको बताउनुभयो । नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि लामो समयको प्रयासपछि नेपालको विद्युत् भारतीय बजारमा निर्यात सुरु भएसँगै नेपालका जलविद्युत् विकासको ठूलो ढोका खुलेको छ । उहाँले भन्नुभयो, “विद्युत् निर्यातको सुरुआत थोरै परिमाणबाट भए पनि चाडै नै हामीले प्रस्ताव गरेका माथिल्लो तामाकोसीलगायतका अन्य आयोजनाको विद्युत् पनि भारतीय बजारमा निर्यात हुने विश्वास लिएका छौँ ।” उहाँले विद्युत् व्यापार सम्बन्धमा विभिन्न चरणमा दुई मुलुकका निकायबाट भएको पहल तथा सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभयो ।

भारतको केन्द्रीय विद्युत् प्रणालीअन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट) मा नेपालले विद्युत् बिक्री गर्ने छ । प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म एक्सचेन्ज बजारमा बिक्री गरिने विद्युत्को परिमाणसहित बिडमा प्रतिस्पर्धा गर्ने छ ।

विद्युत् प्रणालीमार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’का आधारमा विद्युत्को प्रतियुनिट बिक्री दर तय हुनेछ । प्रतिष्पर्धी दर तय भएपछि रातिको १२ बजेदेखि अर्को दिनको रातको १२ बजेसम्म अर्थात् २४ घण्टा विद्युत् निर्यात हुने छ । भारतमा कोइलाको मूल्य बढ्दा एक्सचेन्ज मार्केटमा प्रति युनिट विद्युत्को मूल्य २८ भारतीय रुपैयाँ ९भारु०सम्म पुगेको थियो ।

प्राधिकरणको तर्फबाट एक्सचेन्ज बजारको सम्पूर्ण कारोबार नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय एनटिपिसी विद्युत् व्यापार निगम (एनभीभीएन)ले गर्ने छ । एनभीभीएनले हरेक दिनको कारोबारसम्बन्धी विवरण प्रत्येक दिन साँझ ६ बजे प्राधिकरणलाई पठाउनेछ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter