म्यादी प्रहरीमा तीन गुना बढी आवेदन, सबैभन्दा धेरै मधेश प्रदेशमा

काठमाडौं, चैत १३ गते । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एक लाख म्यादी प्रहरी माग गरिएकोमा दुई लाख ९३ हजार ३१२ जनाको आवेदन परेको छ ।

स्थानीय तह निर्वाचन प्रयोजनका लागि माग गरिएको एक लाख म्यादी प्रहरीमा झन्डै तेब्बर संख्यामा आवेदन परेको हो । प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार शुक्रबार अन्तिम दिनसम्म दुई लाख ९३ हजार ३१२ जनाले आवेदन दिएका हुन् ।

सातै प्रदेशका जिल्ला प्रहरी कार्यालयहरु मार्फत् निवेदन दिन सक्ने व्यवस्थासहित चैत ६ देखि ११ गतेसम्मका लागि म्यादी प्रहरीमा भर्ना खोलिएको थियो ।

प्रहरीको तथ्यांकअनुसार आवेदन दिनेमा मधेश प्रदेशको जनकपुरमा सबैभन्दा बढी ६८ हजार छ जनाको आवेदन परेको छ । त्यसपछि लुम्बिनी प्रदेशमा ५६ हजार ५६०, प्रदेश नं.१ को विराटनगरमा ५० हजार ९४४, सुदूरपश्चिम प्रदेशमा २९ हजार ७१४, बागमती प्रदेशमा २६ हजार ८३४, गण्डकीमा २५ हजार ५० र सबैभन्दा कम उपत्यकामा १३ हजार ९५० आवेदन परेको छ ।

यसअनुसार प्रदेश नं.१ मा १७ हजार ८३१, मधेस प्रदेशमा २१ हजार ६९८, बाग्मती प्रदेशमा १९ हजार ३६३, गण्डकी प्रदेशमा १० हजार ६२५, लुम्बिनीमा १६ हजार ९८, कर्णालीमा सात हजार ७१३ र सुदूरपश्चिममा नौ हजार ९३७ र काठमाडौं उपत्यकामा चार हजार ७३५ म्यादी प्रहरीमा माग गरिएको थियो ।

भर्ना खुल्ला गरिएको पहिलो दिनदेखि नै आवेदन दिनेको भीड लागेको थियो । ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत् आवेदन दिन सकिने व्यवस्था मिलाइएको थियो । म्यादी प्रहरीको छनोट प्रक्रिया चैत १५ बाट सुरु हुनेछ । चैत २२ गते अन्तिम नतिजा प्रकाशन गरेर २८ गतेबाट प्रशिक्षण सुरु हुनेछ । छनोट भएका म्यादी प्रहरीलाई सात दिन तालिम दिएर खटाउने तयारी छ ।

भर्नाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) बाट उपदान ÷ निवृत्तिभरणमा निस्किएका पूर्वसुरक्षाकर्मी, पूर्ववनरक्षक, विदेशस्थित सुरक्षा निकायबाट अवकाश ÷ उपदानमा निस्किएका, यसअघि म्यादीमा काम गरेका र २०७८ साउनदेखि सुरक्षा निकायमा भर्ना आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्णलाई म्यादी प्रहरीको छनोटमा प्राथमिकता दिइने छ ।

यसका लागि ४० दिनको कार्यावधि तोकेर प्रतिव्यक्ति पारिश्रमिक एकमुष्ट तीस हजार २४०, पोसाक बापत छ हजार, रासन बापत एकमुष्ट सात हजार २०० र एक पटकका लागि सवारी खर्चबापत प्रतिव्यक्ति एक हजारका दरले रकम विनियोजन हुने गरी म्यादी प्रहरीको सुविधा निर्धारण गरिएको छ ।

म्यादी प्रहरीलाई बीमालगायतको सुविधा छ । नेपाल प्रहरीले एक लाख म्यादी प्रहरी भर्नाका लागि आवेदन खुलाएको हो । आवेदन दिनेले फौजदारी अभियोग नलागेको, कुनै राजनीतिक दलको सदस्य नभएको, शारीरिक र मानसिकरुपले तन्दुरुस्त नेपाली नागरिक हुनुपर्नेछ ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter