हैदराबाद हाउसमा नेपाल भारतबीच चार वटा सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौं, चैत १९ गते । नयाँदिल्लीस्थित हैदराबाद हाउसमा नेपाल भारतबीच चार वटा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तीनदिने भारत भ्रमणका क्रममा शनिबार नेपाल र भारतबीच चार वटा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

हैदराबाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा दुई देशका प्रतिनिधिमण्डलबीच उक्त सम्झौतमाहस्ताक्षर भएको हो ।

नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसम्बन्धी प्रविधिक सहयोग, पेट्रोलियम पदार्य आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल कार्पोरेसनबीच प्रविधि विज्ञता आदानप्रदानसम्बन्धी सम्झौता भएको हो ।

त्यस्तै, प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीले नेपाली रेलको भर्चुअल उद्घाटन गर्नुभएको छ । दुवै देशका प्रधानमन्त्रीले हरियो झण्डा देखाएर रेल उद्घाटन गर्नुभएको हो ।

तीन हवाई रुट उपलब्ध गराउन प्रधानमन्त्री देउवाको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदी समक्ष थप तीन वटा हवाई रुट उपलब्ध गराउन आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले महेन्द्रनगर, नेपालगञ्ज र जनकपुरबाट थप हवाई रुट उपलब्ध गराउन माग गर्नुभएको हो । नयाँदिल्लीको हैदराबाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

‘हामीले नागरिक उड्डयनको विषयमा पनि छलफल गरेका छौं । हामीले नेपालको आग्रहअनुसारको नेपाल प्रवेशको थप हवाईमार्ग माग गरेका छौं ।,’ भारतीय समकक्षी मोदीसँगको भेटवार्ता सो विषयमा छलफल भएको जानकारी दिनुहुँदै उहाँले महेन्द्रनगर, नेपालगञ्ज र जनकपुरबाट थप हवाई रुट माग गर्नुभएको हो ।

त्यस्तै, भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनका लागि सहयोगका लागि पनि प्रधानमन्त्री देउवाले आग्रह गर्नुभएको छ ।

नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई प्रधानमन्त्री देउवाको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा लगानीको वातावरण सहज भएकाले ऊर्जा, पूर्वाधार, पर्यटनजस्ता क्षेत्रमा लगानी गर्न भारतीय लगानीकर्ता, उद्योगी एवं व्यवसायीसँग आग्रह गर्नुभएको छ । भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री देउवाले भारतीय व्यापारिक समुदायसँगको अन्तरक्रियामा नेपालमा भारतीय लगानी बढाउन र भारततर्फको निर्यात सहजीकरणका लागि सरकार सकारात्मक रहेको उल्लेख गर्नुभयो ।

उहाँले भारतले २१औँ शताब्दीको आर्थिक विकासमा फड्को मार्दै गरेको हुँदा नेपालमा लगानी गर्न र दुई देशबीचको आर्थिक सम्बन्ध अझ विस्तार गर्ने सम्भावना प्रशस्त रहेको बताउनुभयो । कोभिड मारामारीका कारण आम जनजीवन र अर्थतन्त्र नराम्ररी प्रभावित बनेको अवस्थामा विदेशी लगानीलाई आकर्षित गर्न सरकारले सबै आवश्यक नीतिगत सहजता प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भ्रमणका क्रममा भएका विभिन्न सम्झौताले विद्युत् आदानप्रदान र रेल सेवा सञ्चालनमा सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री देउवाले नेपालमा ठूला जलविद्युत् आयोजनाको निर्माण गरी भारतलगायत छिमेकी मुलुकमा ऊर्जा व्यापार गर्न सकिने सम्भावना रहेकाले यस क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो ।

कन्फिडरेसन अफ इण्डियन इन्डिष्टिज ९सिआइआइ० ले आयोजना गरेको उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले जलविद्युत्, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधिलगायत सेवा क्षेत्रमा प्रशस्त सम्भावना रहेको बताउनुभयो । पछिल्ला वर्षमा भारतीय लगानी घटिरहेको सन्दर्भमा यसलाई बढाउन नेपाली निजी क्षेत्रले सहजीकरण गर्ने बताउनुभयो ।

सो अवसरमा सिआइआइका अध्यक्ष टीभी नरेन्द्रनले नेपाल भारतीय लगानीकर्ताका लागि आकर्षक गन्तव्य भएको र नेपालमा लगानी बढाउन सहजीकरण गर्ने बताउनुभयो । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले लगानीका लागि भइरहेका प्रयासबारे जानकारी गराउनुभयो ।

कार्यक्रममा करिब ३० भारतीय बहुराष्ट्रिय कम्पनीको सहभागिता रहेको थियो भने विभिन्न करिब १५ कम्पनीका प्रमुख कार्यकारी अधिकृतले नेपालमा लगानीका सम्भावनाबारे चासो र अनुभव प्रस्तुत गर्नुभएको थियो ।

यसैबीच महासङ्घ र सिआइआइका पदाधिकारीबीच सहकार्य विस्तार, संयुक्त परियोजनाको कार्यान्वयन, नेपाल भारत लगानी एवं व्यापार सहजीकरणका विषयमा छलफल भएको थियो । सो छलफलमा अध्यक्ष गोल्छासहित निवर्तमान अध्यक्ष भवानी राणा, पूर्वअध्यक्ष एवं विशिष्ट सदस्य पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, उपाध्यक्ष अन्जन श्रेष्ठ एवं रामचन्द्र सङ्घाइ तथा कार्यसमिति सदस्य हेमराज ढकाललगायतले भारतीय लगानीका क्षेत्र र सम्भावनाका बारेमा बोल्नुभएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter