माघे सङ्क्रान्तिको नजिकिएसँगै बढ्यो तिल, चिउरा र सख्खरको व्यापार
विजयकुमार साह / पुस २८ गते । नेपालका हरेक चाडपर्वको आफ्नै किसिमको विशेषता छ । फरक–फरक चाड पर्वमा नेपालीले खाने परिकार पनि फरक–फरक हुने गर्दछ । यसैगरी, नेपाली समुदायले मनाउने माघे सङ्क्रान्ति नजिकिएसँगै बजारमा तिल र चिउरा, भुजा र सख्खरको व्यापार बढेको छ । माघ १ गते मनाइने माघे सङ्क्रान्तिमा तिल, चिउरा, भुजाको लड्डु, चाकु र तरुल खाने चलन छ ।
यस दिनलाई तराई–मधेश क्षेत्रमा तिला सङ्क्रान्तिको नामले मनाइन्छ । तिला सङ्क्रान्ति नजिकिएसँगै धनुषालगायत तराई–मधेशको हाटबजारमा तिल, चिउरा, भुजा र सख्खर खरिद र बिक्री पनि बढेको छ ।
मिथिलामा यस पर्वमा बिहानै नुहाएर सख्खर (मिट्ठा) पकाएर तयार पारिएको रस (पाक) मा मिसाएर बनाएको तिल, चिउरा, भुजाको लड्डु खाने चलनले गर्दा यतिखेर यहाँका स्थानीय बजारमा यी सामान खरिद बिक्री गर्नेको निकै भीड देखिएको हो ।
धनुषाको सखुवाबजार, ढल्केवर, विरेन्द्रबजार, सबैला, जनकपुरधामलगायत साना तथा ठूला हटियामा अन्य दिनको तुलनामा यतिबेला चिउरा, भुजा र सख्खर बिक्री गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।
चिउरा प्रति किलो ६० र भुजा एक सय रुपियाँमा बिक्री भइरहेको छ भने अन्य दिन दुई सयदेखि २२० रुपियाँसम्म बिक्री भइरहेको छ । यसैगरी, तिल तीन सयदेखि ३२० रुपियाँसम्म बिक्री भइरहेको सखुवा बजारका व्यापारी शान्ति देवीले बताउनुहुन्छ ।
यस्तै, सख्खरको मूल्यमा पनि वृद्धि भएको छ । अरु दिनमा ६० देखि ७० रुपियाँमा बिक्री भइरहेको सख्खर माघे सङ्क्रान्ति नजिकिएसँगै ९० देखि एक सय रुपियाँमा बिक्री भइरहेको सख्खर व्यापारी मनोज साहले जानकारी दिनुभयो ।
माघे सङ्क्रान्तिलाई लक्षित गर्दै धनुषाको मिथिला नगरपालिका–२, हजारा चौकस्थित राजदेवी मिलले अहिले दैनिक छ हजार किलोग्राम चिउरा र सात हजार किलोग्राम भुजा उत्पादन गरिरहेको छ । सामान्य दिनमा भने दैनिक चार हजार किलोग्राम चिउरा र पाँच हजार किलोग्राम भुजा उत्पादन गर्दैआएको मिल सञ्चालक सागर साहले बताउनुभयो ।