राष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय स्थापना : १३ गते उम्मेदवारी दर्ता

काठमाडौं, फागुन ८ गते । काठमाडौंको नयाँ बानेश्वरस्थित सङ्घीय संसद् परिसरमा राष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय सोमबार स्थापना भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कार्यालयको उद्घाटन गर्नुभएको हो ।

आयुक्त थपलियाले निर्वाचनका लागि आयोगका तर्फबाट मतदाता नामावलीको अन्तिम सूची आज कार्यालयलाई उपलब्ध हुने र कार्यालयले स्वीकृत निर्वाचन कार्यक्रमअनुसार यही फागुन १० गते मतदाता नामावली प्रकाशन गर्ने बताउनुभयो ।

उहाँले पछिल्लो राष्ट्रिय जनगणनाको प्रतिवेदन प्राप्त भइनसकेकाले विद्यमान कानुनअनुसार २०६८ सालकै राष्ट्रिय जनगणनाको परिणामलाई आधार मानी यस निर्वाचनमा मतभार कायम गरिएको जनाउनुभयो ।

निर्वाचन आयोगले गत माघ १६ गते राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको थियो । सो कार्यतालिका अनुसार फागुन २५ गते बिहीबार राष्ट्रपति निर्वाचनको कार्यक्रम तय भइसकेको छ । राष्ट्रपतिको निर्वाचनपछि निर्वाचन प्रक्रिया अघि बढ्ने गरी उपराष्ट्रपति पदको निर्वाचन मिति चैत ३ गते तय गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालय, काठमाडौंका प्रमुख निर्वाचन अधिकारी ठाकुरप्रसाद अधिकारीका अनुसार राष्ट्रपति निर्वाचनका लागि न्यायाधीश महेश शर्मा पौडेल नियुक्त भइसक्नुभएको छ ।

राष्ट्रपति निर्वाचनका लागि फागुन १० र ११ गते मतदाता नामावलीमाथि दाबी, विरोध, उजुरीलगायतको काम, फागुन ११ र १२ गते उजुरी उपर छानबिन गर्ने र अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्य तालिका छ ।

यसैगरी, फागुन १३ गते राष्ट्रपति पदका उम्मेदवार मनोनयन गर्ने र सोही दिन साँझ उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यतालिका छ । यस्तै, १४ गते उम्मेदवारको विरुद्धमा उजुरी दिने र १५ गते साँझसम्म उजुरीमा छानबिन गरी निर्णय गर्ने र उम्मेदवारको नामावली प्रकाशन गर्ने, १६ गते उम्मेदवारले नाम फिर्ता लिने र साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने गरी फागुन २५ गते राष्ट्रपतिको निर्वाचनका लागि मतदानको कार्यतालिका तय भएको हो ।

राष्ट्रपति उम्मेदवारका लागि कानुनी व्यवस्था के छ ?

नेपालको संविधानको धारा ६३ को उपधारा (१) मा राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुनेछ । धारा ६३ को उपधारा (२) मा “उपधारा (१) बमोजिमको पदावधि समाप्त भएको राष्ट्रपतिले अर्को निर्वाचित राष्ट्रपतिले पदभार नसम्हालेसम्म संविधान बमोजिमको कार्य सम्पादन गर्ने”, व्यवस्था उल्लेख छ ।

संविधानको धारा ६४ को उपधारा (१) मा राष्ट्रपतिको योग्यता सन्दर्भमा सङ्घीय संसद्को सदस्य हुन योग्य भएको, कम्तीमा ४५ वर्ष उमेर पूरा भएको र कुनै कानुनले अयोग्य भएको व्यक्ति राष्ट्रपतिको उम्मेदवार हुन पाउने उल्लेख छ ।

संविधानको धारा ६४ को उपधारा (२) बमोजिम उपधारा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार हुन सक्ने छैन भन्ने व्यवस्था पनि छ ।

हाल राष्ट्रपतिको जिम्मेदारीमा रहनुभएका विद्यादेवी भण्डारी दुई पटक राष्ट्रपति पदमा निर्वाचित भइसक्नुभएको छ । अहिले देशका प्रमुख दलहरूमा यस विषयमा पनि विभिन्न कोणबाट छलफल चलेको छ ।

संविधानको धारा ६५ मा निजले उपराष्ट्रपतिसमक्ष राजीनामा दिएमा राष्ट्रपतिको पद रिक्त हुने व्यवस्था उल्लेख छ ।

ऐनमा के छ व्यवस्था :

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा ४ मा राष्ट्रपतिको निर्वाचन मिति तोक्ने सम्बन्धी ऐनको व्यवस्था छ । कारणले सो पद रिक्त हुन आएमा त्यस्तो पद रिक्त भएको मितिले एक महिनाभित्र निर्वाचन हुने गरी निर्वाचनको मिति तोकी सोको जानकारी नेपाल सरकारलाई दिनुपर्ने प्रावधान रहेको छ ।

हालका राष्ट्रपति विद्यादेवी भण्डारी २०७४ साल फागुन २९ गते राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । ऐनका बमोजिम सो मितिभन्दा एक महिना अघि राष्ट्रपतिको निर्वाचन गराउनुपर्नेछ ।

प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँ नेतृत्वको दल माओवादी केन्द्रले भने राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्नेमा जोड दिँदै आएको छ । यसै सन्दर्भमा आइतबार अपराह्न ४ः३० मा बस्ने माओवादी केन्द्रको पदाधिकारी बैठकमा पनि थप छलफल हुँदैछ । त्यसो त, संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेससहित नेकपा (एमाले) लगायत सबैजसो राष्ट्रिय दलहरूमा राष्ट्रपति निर्वाचनको विषयमा आन्तरिक छलफल झनै तीव्र बनेको छ ।

मतभार :

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐनको दफा ५४ मा राष्ट्रपति तथा उपराष्ट्रपतिको मतभार शीर्षकमा निर्वाचन मण्डलमा रहने सदस्यको मतभार अनुसूची बमोजिम हुने व्यवस्था छ ।

सो अनुसूचीमा सङ्घीय संसद्का सदस्यका मतभार सन्दर्भमा पछिल्लो राष्ट्रिय जनगणना अनुरूपको कुल जनसङ्ख्यालाई सङ्घीय संसद्का सदस्यको कुल सङ्ख्याले भाग गर्नुपर्नेछ । २०६८ अनुसार सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको थियो ।

यसैगरी, प्रदेशसभा सदस्यको मतभार सन्दर्भमा कुल जनसङ्ख्यालाई प्रदेश सभा सदस्यको कुल सङ्ख्याले गर्दा आएको भागफल रहनेछ ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter