जी–२० सम्मेलन नेपालका लागि महत्त्वपूर्ण उपलब्धि : अर्थमन्त्री डा. महत
काठमाडौं, साउन ३ गते। अर्थमन्त्री डा. प्रकाशशरण महतले भारतको गुजरातमा सम्पन्न जी–२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्त्वपूर्ण उपलब्धि रहेको बताउनुभयो।
सम्मेलनमा सहभागी भएर बुधबार फर्किनेक्रममा मन्त्री डा. महतले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भन्नुभयो, ‘‘जी–२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्त्वपूर्ण र उपलब्धिमूलक रह्यो।’
सम्मेलनमा तीन वटा महत्त्वपूर्ण विषयमा छलफल भएको मन्त्री महतले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘‘जुन नेपालको आर्थिक विकासका लागि उपलब्धि हुन्। पहिलो, जी–२० सम्मेलनमा सहभागी भएर नेपालले आफ्नो कुरा राख्ने अवसर पायो। दोस्रो, भारत र चिनियाँ अर्थमन्त्रीसँग महत्त्वपूर्ण भेटघाट र छलफल भयो। दुई पक्षीय भेटघाटमा लगानी र व्यापारका विषयमा छलफल भयो। तेस्रो गुजरातमा रहेका उद्योग व्यवसायीसँग भेटघाट र छलफललाई उपलब्धि र महत्त्वका रूपमा लिनुपर्छ।’’
‘‘जी–२० बैठकमा विकसित र अल्पविकसित राष्ट्रको समूह हो’’, मन्त्री डा. महतले भन्नुभयो, ‘‘नेपाल जी–२० को सदस्य होइन, तर आमन्त्रण गरेको हुनाले कम विकसित देशको समस्या जी–२० को फोरममा राख्ने महत्त्वपूर्ण अवसर प्राप्त भयो। यस विषयमा सोमबार र मंगलबार लगातार ५–६ वटा विषयमा छलफल भयो।’’
जलवायु परिवर्तन डिजिटलाइजेशनको चुनौतीलगायत आर्थिक गतिविधिमा छलफल भएको उहाँको भनाइ छ। ‘‘कम विकसित मुलुकले भोग्नु परेको समस्या, जलवायु परिवर्तनको समस्या, डिजिटलाइजेशनले निम्त्याएको चुनौती देशको सीमाभित्रै सम्हाल्न सक्ने अवस्था कमजोर भइरहेको छ’’, मन्त्री डा. महतले भन्नुभयो, ‘‘डिजिटल ट्रान्जेक्सनमार्फत् जुन आर्थिक गतिविधि हुन्छ, त्यो अरू ठाउँबाट पनि सञ्चालन हुन्छ। त्यो अवस्थामा हामीले कसरी क्षमता वृद्धिका लागि अन्तर्राष्ट्रिय समूहले कसरी सहयोग गर्न सक्छ भन्ने विषयमा पनि छलफल भयो।’’
जलवायु परिवर्तन जसको कारणबाट हामीले क्षति व्यहोरिरहेका छौँ, यसमा विकसित देशले कसरी सहयोग गर्नुपर्छ भन्ने विषयमा पनि छलफल भएको मन्त्री डा. महतले बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘हाम्रो दिगो विकासमा अन्तर्राष्ट्रिय सहयोगको दायरा कसरी बढाउने, मूल्य वृद्धि र विकासका अनेकन् समस्याबाट जनमानसमा परेको असरलाई कसरी कम गर्ने विषय नेपालले जी–२० को फोरममा राख्यो।’’
जी-२० का देशहरूले संसारभर नै आर्थिक वृद्धिदर कम भइरहेको छ। यसलाई कसरी विस्तार गर्नेलगायतका विषयमा छलफल भएको मन्त्री डा. महतले बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘यस सिलसिलामा विश्व बैङ्क, एसियाली विकास बैङ्कलगायत विभिन्न बहुपक्षीय संस्थाको पनि त्यहाँ सहभागिता थियो। त्यहाँ पनि हामीले अनौपचारिक रूपमा आफ्ना कुरा राख्यौँ। भारत र चीनका अर्थमन्त्रीसँग बेग्लाबेग्लै भेटघाट गरेर छलफल गरियो।’’
गुजरात चेम्बर अफ कमर्स इन्ड्रस्टिजको कार्यालयमा अन्तर्क्रिया भएको मन्त्री डा. महतले जानकारी दिनुभयो। नेपालमा लगानीको सम्भावनाबारे त्यहाँ नेपालले प्रस्तुति दिएको थियो। गुजरातमा पनि नेपाली समुदायको सङ्ख्या ठुलो भएको र उनीहरूसँग अन्तर्क्रिया गरेको मन्त्री डा. महतले बताउनुभयो।