सौन्दर्यीकरणका लागि वृक्षरोपण
जानु पाण्डे / कपिलवस्तु, साउन १० गते । कपिलवस्तुको विजयनगर गाउँपालिकाले मुख्य सडकको दुवै किनारमा वृक्षरोपण गरेको छ । ‘हरित सडक’ बनाउने अभियान अन्तर्गत आरटीओ सडकमा बिरुवा लगाइएको छ ।
तीन किलोमिटर क्षेत्रमा १५ मिटरको दूरीमा वृक्षरोपण गरिएको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले बताउनुभयो । करिब ५ हजार बिरुवा सडकको छेउमा रोपिएको छ । नीम, कल्कीफूल, एकासिया, इपिलिपीलगायतका जातको बिरुवा रोपिएको वडा –६ का अध्यक्ष प्रेमबहादुर कल्वारले बताउनुभयो ।
बिरुवा संरक्षणका लागि बाँसबाट निर्माण गरिएको डोलको प्रयोग गरिएको छ । पालिकाले हरित प्रवर्धन कार्यक्रम अन्तर्गत खाली क्षेत्र, सडक किनारा, पोखरीको डिल, तालतलैया, पानीका मुहानलगायतका सार्वजनिक क्षेत्रमा वृक्षरोपण गर्दैआएको छ ।
गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष प्रवेज आलम खाँले पालिकाको सौन्दर्यीकरणसँगै ग्रामीण क्षेत्रमा जीविकोपार्जन सुधारका लागि वृक्षरोपण महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले सहरी क्षेत्रमा पनि सहरी वन अर्थात् अर्बान फरेष्ट्रीले महत्त्व पाइरहेको बताउनुभयो ।
हरित सडक बनाउने कार्यक्रम अन्तर्गत पालिकाभित्र निर्माण भएको सबै सडक किनारमा वृक्षरोपण गरिने बताइएको छ ।