प्रधानमन्त्रीद्वारा हेलो सरकारमा आएको गुनासो सम्बोधन
काठमाडौं, भदौं १८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोलखाको बिगु गाउँपालिका–४ सिंगटीमा मानव बस्तीभन्दा माथि रहेको ढुङ्गाको जोखिम हटाउन निर्देशन दिनुभएको छ ।
हेलो सरकारमार्फत जनगुनासो सुन्नुहुँदै प्रधानमन्त्री प्रचण्डले रक्षा सचिव किरणराज पौडेललाई उक्त निर्देशन दिनुभएको हो । दोलखामा उक्त ढुङ्गाका कारण ३२ घरधुरी जोखिममा परेको जनगुनासो आएको थियो ।
प्रधानमन्त्रीको निर्देशनपछि आइतबार बेलुका नै नेपाली सेनाको टोली सिंगटीमा पुगेर सोमबार बिहानैदेखि कार्यप्रारम्भ गरेको रक्षासचिव पौडेलले जानकारी दिनुभयो ।
पौडेलका अनुसार बस्तीमाथि रहेको ढुङ्गो विस्फोट गरी हटाउने कार्य सुरु गरिएको र उक्त कार्यक्रम सम्पन्न गर्न एक हप्ता जति समय लाग्नेछ । पौडेलले भन्नुभयो, ‘‘प्रधानमन्त्रीको निर्देशनलगत्तै नेपाली सेनाको टोली सम्बन्धित स्थानमा पुगेर काम सुरु गरिसकेको छ । ढुङ्गो निकै ठुलो छ, एकैपटक विस्फोट गर्दा ढुङ्गाले बस्तीमा असर पर्न सक्छ । त्यसैले बस्तीलाई असर नपर्नेगरी ढुङ्गो हटाउने कार्य भइरहेको छ ।’’
आइतबार हेलो सरकारको २४ सै घण्टा सेवा शुभारम्भ गर्ने कार्यक्रममा दोलखाका सेवाग्राहीले बस्तीमाथि पहिरो आई ठुलो ढुङ्गो अड्किएर बसेको र सो ढुङ्गाको कारण ३२ घरधुरी विस्थापित हुनुका साथै सरकारी संरचनाहरूसमेत जोखिममा रहेको गुनासो टिपाउनुभएको थियो ।