पार्टीभित्र विद्रोह गर्दै कोशीको छैटौँ मुख्यमन्त्री बनेका केदार कार्की; गठबन्धनले कोशीका मुख्यमन्त्रीलाई विश्वासको मत दिन्छ : प्रधानमन्त्री

विराटनगर, असोज २७ गते ।मोरङ बुढीगंगाका ५० वर्षे केदार कार्की कोशी प्रदेशको व्यक्तिका रुपमा छैटौँ मुख्यमन्त्री बनेका छन् भने समग्रमा आठौँ मुख्यमन्त्री हुन् । यसअघि कोशी प्रदेशमा शेरधन राई, भीम आचार्य, राजेन्द्र राई, हिक्मतकुमार कार्की र उद्धव थापा मुख्यमन्त्री बनिसकेका छन् ।

मोरङको क्षेत्र नम्बर ६ (२) बाट माओवादीसँगको गठबन्धन गरेर निर्वाचित कांग्रेस सांसद कार्कीको प्रदेश सांसदको रूपमा यो दोस्रो यात्रा हो । २०७४ सालको निर्वाचनमा पनि कार्की सोही निर्वाचन क्षेत्रबाट वाम गठबन्धनलाई पराजित गर्दै विजयी बनेका थिए । अघिल्लो कार्यकालमा नेकपा विभाजनपछि बनेको गठबन्धनबाट उनी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका थिए । मन्त्री बन्नुअगाडि उनी कांग्रेसका कोशी प्रदेशसभाका प्रमुख सचेतक थिए ।

हक्की र निडर स्वभावका कार्की प्रदेशसभामा प्रतिपक्षीय भूमिकामा रहँदा चर्को स्वरले सत्तापक्षमाथि आलोचना गर्दथे । जनताको आवाजलाई मुखरित गर्ने कोसिस गरिरहने कार्की अहिले मुख्यमन्त्रीको भूमिकामा पुगेका छन् । उनको शपथग्रहण आइतबारका लागि राखिएको छ ।

गठबन्धनले कोशीका मुख्यमन्त्रीलाई विश्वासको मत दिन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई गठबन्धनले विश्वासको मत दिने बताएका छन् । भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले कोशीका मुख्यमन्त्री गठबन्धनका पनि मुख्यमन्त्री भएको बताए ।

प्रधानमन्त्रीले भने, “कोशीको समस्या समाधान गरिएको छ । अन्ततः यसले गठबन्धनलाई बलियो बनाउनेछ,” आज बिहान नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, सोही पार्टीका अर्का नेता डा शेखर कोइराला र आफूबीच सहमति भएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले भने, “हामी गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिने छैनौं । अब कार्कीजी मुख्यमन्त्री हुनुभएको छ । उहाँ हामी सबैको साझा मुख्यमन्त्री हो ।” हाम्रो गठबन्धन कायम रहने भन्दै उनले गठबन्धनकै उम्मेदवारका रुपमा नेता कार्कीलाई लिइएको दोहोर्याए ।

अर्को एक प्रश्नमा प्रधानमन्त्रीले कोशी प्रदेशमा सर्वपक्षीय सरकार बन्ने सम्भावना तत्काल नरहेको बताए । उनले भने, “सम्भावना हुन सक्छ । तर अहिले नै हुन्छ भन्न सकिँदैन । गठबन्धनकै सरकारले त्यहाँ निरन्तरता पाउनेछ ।” अर्थतन्त्रमा समस्या परेको स्वीकार गर्दै प्रधानमन्त्रीले यसलाई समाधान गर्न सरकार लागिपरेको बताए । उनले भने, “अहिले अर्थतन्त्रमा धेरै दबाब परेको छ । यसका धेरै कारण छन् । विगतदेखिका समस्या छन् ।”

प्रधानमन्त्रीले आफ्नो नेतृत्वमा सरकार गठन भएसँगै अर्थतन्त्रलाई बिग्रन नदिन हरसम्भव प्रयास गरिरहेको बताए । उनले भने, “यी प्रयास पर्याप्त छैनन् । देशको अर्थतन्त्रलाई उकास्न विशेष प्रयास जरुरी छ ।” एक पृथक प्रसङ्गमा प्रधानमन्त्रीले निर्माण व्यवसायीले सम्पन्न गरेका परियोजनाको भुक्तानी दिने निर्णय सरकारले गरिसकेको बताए । निर्माण व्यवसायीलाई गरिएको भुक्तानीले मात्र समस्याको समाधान नहुने भन्दै उनले समग्रमा ‘मेजर अप्रेसन’ गर्न छुट्टै संरचना खडा गर्नुपर्ने विचार व्यक्त गरे ।

उनले भने, “बजेट वक्तव्य र नीति तथा कार्यक्रममा छलफल भइरहँदा देशको आर्थिक विकासको प्रारुपलाई नै नयाँ ढङ्गले विकास गर्न जरुरी छ । यो वर्ष हामीले भ्याएनौँ । अर्को वर्ष बजेट बनाउने क्रममा नयाँ शिराबाट जान्छौँ ।” रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter